विष्णुप्रसाद आचार्य “अतृप्त”

१.

दुखेर नि जिन्दगानी दुख्यो भन्न पाइँदैन
हाँस्नैपर्छ ओठको हाँसो सुक्यो भन्न पाइँदैन
बाध्यताको ढुङ्गामुनि पहेँलपुर छन् रहरहरू
जोसको जून बादलभित्र लुक्यो भन्न पाइँदैन

२.
यहाँ खर्च गर्न र रमाउन टन्नै आम्दानी चाहिन्छ
कमाए नि खाएको पच्न स्वस्थ जवानी चाहिन्छ
यो शहरमा निर्धक्क रून प्रतिबन्धित छ मान्छे
किनकि आँसु बन्न पनि पर्याप्त पानी चाहिन्छ

३.
हर खुसी अनौठो लाग्नु, यो के को लक्षण हो?
अझ चराकै पछि भाग्नु, यो के को लक्षण हो?
यस्तो लाग्छ म शिशु हुँ, अझै तरूण भएको छैन
कुवामै झुल्के घाम माग्नु, यो केको लक्षण हो?

४.
झिँजो झर्को छेडखान गर्दै झिर भएर बाँच्छन्
बर्सनै आँटेको बादलको शिर भएर बाँच्छन्
दुःखीदुःखी नै छन्, सुखी पनि छैनन् खुसी
यहाँ हरमान्छे लेते लागेको भीर भएर बाँच्छन् ।

५.
यो संसार, यो दुनियाँ अचम्म लाग्छ
कसैगरी बुझ्न सकिएन दङ्ग लाग्छ
कति आरामले निदाएका यी पहाडहरू
बस् ! यत्ति देखेर मनमा झसङ्ग लाग्छ ।

 

विदुर- ५, नुवाकोट
हाल: तारकेश्वर- २, काठमाडौँ