पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाअन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गको विजयचोकबाट २०० मिटर दक्षिणमा छ भीम शर्माको घर । बाटो हिँड्ने नयाँ मान्छेले घरलाई झट्ट हेर्दा अनेकथरी कल्पना गर्न सक्छ, किनकि बाटोतर्फ फर्किएको घरको भित्तामा विभिन्न कलाकृति पोतिएका छन् । घरको भित्तामा यो कला शर्मा आफैंले उतारेका हुन् । उनी त्यही घरमा बसेर लामो समयदेखि चित्र कोर्दै आएका छन् ।
२०३९ सालमा गैंडाकोट आएका शर्माको पहाडघर बाग्लुङ हो । साबिक सर्कुवा गाविस वडा नम्बर -७ (हालको जैमिनी नगरपालिका) का शर्मा गैंडाकोट आउनु अगाडि मुस्ताङमा शिक्षक थिए । शर्माले २०३३ सालबाट पढाउन थालेका थिए । उनी कागबेनीस्थित जनशान्ति निमाविमा प्रधानाध्यापक थिए । शिक्षण सँगसँगै उनले त्यतिबेलादेखि नै चित्र कोर्न थालिसकेका थिए ।
गैंडाकोट आएपछि उनको पहिलो भेट कवि गोविन्दराज विनोदीसँग भयो । कविता कोर्ने विनोदी चित्र पनि कोर्थे । चित्र कोर्ने मान्छेलाई भेटेपछि शर्मा र बोनोदीको सम्बन्ध अलि घनिष्ठ हुन थाल्यो ।
२०४० सालतिरको कुरा हो, गैंडाकोटमा मिनी सर्कस आयो । सर्कसका लागि चित्र बनाउनुपर्ने भयो । सर्कसका मान्छेले चित्र बनाउने मान्छे खोज्दै गर्दा भीम शर्मा र कवि विनोदी भेटिए । दुई जना मिलेर अढाई महिनामा ४ फिट साइजका २५ वटा चित्र बनाए । सर्कसवाला पनि खुसी भए । पारिश्रमिक पनि राम्रो दिए । कवि विनोदीसँगको सम्बन्धले शर्मालाई पुनः फर्केर मुस्ताङ जान मन लागेन । गैंडाकोटमा घरघडेरी लिइसकेका उनले अब गैंडाकोट नै बस्ने निर्णय लिए । त्यसपछि कवि विनोदीसँग मिलेर नारायणगढमा सनसाइन आर्ट्स सञ्चालन गरे । चित्रकला र फोटोग्राफीमा पनि रुचि भएका शर्माले २०४२ सालमा सनसाइन फोटो स्टुडियो पनि सञ्चालनमा ल्याए । केही वर्ष यही पेशालाई निरन्तरता दिए ।
२०४८ सालतिरको कुरा हो । अहिले विजय विकास स्रोत केन्द्रका नामले परिचित विजय युवा क्लबमा उनी सक्रिय रुपमा लाग्ने अवसर पाए । सामाजिक सेवाका क्षेत्रमा काम गर्ने यो संस्थामा उनले लामो समय बिताए । क्लबमै रहँदा २०५६ सालमा उनी कम्युनिटी डेभलपमेन्टको डिप्लोमा कोर्स गर्न क्यानडा गए । त्यतिबेला शर्माले व्यावसायिक रूपमा आर्ट गर्न छाडेका थिए । क्यानडा पुगेपछि युनिभर्सिटीको ग्यालरी देखेर उनी चकित भए । अत्यन्तै भव्य र सभ्य ग्यालरी देखेर उनी प्रभावित पनि भए । ग्यालरीमा चित्रकला प्रदर्शनी हुँदै थियो । उनले ग्यालरीको डाइरेक्टरसँग सुटुक्क आफ्नो कुरा राखे, म पनि केही चित्र बनाउँछु, यहाँ राखिदिन्छौ ?
