सुबिनका कथाहरू सांस्कृतिक संक्रमण, सम्बन्धगत विखण्डन र प्रवासी जीवनको यथार्थलाई सजिलो भाषामा तर गहिरो भावसहित प्रस्तुत गर्न सफल छन्, जसले पाठकलाई कथा मात्र होइन, त्यसपारिको सत्यतिर पनि हेर्न प्रेरित गर्छन् ।

‍‍‍‍‍‍=====

लेखक सुबिन भट्टराईको चर्चा गर्नु मेरो मूर्खता भन्दा माथि अर्को कुनै प्रयास हुनेछैन । किनकि यो समय स्वयम ९०० किलोमिटर प्रतिघण्टा दौडने रेलजस्तै, जो मेरो दैनिकी दौडिरहेको छ अचेल । त्यस माथि म त एउटा ‘प्रवासी बबुरो’, जो दशकभन्दा बढी समयदेखि देशको माटो टेकेको छैन । लेखकको जीवनी चहारेर के नै बदलिन्छ र ? दैनिकीले रोलरकोस्टर झैँ घुमाइरहेका बेला म कुनै साहित्यिक व्यक्तित्व बनेर कुशल समीक्षक बन्न खोज्नु आफैंमा हास्यास्पद हुन्छ । त्यसैले म यहीबाट, कुनै ‘कुचेस्टा’ नगरी, विषयवस्तुको मूल द्वारतिर सिधै प्रवेश गर्छु ।

सामाजिक सञ्जालको युग—जहाँ प्रेम एक चुट्कीभरको खेल बनेको छ, जहाँ मैले आफ्नै कविताको हरफ सम्झिएँ:

“अल्गोरिदमले निर्धारण गर्छ सम्बन्ध,

मनका स्पन्दनहरू डाटामा रूपान्तरित

एउटा क्लिकले प्रेम जन्मिन्छ

अर्को स्वाइपले बिछोड हुन्छ…”

यही अनुभूति लेखक भट्टराईको पछिल्लो कथासंग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ पुस्तकका कथाहरूमा कुनै न कुनै तरिकाले प्रतिध्वनित हुन्छ । सुबिनका पात्रहरू चलायमान छन्—डिजिटल लहरमा बगिरहेका, तर हरेकले हृदयको कुनै पुरानो छेउ समाइराखेका । प्रेम हुनु, प्रेम टुट्नु, र पुनः प्रेमको छायाले पछ्याउनु—यी सबै घटनाहरू यहाँ केवल कथा होइनन्; ती आधुनिक मान्छेका आन्तरिक कहानी हुन्, दैनिकी हुन् ।

लेखकले ‘एक्स’को बिम्ब प्रयोग गर्दा, त्यो केवल विगतको छाया होइन—त्यो आजको मनोवैज्ञानिक प्रयोगशाला हो । यथार्थ यही हो कि प्रेम अब केवल दुई शरीर बीचको तानातान होइन, समयसँगको, परिस्थितिसँगको, र आफ्नै मानससँगको द्वन्द्व हो ।

समलिङ्गी आकर्षण व्यक्त गर्न नसकेको वातावरणले बनाएको मौनता यहाँ एउटा तीव्र प्रश्न बनेर उठ्छ—समाज किन अझै पनि भावनालाई हृदयको खोलभित्र कैद गर्छ ? त्यही मौनता कथामा न केवल पीडा, तर एक गहिरो सौन्दर्य बनेर आउँछ, कौतुहलता बनेर ।

होस्टेलका युवालाई लागेको झुटा आरोप, जसले एउटा जीवनभर बोक्नुपर्ने घाउ बनाइदिन्छ—यो त हाम्रो समाजकै अन्धो न्यायबोधको दार्शनिक रूप हो । सत्यभन्दा पनि बढी चर्को आवाज नै ‘सत्य’ मान्ने प्रवृत्ति कति सहजसँग भित्रिएको छ भन्ने देखिन्छ । ‘एक पटक चोर, सधैँ चोर’ भन्ने भाष्य समाजले चरितार्थ गरिदिएको छ ।

