‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक । पुडासैनीकाे ‘बत्तीमुनि उज्यालो’देखि सापकोटाकाे ‘चिसो बाफ’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

० ० ०

१. मलामी पहाड र सारङ्गी — रमेश श्रेष्ठ 

कुशल चित्रकार तथा कवि रमेश श्रेष्ठकृत कविता सङ्ग्रह हो — “मलामी  पहाड र सारङ्गी” । यसमा पर्या-कविताको एक उदाहरणको रूपमा जीवनको  गीत बनेको ‘मलामी पहाड’ र विम्ब र प्रतीकहरूका माध्यमबाट जीवनको विविध पक्षको चित्रण गरिएको ‘सारङ्गी’ दुई वटा लामा कविता समावेश छन् ।

भूमिकामा डा. राजेन्द्र भण्डारी लेख्छन्, “दुवैका स्वाद केही फरक छन् । पहिलो केही खस्रो, केही सापट । दोस्रो निकै मुलायम, निकै कलात्मक । अहिलेका नेपाली कविता प्रवाहमा केही छुट्टै बान्की र धार बोकेर आएका यी कविता निश्चयै सम्प्रेषणशील र मुखर छन् । यिनलाई केही बेग्लै थोक भन्नु छ । अनि अलग तरिकाले भन्नु छ । यी शृङ्खला कविता हुन् र यिनलाई लामा कविता नै भन्न मिल्छ तर कोश-काव्य पनि भनूँ भनूँ चाहिँ लाग्छ नै ।”

भूमिकामा गोविन्दराज विनोदी लेख्छन्, “विम्बकवि रमेश श्रेष्ठको अभिव्यक्तिकला विचित्रको छ । उनको आफ्नै पृथक् काव्यशैली छ । सरल सङ्क्षिप्त अभिव्यञ्जना पुञ्जमा उनले जीवनका विविध अनुद्घाटित पक्षहरू प्रस्तुत गरेका हुन्छन् । अर्थगत वैचित्र्य र भावगत गहिराइ उनका कविताका विशेषता हुन् । उनका कविता पढ्दा कुनै भावचित्र अतियथार्थवादी र कतै अमूर्तचित्र (ब्दकतचबअत ब्चत) हेरिरहेझैँ लाग्छ हामीलाई । ती कवितात्मक पुञ्जभित्र जतिपटक हेर्यो उति नयाँ अर्थ प्रकट भएझैँ लाग्छ । यसरी काव्य र चित्रकलामा उनको दोभानरूपी प्रखर नृत्य हेर्दा हामी कहाँ पनि अर्का खलिल जिब्रानको  जन्म भएको अनुभूति हुने गर्छ ।”

साहित्यपोस्टबाट प्रकाशित १ सय ३१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

===

२. चिसो बाफ — गोपी सापकोटा 

“चिसो बाफ” नाटककार, कवि गोपी सापकोटाको दोस्रो उपन्यास हो । २ सय २८ पृष्ठमा रहेको यस उपन्यासलाई ‘ढोकाको कान’, ‘नाइँ म त सुत्दिनँ’, ‘सम्भावनाका ढोकाहरू’, ‘सिसिफसको ढुङ्गा’, ‘टेबुलमाथि’लगायत ३२ थान शीर्षकबाट बुनिएको छ ।

पुस्तकको पछिल्लो कभर पृष्ठमा लेखिएको छ, “शारीरिक अवस्था बिग्रँदै गएकी युवती र मानसिक अवस्था बिग्रँदै गएको युवकबिचको प्रेम र सम्बन्धको कथा हो, ‘चिसो बाफ’ । मानिसको मस्तिष्कको धागो कतै गुजमुजिएपछि अलमलिने जीवनको लय र त्यही धागो कतै चुँडिएपछि भत्कने जीवनको समन्वय ‘चिसो बाफ’का विषय हुन् । कथानकमा कल्पनाशीलता र संरचनामा नवीन प्रयोग ‘चिसो बाफ’का विशेषता हुन् ।”

“संसारमा धरै कुरा मिलेका हुँदैनन् । जीवन भोग्दा त्यस्तै हुन्छ, अनि उपन्यासमा पनि । कुन घटना किन घट्यो, थाहा हुन्न । कुन रोग किन लाग्यो, थाहा हुन्न । कहिले र कसरी निको हुन्छ, थाहा हुन्न । मात्र रोग लाग्छ, दुःख दिइरहन्छ । कहिलेकाहीँ जीवनको अर्थ र रोगको उपचार उस्तै लाग्छ । अर्थ खोज्दाखोज्दै जीवन भागिसकिन्छ, उपचार खोज्दाखोज्दै रोगले गालिसक्छ ।” लेखक लेख्छन्, “उपन्यासमा मुना शारीरिक रूपमा बिरामी छे । उसलाई अज्ञात रोगले सताएको छ । अमित मानसिक रूपमा बिरामी छ । ऊ उपन्यासको ‘न्यारेटर’ हो । ‘न्यारेटर’ नै मानसिक रूपमा अस्वस्थ्य भएकाले उपन्यासका कुनै कुरा ‘जस्टिफाइड’ लाग्दैनन् । ऊ पूरै अस्वस्थ पनि होइन, त्यसैले उसका कुनै कुनै कुरा फेरि ‘जेस्टिफाइड’ लाग्छन् ।”

