नेपाली साहित्य जगतमा सुबिन भट्टराई युवा पुस्तालाई केन्द्रमा राखेर कलम चलाउने स्वयं पनि युवा आख्यानकार हुन् । उनका अहिलेसम्म एक कथा संग्रह ‘कथाकी पात्र’ र चार उपन्यास ‘समर लभ’, ‘साया’, ‘मनसुन’ र ‘प्रिय सुफी’ गरी जम्मा पाँच कृति प्रकाशित छन् ।
प्रस्तुत छ, उनै चर्चित आख्यानकार सुबिन भट्टराईसँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको अन्तरङ्ग संवादको सम्पादित अंशः

नेपाली साहित्य क्षेत्रमा नयाँ पाठक बढाउनमा तपाईँको विशेष योगदान रहेको छ भनी विश्लेषण गरिन्छ । यसको कदर नेपाली साहित्यले गर्ला कि नगर्ला ?
यो त समयले मूल्यांकन गर्ला । तर साहित्यको विराट समुद्रमा एक अञ्जुली पानी मैले पनि भरेको छु जस्तो लाग्छ । पाठकहरूले पक्कै विश्लेषण गर्नुहोला । मेरो किताबबाटै आफ्नो पठन अभ्यास शुरु गर्नुभएका पाठकले त झन् सम्झिनुहोला । पाठकको सम्झनामा यसरी नै अटाउन पाएँ भने पनि मेरो लेख्नुले एउटा अर्थ राख्छ ।

प्रेम र प्रणयका विषयमा लेखिने साहित्यका बढी छन्, जसले नवपुस्तालाई सम्बोधन गर्छ । तर एउटा यस्तो जमात पनि छ, जसले प्रेम र प्रणयका विषयमा लेखिएका साहित्यलाई मूलधारको साहित्य नै मान्दैन । किन होला?
संसारमै दुई किसिमका साहित्य छन् । राम्रो साहित्य र नराम्रो साहित्य । पाठक प्रेम र प्रणयका बढी छन् भन्नु गलत हो । पाठक राम्रा कृतिका बढी छन्, नराम्राका कम छन् । यो राम्रो र नराम्रो पनि व्यक्तिपिच्छेको अनुभव र निजी स्वादका कुरा हुन् । योभन्दा अरू त मान्छेले आफ्नै अनुकूलको व्याख्या र परिभाषा गर्ने हुन् । तर योचाहिँ साहित्य हो, त्यो चाहिँ होइन भन्नु आफैँमा मूर्खता हो ।

विश्वविख्यात कोलम्बियन लेखक ग्राबियल ग्रासिया मार्खेजको “लभ इन द टायम अफ कोलेरा” प्रेम र प्रणयकै कथा हो । त्यो आज पनि चर्चामै छ । जीवन्त छ । लाखौँ, करोडौँ पाठकले मन पराएका छन् । जोन ग्रीनको “फल्ट इन आवर स्टार्स” प्रेम कथा नै हो । गुड रिड्समा समेत ४.२१ रेटिङ्ग भएको यो किताब सर्वाधिक रुचाइएको पुस्तकमध्ये पर्छ । “प्राइड एण्ड प्रिजुडिस” कालजयी किताब हो । कुरा के हो भने, समय लाग्छ । राम्रो सधैँ राम्रो हुन्छ ।

[bs-quote quote=”हाम्रोमा मूल समस्या के छ भने, साहित्यलाई पनि प्रतिस्पर्धा बनाइदियौँ । साहित्य आफैँमा यति उदार छ कि जे जस्तो विषयमा लेखिए पनि, जसले लेखे पनि यसले स्वागतै गर्छ । कित्ताकाट गरिदिने त हामी भयौँ । यो सबको निर्णय त पाठकले गर्ने हुन् ।” style=”default” align=”left” color=”#dd3333″ author_name=”सुविन भट्टराई” author_job=”उपन्यासकार” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/subin-bhattarai-2.jpg” author_link=”https://www.facebook.com/subin.bhattarai.18″][/bs-quote]