डाइरेक्टर खुसी भएर हुन्छ भने । त्यसपछि उनले दुइटा चित्र बनाए र डाइरेक्टरलाई बुझाए । डाइरेक्टरले ती चित्र प्रदर्शनीको अग्रभागमा राखिदिए । एउटा चित्रमा नेपाली महिलाले खाना बनाइरहेको थियो भने अर्कोमा पिठ्युँमा बच्चा बोकेर कोदो रोप्दै गरेको थियो । प्रदर्शनीको उद्घाटनका दिन यी चित्रलाई धेरैले चाख मानेर हेर्नुका साथै जिज्ञासा पनि राखेका थिए । ती चित्र तत्कालै सय डलरका दरले बिक्री पनि भए, डाइरेक्टरले उक्त रकम शर्मालाई नै दिए । त्यसपछि डाइरेक्टर र शर्माबीच हिमचिम बढ्यो । कलाका बारेमा उनीहरू नियमित कुराकानी गरिरहन्थे । शर्मा नेपाल फर्कने क्रममा ती डाइरेक्टर उनलाई छोड्न विमानस्थलसम्मै आएका थिए ।
उनी २०६१ सालमा दोस्रोपटक क्यानडा पुगे । क्यानडाकै ती पुराना साथीले प्रदर्शनीका लागि उनलाई निम्ता दिएका हुन् । नमस्ते फ्रम नेपाल’ नाम दिइएको प्रदर्शनीमा शर्माले ३७ वटा चित्र राखेका थिए । माओवादी द्वन्द्वको झल्को दिने अनि सामाजिक, धार्मिक र आध्यात्मिक प्रसङ्गका चित्रहरू प्रदर्शन गरे । प्रदर्शनीमा कुल २४ वटा चित्र राम्रो मूल्यमा बिक्री भए । यसबाट उनी उत्साहित हुँदै अब चित्रकारितालाई नछोड्ने प्रण पनि गरे ।
शर्मा २०६८ सालमा प्रदर्शनीकै लागि भनेर जर्मनी पुगे । त्यहाँका तीन ठूला सहरमा विभिन्न मितिमा उनका चित्र प्रदर्शन भए । च्यारिटी शो भनेर गरिएको प्रदर्शनीमा उनले ११९ वटा चित्रहरू राखे । यो प्रदर्शनीमा उनले चित्रको मूल्य राखेका थिएनन् । शर्मा त्यतिबेला गैंडाकोटमा रहेको सहमति संस्थाका अध्यक्ष थिए । सहमतिकै व्यवस्थापनमा संचालित सहज अस्पतालको सहयोगका लागि भनेर च्यारिटी शो गरेका हुन् । प्रदर्शनीमा राखिएका चित्रलाई ग्राहक आफैंले मूल्यांकन गरेर लैजान पाउँथे । चित्रको मूल्य तोकिएको थिएन तर अस्पतालका लागि आवश्यक पर्ने सामग्री सहयोगस्वरुप बुझाएर चित्र लैजान पाउने व्यवस्था गरिएको थियो । परोपकारी कामको लागि गरिएको प्रदर्शनीमा ११९ वटै चित्र विक्री भए । चित्रबापत राम्रो संख्यामा मेडिकल सामग्री जम्मा भए । शर्माले ४० फुटका दुई कन्टेनर मेडिकल सामग्री नेपाल ल्याएर सहज अस्पतालमा बुझाए ।
शर्माले स्वदेश र विदेशमा गरेर नियमित रूपमा चित्रकला प्रदर्शनी गरिरहेका छन् । अहिलेसम्म भारत, बाङ्लादेश, डेनमार्क, जर्मनी, क्यानडा र अफगानिस्तानमा उनका प्रदर्शनी भैसकेका छन् । अहिलेसम्म १० औं प्रदर्शनी गरेका शर्माले ७ वटा प्रदर्शनी बिदेशी साथीहरूको सहयोगमा भएको बताए । ‘यो समयमा पनि क्यानडामा मेरो प्रदर्शनी तय भएको थियो कोरोना महामारीले गर्दा अहिलेलाई ती सबै कार्यक्रम रोकिन पुगे’, उनले भने। शर्माले यसै वर्ष भारतको प्रतिष्ठित सम्मान ‘कलाश्री सम्मान २०२०’ पनि प्राप्त गरेका छन् ।
