भरतपुर । सम्पूर्ण किताब नारायणगढ र एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनकाे संयुक्त आयाेजनामा प्रसिद्ध लेखक गाेपी सापकाेटासँग बिहीबार ‘परदेश संवाद’ गरिएको छ । लण्डन बसाइका भाेगाइ समेटिएको सिर्जनात्मक गैरआख्यान ‘लण्डन अनप्लग्ड’का लेखक सापकोटासँग सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकाेटाले राेचक संवाद गर्नुभएको हो ।
संवाद कार्यक्रममा सापकोटाले लेखकसँग वैदेशिक मोह, विदेशको बसाइ, कामको अवस्था बारेमा कुराकानी गर्नुभएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले विदेशको उच्च शिक्षा अध्ययन र त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको अवस्थाका बारेमा लेखकलाई जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा कवि ईश्वर कँडेलले हचुवाका भरमा विदेश जाँदा समस्या आइपर्ने भन्दै केही काम सिकेर मात्रै विदेश जाँदा राम्रो हुने बताउनुभयो । पत्रकार सूर्यप्रकाश कँडेल, सामाजिक अभियन्ता प्रकाश पौडेल र एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजका बिजनेस डेभलपमेन्ट मेनेजर विनोदबाबु रिजालले लेखक सापकोटालाई विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
एक्सपर्ट शैक्षिक परामर्शकाे क्षेत्रमा २१ वर्षदेखि कार्यरत संस्था हाे । विद्यार्थीलाई शैक्षिक परामर्शसँगै विदेश गएपछि ख्याल गर्नुपर्ने विविध कुराहरूकाे जानकारी हाेस् भनेर लेखक सापकाेटालाई विद्यार्थीकाे माझ प्रस्तुत गरिएकाे एक्सपर्टका बिजनेस डेभलपमेन्ट म्यानेजर विनाेदबाबु रिजालले जानकारी दिनुभयो ।
लेखक सापकाेटा १६ वर्षदेखि लन्डन बस्दै आउनुभएको छ । शुरुमा नेपालमा प्रख्यात सामाजिक जीवन छाेडेर जाँदा लन्डनमा धेरै कुरा अप्ठ्यारो भएकाे भन्दै विस्तारै परिस्थिति सजिलाे बन्दै गएकाे उहाँले बताउनुभयो । ‘विदेश जानु भनेकाे थप समृद्धि खाेज्न निस्कनु हाे’, सापकोटाले बताउनुभयो- ‘त्यहाँ आइपर्ने अप्ठ्यारा टार्न सक्ने भएर जानुहाेला ।’
११ पुस्तक लेखेका सापकोटाले वैदेशिक उच्च शिक्षा, विदेशी जीवन, भाेगाइलगायतका अनुभव राेचक ढंगले सुनाउनुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 