समर लभ निस्केको आठ वर्ष भयो । यो अझै पढिने पुस्तकमै पर्छ । साहित्य जीवन्त हुन यो समय केही होइन । अझै केही दशक कुरौँ । हाम्रोमा मूल समस्या के छ भने, साहित्यलाई पनि प्रतिस्पर्धा बनाइदियौँ । साहित्य आफैँमा यति उदार छ कि जे जस्तो विषयमा लेखिए पनि, जसले लेखे पनि यसले स्वागतै गर्छ । कित्ताकाट गरिदिने त हामी भयौँ । यो सबको निर्णय त पाठकले गर्ने हुन् । तँ लेखकै होइनस् भनेर समालोचक र तपाईँले सोध्नुभाजस्तै कथित मूलधारका लेखकले प्रत्यक्ष–परोक्ष छेडखानी, व्यंग्य, आक्रोश, ईष्र्या मप्रति निरन्तर पोखिरहेछन् । जसले आफूलाई कतै छुन्छ, हल्लाउँछ, सोच्न बाध्य तुल्याउँछ, निद हराम गर्दिन्छ, केही प्रेरणा र ऊर्जा दिन्छ, मेरो नजरमा त्यही साहित्य अब्बल साहित्य हो ।
फेरि यो मूलधारको साहित्य भनेको के हो ? प्रेमभन्दा बाहिरको विषयमा लेखिएको ? कि कम पाठकले पढेका ? कि एउटा निश्चित उमेर समूह वा वर्ग छ ? कि विश्वविद्यायलमा थेसिस कति जनाले गरेका भन्ने आँकडाअनुसार तय गरिएको हो कि ! कि पुरस्कार पाएका आधारमा ? यस्तो कुनै नियम कसैले तोकेको छ कि नाइँ ? कतिसम्म, कस्तो लेखियो भने मूलधारको ? के के समेटियो भने मूलधारको ? मेरो पहिलो पुस्तक कथाकी पात्र मूलधारको हो कि होइन ? मेरो पछिल्लो पुस्तक ‘प्रिय सुफी’ मूलधारको हो कि नाइँ ? अनि ‘समर लभ’ नि ? यो प्रश्न (खगेन्द्र संग्रौलाको शब्द सापटी लिएँ) साहित्यका ती तमाम फित्तावाल अमिनहरूलाई जो लेखकका र तिनका कृतिका चार किल्ला नाप्न कम्मर कसेर हिँडेका छन् ।

नयाँ पाठक के चाहन्छन् ? ‘समर लभ’ निकाल्दै गर्दाका पाठक र अहिलेका पाठकबीच के भिन्नता पाउनुभएको छ ?
सरल छ । नयाँ हुन् या पुराना पाठक, ती राम्रा कृति चाहन्छन् । ‘समर लभ’ निकाल्दै गर्दाका पाठक पनि राम्रा कृति चाहन्थे, अहिलेका पाठक पनि राम्रा कृति चाहन्छन् । केही परिवर्तन भएको छैन । भनिहालेँ नि, राम्रो नराम्रोचाहिँ व्यक्तिपरक कुरा हुन् ।

हरेक कृतिका पाठक हुन्छन् । हरेक कृतिका विरोधी पनि हुन्छन् । तर धेरैभन्दा धेरै पाठकले, एउटा कालखण्डभरि चर्चा हुने, धेरै पढिने र मन पराएको कृतिलाई नै राम्रो भन्ने हो । पाठकहरू फेरिरहन्छन् । एउटै लेखकलाई सधैँ मन पराउन कोही पनि पाठक अभिशप्त छैन । कुनै पनि लेखकलाई हिजो हुरुक्कै गर्ने पाठकहरू आज सामाजिक सञ्जालमा विरोध गरिरहेका हुन सक्छन् । साथै नयाँ पाठक पनि जन्मिरहेका हुन्छन् । लेखकले पनि यो बुझ्नु पर्छ कि चढेर सगरमाथासम्म पुग्न सजिलै छ । त्यहाँ थर्पु हालेर बस्न सम्भव छैन ।

एउटा लेखकमा चाहिँ पुस्तकको संख्या तथा चर्चा बढ्दै जाँदा कस्तो परिर्वतन आउँदो रहेछ ? आफ्नै अनुभवको आधारमा छोटोमा बताइदिनुहोस् न !
पुस्तकका संख्या बढ्दै जाँदा, चर्चा बढ्दै जाँदा अलिक दबाब महसुस हुँदोरै’छ । पाठकहरूलाई आफूलाई मनपर्ने लेखकको कृति चाँडो चाँडो चाहिने । लेखकको रफ्तार त्यस्तो नहुने । शुरुवाती दिनहरूमा भन्दा परिश्रमको दायरा पनि फराक बनाउँदै लैजानुपर्छ । पहिलो वा दोस्रो पुस्तक लेख्दा जुन निस्फिक्री होइन्थ्यो, त्यो सधैँ रहन्न ।

