१९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा भने सन् २००२ देखि नियमित रूपमा कविता दिवस मनाउन थालिएको छ ।

यही विश्व कविता दिवसको अवसर पारेर नेपालभर विभिन्न साहित्यिक संस्थाहरूले प्रभातफेरि तथा कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।

काठमाडौँमा यही अवसर छोपेर अम्बर पब्लिकेसनले थाहा पुस्तकालयमा विभिन्न कविहरूले कविता वाचन गरेर दिवस मनाए ।

थाहा पुस्तकालयमा उपस्थित भएका करिब बीस जना कविहरूमध्ये सबैले दुई दुई र केही कविहरूले तीन कविता सुनाएका थिए । कविहरूले नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए ।

कवि सुवास सिंह पराजुलीको संयोजनमा सम्पन्न गरिएको कविता वाचन कार्यक्रममा कवि भीष्म उप्रेती, रन्जना निरौला, सुमन वर्षा, प्रज्ज्वल अधिकारी, नीता पोख्रेल, रुप सिंह भण्डारी, भोजकुमार धमला, पारु तिमल्सिना, नीता श्रेष्ठ, संजय सुमन, विश्वास सिग्देल, प्रतीक्षा पौडेल लगायतका कविहरूले कविता वाचन गरेका थिए । विभिन्न विषयवस्तुका कविताहरू सुनाइरहँदा कार्यक्रम नै कवितामय बनेको थियो। सम्पूर्ण सहभागी कविहरूलाई कवि तथा कार्यक्रमका प्रमुख संयोजक सुवास सिंह पराजुलीले मायाको चिनो स्वरुप एक एक डायरी प्रदान गर्नु भएको थियो।

यसैगरी चितवनमा सम्पूर्ण किताब नारायणगढको सक्रियतामा यो दिवस मनाए । सम्पूर्ण किताबमा उपस्थित भएका करिब ४० जना कविहरूमध्ये अधिकांशले कविता सुनाएका थिए । कविहरूले नेपाली भाषासहित नेवारी, आसामी, संस्कृत र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए ।

चितवनमा भने २०६२ सालदेखि विश्व कविता दिवस मनाउन थालिएको अक्षर समूहका पूर्वअध्यक्ष भूपिनले बताउनुभयो । त्यसपछि अक्षर समूहले नियमितरूपमा हरेक वर्ष मार्च २१ का दिन यो कार्यक्रम गर्दै आइरहेको उहाँले बताउनुभयो ।

चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ भने पाँच हजार ८४ वर्ष अगाडि मुन्धुममा येहाङ्ले ‘येहाङ खाहुन’ उपदेश, कविता वाचन गरेको पाइन्छ ।

अक्षर समूह चितवनसहित नेपाली लेखक संघ चितवन शाखा र भ्यू चितवनको आयोजनामा गरिएको कविता वाचन कार्यक्रममा पदम अर्याल, किसान प्रेमी, शोभना पौड्याल, डाक्टर हेमनाथ घिमिरे, विद्या भण्डारी चिराग, प्रशंसा पराजुली, विश्व सुवेदी, हेमराज खतिवडा, सिर्जन अविरल, दामोदर पौडेल, वैभवी कुँवर, वसन्त पराजुली, होमनाथ घिमिरे, डाक्टर एकनारायण पौड्याल, उपेन्द्र त्रिपाठी, हरि शर्मा, सरला जोशी, सावित्री गौतम, राजन गौतम, रामहरि श्रेष्ठ, उदय अधिकारी, विपिन पाठक, सिम्रन क्षेत्री, डाक्टर केशवराज चालिसे, भूपिन, ईश्वर कँडेल, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलियालगायतले कविता वाचन गर्नुभएको थियो । अक्षर समूहका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा गरिएको कार्यक्रमलाई अक्षर समूह तथा नेपाली लेखक संघ चितवन शाखाका सचिव लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

यसैगरी हेटौंडा-४ भैरवरोडमा खुलेको किताबघरमा साहित्य सर्जक, साहित्यसेवी, साहित्यप्रेमीहरूको उपस्थितिमा विश्व कविता दिवस मनाइयो ।

१० कविहरूले १० कविता वाचन गरी सम्पन्न भएको सो कार्यक्रममा अनिता न्यौपाने, उमेश तिमल्सिना, कृतिका लौडारी, शान्ति प्रिययबन्दना, मसान उपासक, समर्पण न्यौपाने, सानु खनाल, सुवास खनाल, सुविज्ञा सुवेदी र स्वस्तिका दाहालले कविता वाचन गर्नुभयो ।

सबै मानिसले जीवनमा एक पटक कविता लेख्छ तर त्यसलाई निरन्तरता भने कमैले दिने गरेको पाइन्छ भन्दै समीक्षक घनश्याम घिमिरेले साहित्यमा कविता विधाको स्थान, कविता लेखिने विविध कारण तथा कविताका प्राविधिक विषयबारे चर्चा गर्नुभयो । साथै उहाँले कवितामा मूलतः चेतना, चिन्तन र व्यवहार लेखिने हुँदा पढ्नु र पढेका विषयमाथि चिन्तन गर्नु आवश्यक रहेको र लेखिने कवितामा चेतनाको झिल्कोले नै कवितालाई उज्यालो बनाउने बताउनुभयो ।

किताबघर यही फागुन २९ देखि शुभारम्भ गरिएको हो । आजकाल किताबघरमा किताबकै चर्चा चलिरहेको सुन्न पाइन्छ ।
पुस्तक पठनको संस्कारमा जोड दिने किताबघरमा पठन संस्कृतिको विकासको हेतुले स्कूल कलेज बाहेकका राजनीतिक, आर्थिक, धार्मिक, साहित्यिक जस्ता पुस्तकहरूलाई प्राथमिकता दिइएको किताबघरका छवि अनित्यले बताउनु भयो ।

कार्यक्रम सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सहजीकरण गर्नु भएको हो ।