१.
ठेकी चर्केछ
अंगेनोको रापले
घिउ पोखियो !
२.
बिस्तारै तात्यो
चिसिएको अंगेनो
सल्क्यो दाउरा !
३.
कुँडेको दूध
पोखियो भुइँभरी
बिरालो मख्ख !
४.
गोलो अँगेनो
भर्भराउँदो आगो
चिसो मौसम !
५.
खेती चटारो
उफ्रिंदैछ बाउसे
हिलाम्मे खेत !
६.
यौटाको धन
र्याल काट्दैछ अर्को
भ्रमको चास्नी !
७.
मौन आकाश
पृथ्वीमा निहार्दैछ
जून बालेर !
८.
लफक्कै धर्ती
आकाशको आँसुले
मोती टल्कियो !
९.
बेचैन मन
अनिदा आँखाहरु
छर्लङ्ग रात !
१०.
लक्ष्य शिखर
चिप्लेकिराको चाल
हिउँ पग्लियो !
११.
लुछियो मासु
मन्दिरभित्र लाश
मौन देवता !
१२.
साथी शकुनी
सत्तामा धृतराष्ट्र
विचरा भीष्म !
१३.
मुस्कायो फूल
मग्मगायो बगैंचा
माली रमायो !
१४.
बुद्ध छातीमा
अग्रसर युद्धमा
बुद्धं शरणं !
१५.
च्वास्स घोच्दैछ
प्यूरीको डस्ना पनि
अनिँदो रात !
१६.
पूर्ण चन्द्रमा
कोठामै उदाउँछ
हाँसिदेऊ त !
१७.
टुपीमा पुग्दा
धोतीका जुम्राहरु
रवाफै बेग्लै !
१८.
जुनेली रात
जुनकीरीको दम्भ
उज्यालो मेरै !
१९.
अँध्यारो रात
सल्काउँदैछु दीयो
मन बालेर !
२०.
पूरा अपूरा
केही थान सपना
जीवन यात्रा !
२१.
बगैंचा हैन
उनको हाँसोभरि
फूल फक्रेछ !
मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।