जसै पाठकका संख्या बढ्छन्, तिनका अपेक्षा पनि बढ्छन् । त्यसलाई ठीकसित सम्बोधन गर्नु लेखकको चुनौती हो । एउटा जिम्मेवारीको बोझ थपिन्छ । केही लेख्नुअघि, कतै केही भन्नुअघि धेरैपटक सोच विचार गरेर भन्नुपर्ने, बोल्नुपर्ने हुन्छ । त्यही कुरा सामान्य मानिसले भन्नु वा लेख्नु र लाखौँ फलोअर्स भएका जिम्मेवार व्यक्तिले भन्नुमा आकाश र जमीनको फरक हुन्छ । तपाईँको कन्सियस लेभल नै अर्कै तहमा पुग्छ । यसले तपाईंको अभिव्यक्तिमाथि पनि केही हदसम्म अंकुश लगाइदिन्छ । त्यसो त कसैको मतलब नराख्न, कसैको नसुन्न पनि छूट छ, तर त्यसको परिणाम कति कुरूप हुन्छ भन्ने सहन आफूलाई तयार पार्नुपर्छ ।

‘समर लभ’ले शिखरमा पुर्याएको सुबिन भट्टराईको साख त्यसपछिका पुस्तकहरूले जोगाउन सकेनन् भनेर पनि विश्लेषण गरिने गरेको छ । तुलनात्मक रूपमा पनि ‘समर लभ’ले जस्तो चर्चा तथा कमाई त्यसपछिका पुस्तकहरूले गर्न सकेनन् । किन यस्तो भयो होला ?
चर्चामा त निश्चय पनि ‘समर लभ’ नै अघि छ । सुबिन भट्टराई भनेर यही कृतिले चिनायो । यो धेरै लेखकको समस्या हो पनि ।

मैले नेपालमा कन्सिस्टेन्टली सबै कृति उत्तिकै उम्दा लेख्ने लेखक विश्वेश्वरप्रसाद कोइरालाबाहेक अरू कोही देखेको छैन । मलाई धेरै मन परेको पुस्तक ‘घामका पाइलाहरू’का लेखक ध.च. गोतामेले ‘यहाँदेखि त्यहाँसम्म’मा बडो निराश बनाए । पारिजातको ‘शिरीषको फूल’बाहेक अरू पुस्तकले उतिसारो छुँदैन । मलाई मन पर्ने धु्रवचन्द्र गौतमलाई पनि धेरैले ‘अलिखित’बाटै सम्झिन्छन् । विजय मल्ल भन्नेबित्तिकै ‘अनुराधा’ आउँछ दिमागमा । राम्रो त उनका कथासंग्रह ‘परेवा र कैदी’, ‘एक बाटो अनेक मोड’, नाटक ‘कोही किन बर्बाद होस्’ आदि पनि छन् नि ! दौलतबिक्रम विष्टलाई ‘ज्योति ज्योति महाज्योति’ले नै चिनायो, यद्यपि ‘भोक र भित्ताहरू’ पनि राम्रै कृति हो । मदनमणि दीक्षित भन्नेबित्तिकै ‘माधवी’ दिमागमा आउँछ । वानीरा गिरीको ‘कारागार’ धेरै पढिएको किताब हो । ‘शब्दातीत शान्तनु’को कोही कुरा गर्दैन । अरू के कुरा गर्नु देवकोटाको ‘मुनामदन’ जति चर्चित भो, त्यसको दाँजोमा अरू चर्चित हुन सकेनन् । विश्वविख्यात लेखक पाउलो कोएलोका हरकिताबको कभरमा फ्रम द राइटर अफ ‘अल्केमिस्ट’ भनेर लेखिएको हुन्छ । यसैले हो उनलाई चिनाएको पनि ।

भन्न खोजेको के हो भने लेखकलाई एउटा कृतिले चिनाउँछ । त्यो धेरै चर्चित हुन्छ । अरूचाहिँ कमसल हुन् भन्न मिल्दैन । चर्चा कम भएको होला, तर स्तर कम भएको हुन पनि सक्छ, नहुन पनि सक्छ ।

