सामाजिक जीवन त ध्वस्तै थियो तर पेसागत जीवनमा भने ठूलै छलाङ मारेका थिए नुमप्रसादले ।
३५ वर्षकै उमेर निजामती सेवाको उपसचिव पदमा उनी आसीन भइसकेका थिए । उनी नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए । सधैँ मालदार अफिसमा सरुवा मिलाउने सामर्थ्यका कारण उपल्लो दर्जाको आर्थिक हैसियत समेत आर्जन गरिसकेका थिए ।
कार्यालयमा आफूले काम गर्ने विषयमा उनमा गहिरो दखल थियो । विभिन्न विदेशी मुलुकहरूको भ्रमण गरी अन्तर्राष्ट्रिय स्तरको ज्ञान र अनुभव हासिल पनि गरेकै थिए । अमूक राजनैतिक दलको आर्थिक सेवा गर्ने गरेकाले निर्णय निर्माणमा पनि आँटिला थिए । मातहतका कर्मचारीहरू उनको विद्वता सहितको चाटुकारिता देखेर कायल हुन्थे।
उनीसँगै स्कुलमा पढेका साथी एक दिन आफ्नो काम विशेषले मन्त्रालयमा उनलाई भेट्न गए । उनी मन्त्रालयमा निकै बेफुर्सदी जस्ता देखिन्थे । त्यसैले छोटो फुर्सद लिकालेर हात लम्काउदै साथीलाई भने,
-” यी, यो भिजिटिङ कार्ड लिइ राख्नुस् । तपार्इँको विषयमा टाइम मिलाएर बातचित गरौँला।”
साथी चाहिँ गाउँमा सामान्य कृषि पेसा गर्थे । गाउँबाट उनले पटक पटक फोन गरे । कहिले “सम्पर्क हुन सकेन” कहिले “स्विच अफ गरिएको छ ” भन्ने आवाज आइरह्यो । कहिलेकाहीँ त “आइ विल कल ब्याक यु लेटर” भन्ने मेसेज पनि फर्काउँथे उनी । तर कलब्याक कहिल्यै भएन ।
उता गाउँमा रहेका साथीको छोराको ब्रतबन्धको साइत जुर्यो । उनले मन्त्रालयका ती साथीलाई सम्झिएर चिनजानको अर्को साथीमार्फत निम्तो कार्ड पठाए । उनले फेरि पनि समय निकाल्न सकेनन् सायद । निम्ताको बदलामा “ह्वाट याप्स” मार्फत बटुकलाई शुभकामनाका गुलिया शब्दहरू उपहार पठाए ।
क्रम यथावत रह्यो । पछिल्ला कैयौँ वर्षसम्म उनीहरूको भेटघाट त के बोलचालसम्म पनि भएन ।
गाउँमा चुनाव आएको थियो । गाउँका साथी कृषिकर्म छाडेर पालिका अध्यक्षमा उम्मेदवारी दिने मनस्थितिमा थिए । यता उपसचिव पनि सहसचिव पदबाट सेवा निवृत्त भैसकेका थिए ।
पदमा रहदा गाउँमा पाइलो नै नहालेका र गाउँको सेवामा कुनै योगदान नगरेका भू.पू.सहसचिव साहेब, स्थानीय तहको चुनावमा भोट हाल्न गाउँ पुगे। समय व्यवस्थापन गर्न नसक्दा साथीको काम नबनेको र छोराको ब्रतबन्धमा पनि उपस्थित हुन नसकेको पुरानो सम्झनाले भावुक बनेका देखिन्थे उनी।
उनले चुनावमा आफ्ना बालसखालाई ज्यान दिएर सघाए। साथीले चुनाव पनि जिते । उनकै प्रमुख सल्लाहकार भएर काम गर्न थाले भू.पू.सचिव साहेब । लामो प्रशासनिक अनुभव र चाटुकारिताको सीपका कारण पालिकामा उनकै हालीमुहाली चल्न थाल्यो।
हालका पालिका अध्यक्षले जतन गरी सम्हालेको त्यही पुरानो भिजिटिङ कार्ड भू.पू.सहसचिव साहेबको हतियार बनेको छ अहिले। प्रशासनिक दक्षताको त्यही प्रमाण पेश गरेर गाउँबाट गुमेको आफ्नो विरासत फर्काउने र आगामी पालिकाको चुनावमा अध्यक्षको पद हत्याउने दाउमा उनी छन् भन्ने गाइँगुइँ चल्न थालेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।