
विष्णुप्रसाद आचार्य “अतृप्त”
सिरानटारमा भर्खरै चुनाव सकिएको थियो। विजयी पार्टीका नेता-कार्यकर्ताहरूको टाउकाबाट अबिरको रङ्ग पूरै पखालिन भ्याएकै थिएन।
नवनिर्वाचित टिम सम्पूर्ण जोस खन्याएर केही नौलो सुरुवात गर्ने ध्याउन्नमा थियो। तसर्थ पूरै वडालाई ३ वटा क्लस्टरमा छुट्याई जनताको घरदैलोमा पुगेर प्राथमिक आवश्यकताहरूको पहिचान गर्ने कामको थालनी गरिएको थियो।
क्लस्टर नम्बर १ मा समाजले दलित भन्ने गरेका समुदायको बाहुल्य थियो । उनीहरूले जातीय विभेदको व्यावहारिक रूपमै अन्त्य हुनुपर्ने र सक्षमता हासिल नहुन्जेलसम्म विशेष आरक्षणका कार्यक्रमहरू सार्वजनिक गरी तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरे ।
क्लस्टर नम्बर २ आर्थिक रूपले विपन्न खस आर्यहरूको प्रमुख बसोबास थलो थियो। उनीहरूले सर्वसुलभ स्वास्थ्य सेवाका लागि सुविधा सम्पन्न स्वास्थ्य चौकी र सामुदायिक विद्यालयका लागि दक्ष शिक्षक शिक्षिकाको माग राखे।
“हामीलाई व्यायामका लागि जिमखाना,दृश्यावलोकनका लागि भ्यु टावर तथा फलफूल र तरकारी भण्डारणका लागि शीतभण्डार चाहियो” क्लस्टर नम्बर ३ मा अधिकांश व्यापारीहरूको बसोबास रहेकोले सोही अनुसारको माग पेश भयो।
तीन वटा क्लस्टरहरूबाट सङ्कलित सबै माग वडा कार्यालयको भावी कार्यदिशा शीर्षकको सूचीमा सूचीकृत भयो।
स्रोत र साधन थोरै भएकाले क्लस्टरैपिच्छेको अलग अलग प्रकृतिको माग एकैचोटि पूरा हुन सम्भव हुने देखिएन । जुन क्लस्टरबाट सुरु गरे पनि, जे कामबाट सुरु गरेपनि विरोध /प्रतिरोध हुने बलियो सम्भावना थियो । यही पूर्वानुमानका आधारमा नवनिर्वाचित वडाअध्यक्षले अविवादित मध्यमार्गी धार समाएर पृथक कामको सुरुवात गर्ने निधो गरे ।
भोलिपल्ट तिन वटै क्लस्टरका वडाबासीको संयुक्त भेलामा वडा अध्यक्षले भने ” तपाईहरूले अलग अलग क्लस्टरबाट अलग अलग मागहरू प्रस्तुत गर्नु भएको छ । कुन क्लस्टरको कुन कामलाई प्राथमिकता दिने भन्ने बारेमा म पनि द्विविधामा परेँ । विश्वासको मत दिएर जिताएको उम्मेद्वारलाई पुन: एकपटक विश्वास गर्नुहुन्छ भने म विकासको एउटा मौलिक प्रस्ताव राख्छु तर त्यसमा तपाईहरूले “नाइँ भन्दैनौँ” भन्ने वचन मलाई दिनु पर्छ।”
वडाअध्यक्षले जनताबाट प्रतिबद्धता खोजे । भर्खरै जनमतबाट अनुमोदन गरिएका आफ्नै प्रतिनिधिलाई जनताले अविश्वास गर्ने कुरै थिएन । सबैले उनको बोलीमा लोली मिलाए।
अर्को पाँच महिनाभित्र गाउँको केन्द्रभाग हुँदै तीनवटै क्लस्टर छुने गरी उत्तर दक्षिण पिच बाटो निर्माण भयो । मूलबाटोबाट जोडेर दायाँ बायाँ शाखा बाटोको ट्रयाक खोलियो। शाखा बाटोमा ग्राभेल पनि छरियो ।
पहिलो चरणको प्रोजेक्ट सकिएपछि वडाप्रमुखले सडक उद्घाटन गर्दै गर्वले छाती ठोके र भने- “योजना छनोटमा केही अलमल भएको अवस्थामा यहाँहरूले नै विश्वास गरी मलाई प्राथमिकता तोक्न अह्राउनु भएअनुसार आज यो सडक उद्घाटनको साइत जुर्न पुगेको छ।”
उनको भाषणले गडगडाहट ताली पायो; गलामा बीस किलोको माला पनि झुन्ड्याउन सफल भए।
बाटो खन्दा वडाअध्यक्षको आफ्नै डोजर प्रयोग भएको, उनकै क्रसरको रोडा ढुङ्गा सडकमा बिछ्याइएको अनि उनकै एक बाली मकै मात्र फल्ने पाटो घडेरीमा परिणत भएको जनताले पछि मात्र चाल पाए । गाउँमा विकासको लहर सुरु भएसँगै वडापिताको चुनाव खर्च उठिसकेको थियो। अरू सबै गाउँलेले पाएको कूल लाभभन्दा उनी एक्लैलाई प्राप्त भएको खुद लाभको वजन गह्रुङ्गो देखिन्थ्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 








