पट्यारलाग्दो एकनासे दैनिकीबाट थोरै समय भए पनि छुटकारा पाउँदा मन निकै प्रफुल्लित हुन्छ । तर, गरिखानु पर्ने बाध्यताले सधैँ यो सम्भव हुँदैन । तापनि, यात्राले ऊर्जा दिने भएकाले मौका मिल्दा घुमिहाल्नु पर्छ भन्ने मेरो मान्यता छ ।
गत: जेठ महिनामा दुई दिन कालिन्चोक पुगेर आइएको थियो । दशैंको समयमा रारा जाने सम्पूर्ण प्रबन्ध मिलाएर पनि जाने तीन दिन अघि मात्र अकस्मात् सो भ्रमण कार्यक्रम रद्द गर्नु परेको थियो । त्यस बेला, गाडीलाई दिएको पेस्की फिर्ता लिन र भ्रमण व्यवस्थापकलाई मनाउन कम्ती गाह्रो परेको थिएन । त्यो सम्झँदा अहिले पनि नमज्जा लाग्छ ।
पछिल्लो पटक कार्तिकमा पलान्चोकी भगवती र खाँडादेवीको एक दिने यात्रापछि सामूहिक रूपमा कतै जाने अनुकूल जुरेको थिएन । यस्तैमा, भाउजू शर्मिला मिश्रले “सन्तानेश्वरी महादेव मन्दिरमा एक हप्तापछि लाख बत्ती बाल्ने भएका छौँ, त्यो दिन बिदा मिलाउनुस् है बाबु ! सबै जना बिहानै जानुपर्छ” भन्नुभयो ।
धेरै टाढाको नभए पनि आफू पुग्न नपाएको स्थान थियो त्यो । त्यसमाथि महिनाले फागुन लागे पनि तिथिले माघ अझै बाँकी नै थियो । धार्मिक भ्रमण भनेपछि हुरुक्कै हुने मेरो मनलाई “के खोज्छस् (दृष्टिविहीन) आँखो” भने झैँ बहाना मिलिहाल्यो । झटपट जाने सहमति जनाएँ ।
२०८० फागुन ६ गते आइतबारका दिन, बिहान पौने ६ बजे श्रीमतीजी र म दाइको घर पुग्यौँ । चालक प्रकाश अधिकारी भाइ पनि तोकिएकै समय ६ बजे माइक्रो बस लिएर आइपुगे । हामी सरसामान ठीक पारेर तैयारी अवस्थामा रहेका थियौं । प्रकाश भाइको सहयोगमा सामानहरू गाडीमा लोड गर्ने काम भयो । परिवारका सबै जना सदस्यहरू जुटेपछि चालक सहित १४ जनाको हाम्रो टोली ६:२० बजे, गाैरीघाट, मित्रपार्क, गौशाला, सिनामंगल, कोटेश्वर हुँदै सातदोबाटो तिर घुइँकियो ।
बिहानको समय भएकाले सडकमा सवारीसाधनको चहलपहल कम थियो । बाटो खुल्ला देखिन्थ्यो । हल्का हावाका कारण वातावरण भने चिसिएको महसुस भयो । कुमारी गालबाट झन्डै २५ मिनेटको गुडाइपछि करिब ११ किलोमिटर दुरी पार गरेर ललितपुरको सातदोबाटोमा पुगेपछि हामी केही बेर रोकियौँ । यहाँबाट हाेमादि कार्य गराउने अर्का एकजना पुरोहितलाई पनि लैजानु थियो ।
यहाँको एकैछिनकाे बसाइमा, कानै फुट्ला जस्तो गरी बजाइएका सार्वजनिक सवारीका हर्न र चालक, सहचालक तथा ट्राफिक प्रहरीका तुच्छ बोली सुनियो । यात्रु तान्ने होडबाजीमा सवारी चालकका अस्वस्थ प्रतिस्पर्धा देखिए ।
मानिसमा सभ्यता, धैर्यता र मानवता हराउँदै गएको महसुस भयो । सार्वजनिक स्थलमा काम गर्ने सवारीकर्मी र प्रहरीको बोलीचाली र आचरण सुधार्न राम्रैसँग तालिम दिनुपर्ने आवश्यकता देखियो ।
पाँच मिनेट जतिमा गुरु आइपुग्नु भयो । उहाँलाई चढाएर हामी त्यहाँबाट अघि बढ्यौँ । हाम्रो गन्तव्य अब यहाँदेखि ६ किलोमिटरको दुरीमा थियो । बाटो कतै निकै ठूलो र कतै एकदमै साँघुरो बाटो देखिन्थे । बाटो बिस्तार हुँदा यहाँका पुराना घरहरू भत्काउन नदिएकाले यस्तो भएको रहेछ ।