‘समर लभ’ सबैभन्दा चर्चित भो, दुई मत छैन । यसैले चिनाएको हो पनि । तर अरू कृतिका पाठक पनि छन् । ‘साया’ र ‘मनसुन’मा अलिक बढी आलोचना खेपेको हुँ । भन्नु नै हुन्छ भने ‘समर लभ’भन्दा धेरै प्रशंसा पाएको कृतिचाहिँ ‘प्रिय सुफी’ हो । यसभन्दा अघि ‘समर लभ’भन्दा राम्रो लेख्नुपर्छ भनेर आफूसित प्रतिस्पर्धा गरिन्थ्यो । अहिले ‘प्रिय सुफी’भन्दा राम्रो लेख्नु छ भन्ने दिमागमा आइरहेको हुन्छ । ‘प्रिय सुफी’ले बरु एउटा राम्रो कमब्याकचैँ गरेको हुँ भन्ने लाग्छ । डेढ वर्षमा यो कृति जति बिक्यो, त्यति बिक्न ‘समर लभ’लाई पाँच वर्ष लाग्या थियो ।

[bs-quote quote=”‘समर लभ’ले चिनाएको हुनाले पाठकहरूले सधैँभरि त्यै किताबका लेखकको नाउँबाट चिन्नेछन् ।” style=”style-2″ align=”left” color=”#dd3333″ author_name=”सुविन भट्टराई” author_job=”साहित्यकार” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/subin-bhattarai-1.jpg” author_link=”https://www.facebook.com/subin.bhattarai.18″][/bs-quote]

विगतका पुस्तकमा विशेषगरी युवा वर्गको सकारात्मक प्रतिक्रिया पाएको थिएँ, ‘प्रिय सुफी’बाट दुई जेनेरेसन माथिका व्यक्तिबाट समेत राम्रो प्रतिक्रिया आउनेक्रम अझै जारी छ । बाँकी त समयले नै बताउला, यसको आयु कति हुन्छ । तर के चाहिँ लाग्छ भने, ‘समर लभ’ले चिनाएको हुनाले पाठकहरूले सधैँभरि त्यै किताबका लेखकको नाउँबाट चिन्नेछन् ।

तपाईँलाई आरोप लाग्छ, तपाईँको कलम प्रेम र प्रणयभन्दा टाढा पुग्न सकेन । ‘प्रिय सुफी’मार्फत् यो आरोपबाट जोगिन खोज्नु भएको हो ?
आरोपबाटै जोगिनका लागि मात्रै त किन लेख्नु र ? मसँग भन्ने केही कथा थियो, त्यसैले लेखेँ । आरोप ‘प्रिय सुफी’ लेखेपछि आएको छैन र ? ‘प्रिय सुफी’लाई सस्तो यौन उपन्यास भन्नेहरू पनि छन् । पत्याउनुहुन्छ ? सकिन्छ हर आरोपलाई खण्डन गर्दै हिँड्न ? मसँग भन्न लायक कथा हुँदा म जे पनि लेख्छु । मैले जति वटा, जे विषयमा लेखूँ आरोपै लाउनेले त नपढीकन सस्तो प्रेम, सस्तो यौन नै भन्नेवाला छन् भन्नेमा म ढुक्क छु । तर पढेर केस्राकेस्रा केलाएर कसैले कन्भिन्सिङ तरिकाले आरोप लाउनुहुन्छ भने त त्यसको खुलेर स्वागत मात्र गर्दिनँ, अर्को पुस्तक लेख्ने बेला त्यस किसिमको आरोपलाई दिमागमा राखेर बसेको हुन्छु ।

तपाईँले लेख्न सुरु गर्दा तपाईँका अधिकांश पाठक फेसबुकमा थिए भने अहिले टिकटकमा छन् । तपाईँजस्तो नवपुस्तामा बहुचर्चित लेखकका लागि यो अवसर हो कि चुनौती ? कसरी ?
पहिलो त मेरा पाठकहरू हरेक ठाउँमा छन् । चाहे त्यो फेसबुक होस, ट्वीटर होस्, या इन्स्टाग्राम होस् या तपाईंले भनेझैँ टीकटक । हर ठाउँमा छन् । यो चुनौती होइन । यो मेरा लागि सुखद् पक्ष हो । चुनौती त सधैँ राम्रो लेख्नु हो । त्यही रूखमा धेरै चराहरू आएर बस्छन्, जुन रूख झ्याँगिएको हुन्छ । हराबरा हुन्छ । लेखक त्यस्तै हुनुपर्छ । उसले आफ्नो कला र शिल्पको हरियाली बिछ्याउन जान्नुपर्छ । जिन्दगीको भागदौडमा दुःख र सन्तापले रापिएका पाठकलाई तपाईँले बिछ्याएको हरियालीले शितल बनाउन सक्नुपर्छ । एउटा लेखकको लागि योभन्दा सुखद् अनुभव अर्को केही हुन्न ।

