मान्छेले

विष्णुप्रसाद आचार्य “अतृप्त”
ढलोट पगालेर मूर्ति बनाउँछ
पत्थर फोडेर
पद्मासन सजाउँछ
छेवैमा लुङ्दर फहराउँछ
माने घुमाउँछ
सुनपातीको धुप सुँघाएर
जड मूर्तिमा देवत्व सवार गराउँछ
मूर्तिले अरू केही गर्दैन
चुपचाप मूर्ति बनिन सहयोग गर्छ
रथारोहण पश्चात जब मूर्ति
मान्छेको काँध चढेर आसनमा बस्छ
तब मान्छेलाई सन्त बनाउँछ
आफूलाई अनादि र अनन्त बनाउँछ
“ननुहाई मेरो छेउ नआउनू” भन्छ
“जुत्ता नखोली मेरो धाम नधाउनू” भन्छ
धुप सल्काउन भन्छ टायल टल्काउन भन्छ
अक्षता मोल्न भन्छ भाकल बोल्न भन्छ
यो रहस्यको राज
अझै खुल्न सकेको छैन कि
सृष्टिकर्ता मानिसलाई नै काबुमा राखेर
उसकै कलाचाहीँ हिटलर कसरी बन्छ ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 