पुस्तकलाई कलम प्रकाशनले बजारमा ल्याएको हो ।

===

३. सकिन्छ गर्न, यही मुलुकमा गर्नुपर्छ — दीपक भट्टराई 

“सकिन्छ गर्न, यही मुलुकमा गर्नुपर्छ” डा. दीपक भट्टराईको आत्मकथा हो । यसमा ‘विद्वतपरम्परा’, ‘शिक्षादीक्षा’, ‘शिक्षण संस्था खोल्ने सोच’, ‘सन्तुष्टिको पाटो’लगायत १२ वटा शीर्षक समावेश छन् । २ सय ७१ पृष्ठमा बुनिएको यस संस्मरणात्मक कृतिमा लेखकको जन्म, बाल्यकाल, अध्ययन, इन्जिनियरिङ पेसामा भोगेका अनेकौँ तितामिठा अनुभूतिहरू, क्यान्सर जस्तो प्राणघातक रोगसँग जुध्दै गरेका जीवन-मृत्युका बहुमूल्य क्षणहरूको उल्लेख गरिएको पाइन्छ ।

“आफ्ना अनुभवलाई सार्वजनकीकरण गर्नु आफैँमा ठुलो चुनौती हो भन्ने मलाई लाग्छ । त्यसपछि ती अनुभवहरूलाई अध्ययनका लागि उपयोगी हुने गरी जिम्मेवारीपूर्वक प्रस्तुत गर्नु अर्को कठिन कार्य हो ।” भूमिकामा प्रा.डा. राजेन्द्रप्रसाद अधिकारी लेख्छन्, “यस पुस्तकमा इन्जिनियरिङ शिक्षा र आयोजना/निर्माण व्यवस्थापनको क्षेत्रसँग सम्बन्धित आशा र राम्रो गर्न सकिने सम्भावनाहरूलाई लेखकले आफ्नो अनुभवको माध्यमबाट राम्रोसँग प्रस्तुत गर्नुभएकाे छ र ‘सकिन्छ गर्न’ भन्ने सन्देश दिन खोज्नुभएको छ । कतिपय विसङ्गति र यस क्षेत्रमा देखिएका र रहेका नराम्रा पक्षलाई पनि लेखकले आफ्नो अनुभवको माध्यमबाट स्पष्ट राखिदिनुभएको छ । यद्यपि, केही विवरण र सन्दर्भ लेखकका आफ्ना निजी टिपोट र आफ्नै वैयक्तिक कुराजस्ता पनि लाग्छन् । तर पनि, पढ्दा कौतूहल जगाउन यो पुस्तक सफल छ र कथा नै पढेजस्तो भान हुन्छ ।”

“यो अनन्तकालको समूह नै कालपुरुष हो । यो सम्पूर्ण विश्व कालबाट नै उत्पन्न र कालमा नै विलीन हुन्छ । त्यस्तो कालको गर्भमा उत्पन्न हुने मानव जाबाको जीवनीको केको महत्त्व ? यस्तो क्षुद्र मानवजीवन पाएको व्यक्तिले केको आत्मकथा लेख्नु, अनन्तकालको गर्भमा मानव जन्म कति बेरको छ र ? वर्षाको पानीको फोकाजस्तो, निस्क्यो कि फुट्यो । (प्रा. गोविन्दप्रसाद भट्टराईको आत्मवृत्तान्तबाट)” प्राक्कथनमा लेखिएको छ, “त्यस्तै लाग्छ । यो ब्रह्माण्ड (Space) र काल  (Time) का बारेमा जति खोज गर्दै गयो त्यति नै गहन, गहिरो हुँदै जाने रहेछ । त्यस्तै भन्दछन् वैज्ञानिकहरू । यो ब्रह्माण्डजगतको तुलनामा हाम्रो सौर्यमण्डल नै कहाँ हराउँछ कहाँ । पृथ्वीको त कुरै नगरौँ, खोज्नै कति कठिन होला । त्यो पृथ्वीको एउटा कुनामा ‘नेपाल’ भन्ने देशमा जन्मिएको मजस्तो सामान्य व्यक्तिले आत्मवृत्तान्त वा आफ्नो अनुभवलाई लेखाङ्कन गरे पनि के नगरे पनि के जस्तो लागिरहन्थ्यो । लेख्ने विचार कहिल्यै आएन । ‘जे भोगियो सो सकियो’ भन्ने सम्झन्थेँ । तर होइन रहेछ ।”

उत्कृष्ट प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको यस पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।

===

४. बत्तीमुनि उज्यालो — अश्विनकुमार पुडासैनी 

लेखक अश्विनकुमार पुडासैनीको प्रेरणामूलक पुस्तक हो — “बत्तीमुनि उज्यालो ।” यसमा ‘समाज र संस्कृति’ खण्डमा ‘प्रकाशकको खोजी’, ‘धर्तीकी अप्सरा’लगायत २० थान लेख, ‘अर्थ र व्यवस्थापन’ खण्डमा‘पैसाको व्यापार’, ‘सफलता कथा’, ‘पर्यटन विकास’लगायत १९ थान लेख, ‘राजनीति र कूटनीति’खण्डमा ‘नयाँ युग’, ‘आफै शासक’, ‘उज्यालो भविष्य’ २३ थान लेख समावेश छन् ।