ठैब, बाडेगाउँ, चापागाउँ, वज्रवाराही हुँदै केही मिनेटको यात्रा पश्चात् ७:१५ बजे, हामी गोदावरी नगरपालिका १३, झरुवारासी स्थित सन्तानेश्वर महादेवको मन्दिर रहेको स्थल कैलाश पर्वतको फेदीमा पुग्यौँ । जङ्गल नजिकै भएकाले यताको मौसम भने चिसो-चिसो नै थियो ।
लाख बत्ती बाल्ने र होम तथा रुद्राभिषेकको कार्यक्रम रहेकाले हामीले घरबाट दाउरा लगायतका थुप्रै सरसामान लगेका थियौँ । त्यसैले ढिला नगरी गएका १४ जना सबैले केही न केही सामान बोकेर उकालो चढ्न थाल्यौं । चालकभाइ भने तल गाडीमै बसे ।
करिब १०० मिटर जतिकाे उकालोमा बनाइएका फराकिला ३६६ सिँढीहरू १० मिनेटमा चढेर मन्दिर परिसरमा पुगियो । फेदीबाट सामान सहित उकालो सिँढीहरू चढ्दै जाँदा केही गाह्रो महसुस भएता पनि मन्दिर परिसरमा पुगेपछि भने, त्यहाँको भव्यता, भक्तजनको चहलपहल, गुञ्जिरहेकाे मधुर भजन र चारैतिरबाट देखिने रमणीय दृश्यले उकालो चढ्दाको थकान हराएको पत्तै भएन । पर्वतको टुप्पोमा भएकोले यहाँ पारिलाे घाम लागेको थियो ।
हामीले त्यहाँका पुजारीसँग हवन कुण्ड प्रयोग गर्ने अनुमति लियौँ । दुई जना गुरु होमका लागि रेखी हाल्ने लगायत पूजाका लागि तैयारी गर्न जुट्नु भयो । हामी पूजाका सरसामान मिलाउन थाल्यौं । मन्दिरहातामा चिया पसल रहेछ । चियापान गरेर पूजा सुरु गर्ने सल्लाह भयो । चिया पाकुन्जेल म भने मन्दिरको बारेमा जानकारी बटुल्न थालेँ ।
सन्तानेश्वर मन्दिर अवस्थित कैलाश पर्वतलाई स्कन्दपुराणको केदार खण्ड अन्तर्गतको स्वस्थानी व्रतकथाको दसौँ अध्यायमा उल्लेख भएको सतीदेवीको उपल्लो ओठ पतन भएको स्थान मानिँदो रहेछ ।
समुद्री सतहबाट १५०७ मिटर उचाइको यसै शिखरमा ज्योतिर्लिङ्ग स्वरूप श्री सन्तानेश्वर महादेव तथा माता पार्वतीको उत्पत्ति भई शिव शक्ति स्वरूपमा विराजमान हुनुभएको किंवदन्ती तथा जनविश्वास रहेको छ ।
प्यागोडा शैलीमा निर्मित यो मन्दिर २ तलाको छ । पशुपतिनाथको जस्तै चारवटा ढोकाहरू रहेको यस मन्दिरको दुवै तलामा कलात्मक टुँडाल र आँखीझ्याल बनाइएको छ । मन्दिरमा धातुपाताकाे झल्लर, नूपुर र घण्टाहरू तथा चारैढोकामा तोरण स्थापित राखिएका छन् । प्रत्येक ढोकाको दायाँ-बायाँ दुईदुई वटा आँखीझ्याल आकृतिका झ्याल राखिएको छन् ।
मन्दिरको गर्भ गृहमा कुनै शिव लिङ्ग देखिन्न । यहाँ लाम्चो र झट्ट हेर्दा ओठ आकारको ३ भागमा विभाजित प्राचीन प्रस्तर स्वरूप छ । यसै शिलामध्ये पहिलोलाई सन्तानेश्वर ज्योतिर्लिङ्ग, दोस्रोलाई पार्वती र तेस्रोलाई गणेश मानी पुजिँदै आइएको छ ।
यिनै जानकारी बटुल्दै गर्दा चिया आइपुग्यो । डढेको दूधको स्वादयुक्त चिया स्वादिलो थियो । चियापान सकेर दाजु नारायणराज मिश्र र भाउजू गुरुहरूको साथमा धार्मिक अनुष्ठानका लागि यज्ञ मण्डपमा बस्नुभयो । म भने पुनः यहाँको थप जानकारी बटुल्न तर्फ लागेँ ।
झरुवाराशी निवासी स्वर्गीय कप्तान श्री नैनसिंह खत्रीले आफ्नो सात रोपनी निजी जग्गा दान गरी गुठी स्थापना गरेपछि विक्रम संवत् १९०७ मङ्सिर १ देखि नियमित पूजाआजा हुँदै आएको मन्दिरमा रहेको ताम्र पत्रमा उल्लेख छ ।
पछिल्लो पटक २०७९ माघ १२ श्री पञ्चमीका दिन दुई तल्ले तामाको छानो सहित मन्दिरको शीर्ष भागमा त्रिशूल र डमरु सहित ठूलो १ साना ४ समेत ५ वटा गजुरहरू प्रतिस्थापन गरी निर्माण सम्पन्न भएको सन्तानेश्वर महादेवको वर्तमान मन्दिर परिसर भव्य र आकर्षक देखिन्छ ।