तपाईँलाई फलो गर्ने पाठक मात्र होइन, तपाईँकै शैलीलाई पछ्याउने नवपुस्ताका लेखकहरू पनि प्रसस्त छन् । तिनीहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?
त्यसो त म नयाँ पुस्तालाई मबाट सधैँ प्रेरणा र ऊर्जा मिलोस् भन्ने चाहन्छु । धेरै नयाँ लेखकहरूलाई भन्छु, पढ्नूस्, बुझ्नूस्, तर शैली आफ्नै निर्माण गर्नूस् । कसैको पनि शैलीलाई नपछ्याउनूस् । तपाईँ कहाँ जाने ? बाटो आफैँ बनाउनूस् । तपाईँले निर्माण गरेको शैली तपाईँको ओरिजिनल हो । र, भाउ सधैँ ओरिजिनलकै हुन्छ ।

अहिले प्रिन्टेटभन्दा डिजिटल भर्सनमा मानिस रमाउन थालेका छन् । यस कुरालाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
यो समयको माग होला जस्तो लाग्छ । तर महत्त्व प्रिन्टेडको पनि उत्तिकै छ । म इबुक पढ्नै सक्तिनँ । मलाई किताबका पन्ना फरर पल्टाउँदै, कागजको बास्ना सुँघ्दै पढ्दा मजा लाग्छ । अझ त्यो पन्ना पल्टिदाँको ख्यारर्र आवाज पनि सुन्न मन पर्छ । हातमा पुस्तक बोकेका मान्छे बिछट्टै सुन्दर लाग्छन् । अनि विभिन्न कोणबाट गरिने किताबको फोटोग्राफी अत्यन्तै मन पर्छ । यो सब इबुकमा कहाँ ? डिजिटलमा कहाँ ? तर जो इबुक पढ्नुहुन्छ, वहाँहरूको रुचिलाईचाहिँ सम्मान गर्छु । गिलासबाट पिए पनि बोतलबाटै पिए पनि पानीको काम त प्यास मेट्ने नै हो नि !

तपाईंको नयाँ पुस्तक पाठकले कहिले पढ्न पाउँछन् ? तपाईँलाई कोरोनाले कत्तिको प्रभाव पारेको छ ?
लकडाउनले माहौल मात्र होइन दिमाग पनि केही हदसम्म लकडाउनकै अवस्थामा पुग्यो । यो समयभरि मैले लेखिनँ । लेख्न सकिनँ । तर अरू कामहरू गरेँ । जो उल्लेखनीय नै मान्नुपर्छ । तर अब सबै सहज हुँदैछ । बिस्तारै म पनि आफ्नो लयमा फर्किनेछु । थन्क्याइराखेका नयाँ पुस्तकको पहिलो ड्राफ्टको धुलो टक्टक्याउनेछु, जसरी कैयौँ दिनदेखि नखुलेको सटर खुल्दा व्यापारीले बडारकुँडार, साफसफाइ गर्छन् । अनि गर्न थाल्नेछु शब्दहरूका कारोबार । फाल्ने, छाँट्ने, नयाँ लेख्ने, मिलाउने, भत्काउने सिलसिला चलिरहन्छ तबसम्म जबसम्म आफूलाई चित्तबुझ्ने अवस्थामा पुस्तक पुग्दैन । त्यसका लागि केही समय त लागिहाल्छ । कति लाग्छ ? त्योचाहिँ भनिहाल्न सक्ने अवस्था अहिले छैन ।

अन्त्यमा, बन्दाबन्दीमा तपाईँले गरेका महत्त्वपूर्ण कामलाई कसरी सम्झनुहुन्छ ?
बाह्र, तेह्र जनाको परिवारमा बसेको छु । जहाँ दुई वर्षको चकचके छोरा पनि छ । अब तपाईँ अनुमान लगाउन सक्नुहोला, म बन्दाबन्दीलाई कसरी सम्झन्छु होला, के गरेँ होला ? बाँकी त समय मिल्दा तीनवटा ‘स’मा बित्यो । सिरिज, सिनेमा र साहित्य । पछिल्लो महिना त साँझको समयमा एक डेढ घण्टा वाक पनि गरियो ।
परिवार ठूलो भएपछि समय त के हो र ! बिताउनै पर्दैन, खुर्रर खुर्रर दौडेको दौड्यै मुठ्ठीमै नआई, यस्सै सिद्धिन्छ ।