“नाम………… नगरपालिका अरे! थुइक्क !” ४० हिउँद काटेको स्यारोन शेर्पाले वडा कार्यालयमा झुन्ड्याइएको साइन बोर्डको अक्षर पढ्यो र आधी सल्किएको अवस्थामा ओठमा च्यापिएको चुरोट भुईँमा फालेर देब्रे खुट्टाले किचिमिची पारिदियो ।

विष्णुप्रसाद आचार्य “अतृप्त”
“रमिते” भन्ने ठाउँमा छ उसको घर । सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिकाको रमिते । विगत २ वर्षदेखि यो शब्द मनमा आयो कि उसलाई एलर्जी हुन थालेको छ । “रमिते” खै कहाँ छ मेरा लागि रमिता ? बरु दुनियाँ मेरो दुःख हेरेर मनोरञ्जन लिने रमिते भएका छन् ।” उसको आक्रोश चुलियो ।
केही वर्षअघिसम्म पर्यटकको भरिया भएर कहिले नाम्चेतिर त कहिले सगरमाथा आधारशिविरतिर जाँदा राम्रै कमाइ हुन्थ्यो उसको । कोरोना त्रासले पर्यटन व्यवसायमा मन्दी छाएपछि मामुली रूपले गर्नैपर्ने घरखर्चमा समेत व्यापक सङ्कुचन गर्नुपर्ने बाध्यता आएको थियो उसलाई । “बुङको आलु” राम्ररी फलेको भए पनि तेल मसलाको जोहो सजिलो हुन्थ्यो, त्यो पनि यसपाला…..” उसले लामो सुस्केरा फाल्यो । उसको सुस्केरा नजिकै बहने सोलु खोलाको सुसाहटमा मिसिएर कतै बिलायो ।
“यसपाला उति सारो हिउँ पनि परेन । पातलेतिर हिउँ परेको भए बाटामा जमेको हिउँ सोहोर्ने लेवरको काम पाइन्थ्यो । फेरि हाइड्रो पावर प्रोजेक्टहरूले कहिलेकाहीँ रुख कटानको काम पनि दिन्थे तर प्रोजेक्टहरू पनि सकिए” ऊ मनमनै बिरक्तियो ।
उसका आँखा केही विस्फारित भएर नजिकै रहेको कडेनी झरेनी सामुदायिक वनतिर लोभिए । सुत्ने तरखर गर्दै गरेको १३ वर्षको छोरालाई उठाएर मझौला हाते आरो बोकेर ऊ साँझतिर जङ्गलमा उक्लियो । वनतिर उक्लँदै गर्दा भालु र चितुवाको सम्भावित आक्रमणलाई पनि सम्झियो तर सम्झनालाई डरमा बदलिन दिएन बरु आत्मविश्वासका साथ आफूलाई तत्काल सम्हाल्यो । वनमा पुग्दा हिजो मात्र कडेनी झरेनी वनमा हत्या गरिएको अवस्थामा फेला परेको एउटा अधबैँसे पुरुषको बीभत्स लास सम्झिएर उसलाई एकछिन भाउन्न भयो । घरी सल्लाको रुखलाई त घरी छोरालाई अँगालो हालेर आवाज ननिकाली जोडजोडसँग रोयो पनि ।
घरको अवस्था, घरकी श्रीमतीको आवश्यकता र नजिकैको वागेश्वरी स्कुलमा पढ्ने कलिला सन्तानहरूको अनुहार सम्झँदा उसलाई रोएरै मात्र समस्या टर्नेमा विश्वास भएन । रातको समय आफ्नै आँखाको उज्यालोको भरमा धमाधम गोब्रे सल्लाको रुख काट्ने काम गर्न थाले बाबुछोराले ।
अस्ति ताक पानी परेको बखत परेको हिउँ जङ्गलको खोच खोचमा जब्बर भएर जमिरहेकै थियो । धेरै बेर हिउँको ढिस्काढिस्कीमा लडीबुडी गर्दै आरा तान्ने काममा सक्दो मद्दत गरि नै रह्यो नाबालक छोराले पनि ।
“केही पर सामुदायिक वन उपभोक्ताका घरहरू छन् । कुनै सट्को उनीहरूले चाल पाइहाले भने !” मनमनै आशङ्काको एक हुल तुवाँलो उठ्यो तर उसलाई ती उपभोक्ताले चाल पाएर पक्रने डरभन्दा बालबच्चा भोकले मर्ने खतराले ज्यादा भयभीत बनाएको थियो । २/४ रुख के ढलेका थिए, अकस्मात् एक हुल मानिस आएर बाबुछोरा दुवैलाई पक्रिए र सामुदायिक वनको काठ तस्करी गरेको भन्दै स्थानीय उपभोक्ताले केरकार गर्न थाले ।
“भन् ! कति जना संलग्न छन् काठ तस्करीमा ?”
स्थानीय कड्किए ।
“हामी दुई मात्र हौँ हजुर !”
उसले दबेको स्वरमा उत्तर दियो ।
स्थानीयले उसको कुरा पत्याएनन् । सामूहिक रूपमा ठुलै गिरोह संलग्न भएको आशङ्कामा उनीहरूले तत्काल प्रहरीलाई खबर गरे । मध्यरातमा प्रहरीले उसको हातमा हतकडी लगायो । प्रहरी बिटका प्रहरी र वन उपभोक्ताका अगाडि ऊ निरीह बन्यो । जति केरकार गर्दा पनि ऊ थप केही बोलेन ।
“एकछिन एकछिन” ऊ केही भन्न खोज्दै थियो । मानौँ उसको मौनता अब जोडले मुखरित हुन खोज्दै थियो ।
केही भन्नुपूर्व उसले केही बेर गम खायो, “यो जन्जालबाट फुत्कन मैले कुनै दलको नेतालाई फोन गर्नैपर्छ ।” तर उसले कुनै ठुला नेता चिनेकै थिएन । स्थानीय नेताको नाम सम्झन खोज्दा उसको दिमागमा त्यही कुरा खेल्यो कि गत स्थानीय निर्वाचनमा रमितेसहित तिङ्लाका सबै जनताले “नो भोट” अभियान चलाएका थिए । तिङ्लामा चुनाव नै भएन, तिङ्ला जनप्रतिनिधिविहीन थियो ।
“भोट नहाल्ने बहिष्कारवादीलाई कसले संरक्षण देला र! हे भगवान् अब म के भनूँ, कसलाई गुहारूँ ?”
उसले फेरि एउटा चुरोट सल्कायो, आकाशतिर हेऱ्यो र चन्द्रमातिर चोर औँला ठड्याएर पहिलेजस्तै आधा सल्केको चुरोट भुईँमा फालेर खुट्टाले कुल्चँदै भन्यो “कसैका लागि जिन्दगी भर दाहिना भइरहन्छस् , कसैले भने बाँच्ने आधार खोज्दा पनि बेला न कुबेला उज्यालो चाँदनी छर्नुपर्ने ? थुइक्क चन्द्रमा”!!!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










