विष्णुप्रसाद आचार्य “अतृप्त”
१.

विष्णुप्रसाद आचार्य अतृप्त
जस्तो हुँदै होइन ठीक त्यस्तो देखिनु पर्ने
हलुका भइनु पर्ने अनि सस्तो देखिनु पर्ने
बोली,व्यवहार र संस्कार बनावटी देखाएर
यो मान्छेको जातलाई नि कस्तो देखिनु पर्ने?
२.
जराका लागि प्राण गुभोका लागि दुश्मन हो
उदाउने आधार हो यो, अस्ताउने नन्दन हो
यो माटो हो साथी ! यसको मूल्य नसोधियोस्
देख्दा हिलो, धुलो अनुभूत गर्दा धड्कन हो ।
३.
कि सद्भाव बढाएर नै विश्वास जित्नुपर्छ
कि डर देखाई हमेसा नियमतिर खिच्नुपर्छ
होइन भने बरालिन्छ, लत्तो छोड्छ मान्छेले
कि पुच्छर निमोठ्दै सिम्किनाले पिट्नु पर्छ।
४.
नपरून्जेल मलाई त पर्दै पर्दैन भन्ने लाग्छ
म मै हुँ ! मेरो ज्यान त मर्दै मर्दैन भन्ने लाग्छ
आकास खस्छ र जमिन भासिन्छ जबजब
भावीको लेखान्त हो,टर्दै टर्दैन भन्ने लाग्छ!
५.
के पाइन्छ कसबाट भन्नेतिर खासै चासो पनि रहेन
केही पाइएन जिन्दगीबाट भन्ने गुनासो पनि रहेन
खाइयो, लाइयो, रमाइयो बस् जिन्दगी यस्तै भयो
आँखा रोएन तर ओठमा उन्मुक्त हाँसो पनि रहेन।
विदुर- ५, नुवाकोट
हाल: तारकेश्वर- २, काठमाडौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 








