१.
मनको मान्छेको जय जय,कहाँ रोकिन्छ र ?
गुमाउँछु कि भन्ने भय,कहाँ रोकिन्छ र ?
व्यक्त नगर्दैमा प्रेम गर्दिनँ, ठान्छौ मुर्ख तिम्ले
घडी नचल्दैमा आखिर समय, कहाँ रोकिन्छ र ?

२.
गरिने काम र बोलिने बात, फरक हुन्छन् यहाँ
हरेकको स्वभाव जन्मजात, फरक हुन्छन् यहाँ
चिन्नै सकिन मान्छेहरू भन्दै, गर्छौ कति गुनासो
देखिने दाँत र चपाउने दाँत, फरक हुन्छन् यहाँ ।

३.
सकि नसकी बाले बाटेको, डोको छँदैछ
थोत्रिएर पिँधमा फाटेको, डोको छदैछ
सुनेको थिएँ तिम्लाई लिन हेलिकप्टर आउँछ रे
मलाई लिन त बिट काटेको डोको छँदैछ ।