विष्णुप्रसाद आचार्य “अतृप्त”
१.
माटामा पसिना अनि ढुङ्गामा घन बर्साउनु पर्छ
आफ्नै श्रम, सीप र प्रविधिको धन बर्साउनु पर्छ
हिमाल-पहाड-तराई सबै एकाकार गरेर
छातीमा तीन करोड सन्तानले आफ्नोपन बर्साउनु पर्छ ।
२.
पोगटा निफन्नुपर्छ, बियाँ केलाउनु पर्छ
जादुगर बन्नुपर्छ, शब्द खेलाउनु पर्छ
रहरलाग्दो सिर्जना त्यसै कहाँ जन्मछ र !
बाँझो खन्नुपर्छ, बन्सो जिलाउनु पर्छ ।
३.
संस्कार र संस्कृति जीवनका उज्याला पाटा हुन्
पूर्वीय आदर्श हुन् यी, सुख शान्तिका बाटा हुन्
सामाजिक कुरीतिलाई लुतो ठानौँ, ऐजेरु मानौँ
मानवताको निधारमा यी, कलङ्कका टाटा हुन् ।
४.
सारा पीडा कोही सामु वचनमा मिल्कायो
मुटु दुखाई याद सबै धड्कनमा मिल्कायो
खुसी बन्न यति बहाना पनि काफी हुँदोरैछ
पिँढी बढार्यो, फोहरचाहिँ आँगनमा मिल्कायो !
५.
यो आलटाल, ढिलासुस्तीले कहीँ पुर्याउँदैन
अहम्, मनमुटाव र कुस्तीले कहीँ पुर्याउँदैन
भाइचारा बढाएर कर्मठ जीवन बाच्न सिकौँ
मात्र भोगविलास र मस्तीले कहीँ पुर्याउँदैन ।
विदुर- ५, नुवाकोट
हाल: तारकेश्वर- २, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।