एमआरकेएच सिन्ड्रोम भएकी पात्र ‘साँझ’—यो केवल एक पात्र मात्र होइन; यो त समाजले नारीभित्र बनाएको ‘सन्तान उत्पादन’ कारागार विरुद्धको विद्रोह हो । पाठेघर नभएर नारी अपूर्ण हुन्छे भन्ने मूढ मान्यतालाई साँझले टुक्रा–टुक्रा पार्छे । उनी बाँच्छे—र बाँचेर देखाउँछे कि अस्तित्व शरीरले होइन, आत्मबलले टिकेको हुन्छ । एक थान पाठेघर कहिल्यै धारण नगरेका पुरुषले त्यही पाठेघरमा ९ महिना हुर्केको बिर्सन्छन्  । त्यही पाठेघरलाई कमजोरी देख्छन् । अनि आफ्नो ओछ्यान सम्मको निमन्त्रणा दिन्छन् । छिमेकीहरूसँग भौतिक रूपमा सबैभन्दा नजिक हुन्छन्—घरको कम्पाउन्ड जोडिएका । तर मनको दूरी ? त्यो कहिलेकाहीँ सगरमाथा जत्तिकै अगम्य हुन्छ ।

चमेलीको फूल बेजैनी रुमाल

ठ्याक्कै त्यस्तै, राम्रो छिमेकीले जीवन सरल र सुरक्षित बनाउँछ । तर… त्यो नै कहिलेकाहीँ विनाशको स्रोत बन्न सक्छ । अचानक आएको खोलाको बाढीजस्तै, एक अविश्वास, एक अफवाह, एक गलत बुझाइ पूरै सम्बन्धको बगाल बगाइदिन्छ । छिमेकीसँगको झगडा समाजमा सबैभन्दा तातो घाउ किन हुन्छ ? किनकि उनीहरू नजिक छन्, मुटु जोड्ने डोरीझैँ । खोला वर्षौँदेखि उही ठाउँमा बगिरहेको देखिन्छ, तर उसका धार, गहिराइ, मोड—सबै निरन्तर बदलिँदै छन् ।

छिमेकी सम्बन्ध पनि यति नै बदलिने हुन्छ—हिजोसम्म सँगै मिलेर  मन्दिरमा फूल चढाउने, आज भने सानो कुरामा काँडाझैँ बिझेर जिन्दगीभर दुखाइरहने । सम्बन्धमा भुइँचालो आएपछि जमीन नै सर्छ । त्यसले सम्बन्धको दिशा, बहाव, गहिराइ बदलिदिन्छ । यही घटनाले छिमेकीहरूलाई ‘उत्तर कोरिया अनि दक्षिण कोरिया’ जस्तो निर्मम बनाइदिन्छ ।

संग्रहका कथाहरूले पश्चिमी संस्कृतिको बहुपक्षीय चित्रणलाई पृष्ठभूमिदेखि उठाएर पात्रहरूको आन्तरिक संसारसँग जोडिने शक्तिशाली उपकरण बनाएको छ । पारिवारिक बिछोड, प्रवासी जीवनको एक्लोपन, र त्यसले जन्माउने सामाजिक समस्या उनको लेखनीमा केवल घटना होइन, मानसिक–सामाजिक संरचनाको गहिरो प्रतिफलका रूपमा देखिन्छन् ।

कथामा पात्रहरू सांस्कृतिक विस्थापन, पहिचान सङ्कट र भावनात्मक रिक्तता जस्ता मुद्दाहरूबाट घेरिएका देखिन्छन् । सुबिनले यी विषयहरूलाई सरल भाषामा प्रस्तुत गरे पनि, सन्देश भने गम्भीर र बहुआयामिक रहेको छ ।

यसरी सुबिनका कथा सांस्कृतिक संक्रमण, सम्बन्धगत विखण्डन र प्रवासी जीवनको यथार्थलाई सजिलो भाषामा तर गहिरो भावसहित प्रस्तुत गर्न सफल छ, जसले पाठकलाई कथा मात्र होइन, त्यसपारिको सत्यतिर पनि हेर्न प्रेरित गर्छ ।

अन्त्यमा, सुबिनले फेरि एक पटक प्रमाणित गर्छन् लेखन मार्फत प्रेम केवल मनको व्यापार होइन, देहको साटासाट पनि होइन । समयको दर्शन हो प्रेम !

समय अनुसार प्रेम परिवर्तित हुन्छ । प्रेमका नियमहरू ऋतुजस्तै परिवर्तनशील छन् ।

र ‘चमेलीको फूल बैजनी रुमाल’—यी सबै रंगहरूको एउटा प्रेमिल क्यानभास बनेको छ ।

नेपाली साहित्यमा उनको कलम चलिरहोस्—ब्रह्माण्डझैँ, अन्तहीन । लेखकको कृतिले ब्रह्माण्ड घुमोस् ।

 

पेरिस ,फ्रान्स