काठमाडौं / युवापुस्ताका चर्चित लेखक सुविन भट्टराईले इटहरीका पाँच कलेजमा इजोरिया संवाद गर्ने हुनु भएको छ ।

जुनियर जेसिसको सहयोगमा ‘केआईईसी इजोरिया इटहरी संवाद’ हुने भएको हो ।

लेखक भट्टराईको छैटौं कृति ‘इजोरिया’माथि यसरी कलेज टुर तथा विद्यार्थीहरूमाझ हुने छलफल कार्यक्रम जीवनकै पहिलो अनुभव हुने भट्टराईले बताउनुभएको छ । इटहरीका कलेज-कलेजमा पुग्ने पहिलो कार्यक्रम भएकोले फरक अनुभव हुने उहाँले बताउनुभयो ।

कार्यक्रम आयोजक संस्था इटहरी जुनियर जेसिसकी अध्यक्ष स्मृति न्यौपानेले आइतबार बिहान सुष्मा कलेज र मध्यान्ह कोशी कलेज र दिउँसो विश्व आदर्श कलेजमा कार्यक्रम हुने बताउनुभयो ।

यस्तै सोमबार बिहान कस्तुरी र नमुना कलेजमा छलफल कार्यक्रम आयोजन हुनेछ । दिउँसो केआईसी हलमा हुने बताइएको छ ।

पठन संस्कृति विकास गर्ने आफूहरूको प्रयासस्वरूप यस्तो कार्यक्रम गर्न लागिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

‘विद्यार्थीहरूले लेखकसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन्,’ उहाँले भन्नुभयो, ‘लेखक सुविन भट्टराईसँग संवाद गरी पठनशैली तथा लेखनशैलीलाई अघि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।’