शर्माले अहिलेसम्म एक हजारभन्दा बढी चित्र बनाएका छन् । विदेशमा गरिने प्रदर्शनीमा लगभग सबै चित्र बिक्री भएको अनुभव उनीसित छ । नेपालमा गरिएका प्रदर्शनीमा पनि अलिअलि चित्र बिक्ने गरेको उनी बताउँछन् । ‘नेपालमा चित्रकलाको महत्त्व संतोषजनक छैन,’ शर्माले भने, ‘चित्रकलाको महत्त्व बढाउन सरकारी तहबाटै काम हुनु आवश्यक छ । सरकारले अथवा स्थानीय निकायले हरेक घरको भित्तामा एउटा चित्रकला अनिवार्य गराउने हो भने पनि यसको महत्त्व बढ्दै जाने थियो ।’
मायाको चिनो स्वरुप चित्र उपहार दिने कामलाई पनि अगाडि बढाउन सकिने शर्माको धारणा छ । शर्माका चित्रहरू विदेशमा एक सय डलरदेखि ६ हजार पाँच सय डलरमा बिक्री भएका छन् । नेपालमा चित्रमा पैसा खर्च गर्न मान्छे डराउँछन् । एउटा चित्र बनाउन श्रम, समय र पैसाको उत्तिकै प्रयोग भएको हुन्छ, तर त्यो अनुसारको मूल्य चित्रकारले पाउँदैन ।
‘एउटा चित्र ५ हजारमा बेच्न पनि धौ धौ हुन्छ,’ शर्माको दुखेसो छ । शर्माले काठमाडौंमा गरेको एउटा प्रदर्शनीमा ८६ हजार रुपैयाँमा एउटा चित्र बेचेको सुनाए । उनले नेपालमा सबैभन्दा ठूलो रकममा बेचेको चित्र थियो त्यो । पूर्व जर्मन राजदूत माथियस मायरले शर्माको प्रदर्शनी अवलोकनपछि उक्त चित्र खरिद गरेका थिए । मायर आफ्नो कार्यकाल सकेर आफैले गाडी चलाएर नेपालबाट भारतहुँदै जर्मन पुगेका थिए ।
शर्मा यतिबेला घरमै व्यस्त छन् । उनको घरभरी चित्र टाँगिएका छन् । त्यै पनि उनलाई फुर्सद छैन । रातदिन चित्र बनाइरहन्छन् । उनले अब ११ औं, १२ औं र १३ औं प्रदर्शनीको तयारी गरिरहेका छन् । यतिबेला भैसक्ने ती प्रदर्शनीहरू कोरोनाले गर्दा रोकिएका हुन् । उनले अहिले तीन वटा सिरिजमा काम गरिरहेका छन् । ती सिरिजहरू कोभीड १९, कर्म र सम्बन्धन २ हुन् । शर्मा धेरै जसो काठमा चित्र कोर्छन् । कागजमा पनि उनले चित्र उतारेका छन् ।
कुनैकुनै चित्र उनले एक दिनमै तयार गर्छन् भने कुनैलाई महिना दिन पनि लगाउँछन् । लकडाउनले उनलाई चित्र बनाउन सजिलो भएको छ ।
‘यो बेला मज्जाले फुर्सद पाएँ,’ शर्माले भने, ‘लकडाउन अझै थपियो भने मेरो अभियान सजिलोसँग पूरा हुनेछ ।’
उनले लकडाउन सुरु भएपछि चैतदेखि यता ५० बढी चित्र बनाइसकेका छन् ।
‘चित्रका ग्राहक पर्यटक हुन्, तर देशै बन्द हुँदा पर्यटकको चहलपहल छैन । यसको प्रत्यक्ष मारमा हामी छौँ,’ उनले भने, ‘काठमाडौं बाहिर बसेर काम गर्न झनै गार्हो छ ।’
शर्मा कलावती आर्ट काउन्सिलका संस्थापक हुन् । स्थानीय कलाकारहरूको समूह हामी कलाकारका अध्यक्ष रहेका उनी त्रिवेणी साहित्य परिषद्का उपाध्यक्ष हुन् ।





????????????????????????????????????




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 