आभारमा लेखन लेख्छन्, “विज्ञान-प्रविधिको विकास, आविष्कार र समयको परिवर्तन सँगसँगै उक्तिहरू पनि परिवर्तन हुन्छन् । डिबिया वा पानसमा बत्ती बाल्ने समयमा चलेका उक्तिहरू बिजुली बत्तीको आविष्कार सँगसँगै परिवर्तन भएका हुन् । त्यही परिवर्तनको परिभाषा हो बत्तीमुनि उज्यालो ।”

भूमिकामा कृष्णमुरारी भण्डारी लेख्छन्, “यो त्यतिखेर लेखिएका रचनहरूको सँगालो हो, जो लेखिने क्रममा घटनाहरू घटिरहेका थिए, ती ती विषयमा धमाधम देशव्यापी बहस, विमर्श र निर्णयहरू भैरहेका थिए । पस्तकका परिच्छेदहरू जीवन्त, सूचनामूलक, विचारोत्तेजक, विश्लेषणात्मक र दिशानिर्देश गर्ने खालका छन् । पुस्तकको शीर्षकै पिच्छे भैरवी, द्रुपद राग झैँ भरिएको गाग्रोको पानी खन्याउँदा जुन आवाजका साथ पानी निक्लन थाल्छ, लेखक त्यसै गरी मडारिएर अनुच्छेदहरूमा फाल हानेका छन् ।”

भूमिकामा श्यामल अधिकारी लेख्छन्, “पुस्तक आद्योपान्त पढेपछि लाग्छ, लेखक घोर निराशा फैलाइएको यस खास कालखण्डमा आशाको दियो देखाउन खोजिरहेका छन् । उनले स्वेट मार्डनले बताएका सफलताका सूत्रहरू, स्टिभन कोवेको ‘अति प्रभावशाली मानिसहरूका सात आनीबानी’, शिक्षासम्बन्धी डा. रामकण्ठ माकजुको मोडल आदिका माध्यमबाट पाठकहरूसँग सकारात्मक सोच र रूपान्तरणको मार्ग पहिल्याउन संवाद गरेका छन् ।”

पुस्तकलाई दिव्य देउराली प्रकाशन प्रा.लि. ले बजारमा ल्याएका हो । ३ सय ४४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय २५ रुपियाँ रहेको छ ।

===

५. अर्को साँझ पर्खेर साँझमा — रमेश क्षितिज

“अर्को साँझ पर्खेर साँझमा” कवि रमेश क्षितिजकृत कविता सङ्ग्रह हो । १ सय ४ पृष्ठमा बुनिएको पुस्तकमा ‘शिविरबाट फर्केपछि’, ‘मनभित्रको मानिस’, ‘अतीतका गीतहरू’, ‘अक्षरहरू’, ‘सिमानापारिबाट’, ‘सिल्भियासँग एक साँझ’लगायत ४० थान कविता सङ्ग्रहित छन् ।

“समग्रमा, अनुभूतिशील र संवेदनाजन्य छन्, रमेश क्षितिजका कविताहरू । ओझेल परेर रहेका वा दृष्टि नपुगेका एक वा अर्को प्रकारको खील वा टिस, एक वा अर्को प्रकारको दुखाइ र भत्काइ वा चर्काइको घोच्ने, बिझ्ने तर छोइने काव्य दंश भेटिन्छन्, उनका कविताहरूमा ।” पहिलो संस्करणको भूमिकामा तुलसी दिवस लेख्छन्, “जीवनका अँध्यारा र ओसिला तर अदृश्य भएर रहेका पक्ष र पाटाहरू बढी मात्रामा उद्घाटित गरिएको छ यहाँ । नवीन, मौलिक र जुठो नपारिएका निजी विम्बहरूको निर्माण र प्रयोग गर्दछन् उनी । विम्बहरू कहिले धेरै रङ्गहरूको सङ्ग्रह वा मालाजस्तो भएर आउँछन् भने कहिले सम्पूर्ण कविताका लागि एउटै समूल विम्ब प्रस्तुत हुन्छ ।”

पहिलो पृष्ठमा मनु मन्जिल लेख्छन्, “कवि रमेश क्षितिज यो देशको कविताको भाषा फर्काएर ल्याउने कवि हुन् । सङ्गीतले जोडिएको उनको चित्रात्मक भाषा जेन कविहरूको एकदम नजिक छ र नै चम्किला छन् उनका कविता – पेन्टिङमा गहिरो अध्यात्मको आभा देखिए जसरी । प्रेम, अध्यात्म र नोस्टाल्जियाका निम्ति उनको भाषा विशेष किसिमले बनेको लाग्दछ ।”

पुस्तक तेस्रो संस्करणको रूपमा बुक हिलबाट पुनर्मुद्रण भएको हो ।