यहाँ, ४०० किलोग्राम को मूल घण्ट, अष्टमातृका सहित स्वस्थानी माताको कलात्मक देवल, महाकाल भैरव मन्दिर, हवनकुण्ड, नन्दी-भृङ्गी, वासुकी नाग, हनुमान, चौसट्ठी शिवलिङ्ग, बसाहा, गणेश, सरस्वती, दुर्गा, कृष्ण, विष्णु लगायतका विभिन्न देवदेवीका मूर्तिहरु स्थापित रहेका छन् । नेपाली शैलीको सत्तल बनेको छ । मन्दिर वरिपरि फलामको सुरक्षा बार लगाइएका छ । उचाइमा भए पनि पर्याप्त पानीको पर्याप्त प्रबन्ध छ । शौचालयको समुचित व्यवस्थाले भक्तजनलाई सजिलो भएको छ ।
मन्दिर अवस्थित कैलाश पर्वत १५० रोपनी क्षेत्रफलमा फैलिएको रहेछ । यहाँ विभिन्न धार्मिक वनस्पति, फल, फूल तथा जडीबुटीका बिरुवाहरू रोपिएका देखिए । शिवमहापुराण वाचन भइरहेको थियो ।
मन्दिरको सुरक्षार्थ राखिएको प्रहरी पोस्टमा कार्यरत सहायक हवलदार ऋषिराम चौधरीका अनुसार, श्रावणको सोमबार, माघ महिना, शिवरात्रि, तीज, जनै पूर्णिमा, दशैं, तिहार, बाला चतुर्दशी, अक्षय तृतीया, गुरु पूर्णिमा लगायतका चाडपर्वका दिनहरूमा भक्तजनहरूको यहाँ विशेष भीड लाग्ने रहेछ ।
मन्दिरका पुजारीले यहाँ दैनिक रुद्राभिषेक, पूजा-आरती र भजन-कीर्तन हुँदै आएको जानकारी दिनुभयो । द्वापर युगमा भगवान् श्रीकृष्णले सन्तान प्राप्तिको चाहना राखी यस स्थानमा आई शिवजीको आराधना गर्दा आफ्ना पत्नीहरूबाट सन्तान भएकोले यो मन्दिरमा पूजा आराधना तथा रुद्राभिषेक गर्नाले निःसन्तानलाई सन्तान प्राप्त हुने र मनोकाङ्क्षा पूर्ण हुने कुरा पनि उहाँले बताउनुभयो ।
यहाँ गरेको भाकल पूरा भएर सन्तानको जायजन्म भएका कतिपय घटना आफ्नै टाेलछिमेकमा समेत प्रत्यक्ष देखेको, मन्दिर परिसरमा भेटिनु भएका बाडेगाउँ निवासी जेष्ठनागरिक हरिशरण सुबेदीको अनुभव थियो ।
यसै बेला, शारदा मा.वि. तिलगंगाका पूर्वपरिचित शिक्षिका संगीता मिश्र अकस्मात् भेटिनु भयो । उहाँ शैक्षिक भ्रमणको क्रममा विद्यार्थीहरू लिएर वज्रवाराही आएको मौका छोपेर यता समेत आउनु भएको रहेछ ।
यसै क्रममा लगभग १२:३० बजे सवा लाख दीप प्रज्वलन, होम, रुद्री, जप, ज्योतिर्लिङ्ग पूजा लगायतका धार्मिक अनुष्ठान पूरा गरियो । दानदानादी, टीका-प्रसाद भयो । सबैलाई भोक लागिरहेको थियो । नैवेद्य र घरबाट लगेका सेलरोटी तथा फलफूलहरू बडो स्वादले खायौँ । अरू बाँकी आफन्त, नातेदार र इष्टमित्रहरूलाई भने प्रसाद ग्रहणका लागि घरमै निम्त्याइएको थियो ।
मन्दिरका सबै कार्य सकेर दिउँसो एक बजे हामी तल ओर्लिन थाल्यौं । आकाशमा सूर्यनारायण प्रचण्ड राप ओकल्दै थिए । ओर्लंदै गर्दा – धार्मिक, पुरातात्त्विक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण यो ठाउँको हुनुपर्ने जति प्रचारप्रसार नभएको महसुस भयो ।
परम्परागत मान्यता र किंवदन्ती चाहे जेसुकै किन नहोस्, समुचित व्यवस्थापन र आकर्षक प्याकेज सहितका पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउन सके यस स्थान, धार्मिक व्यक्ति मात्र नभई प्रकृति र पर्यटनमा रुचि राख्ने सबैको आकर्षण गन्तव्य बन्ने थियो भन्ने कुरा पनि मनमा आए ।
यिनै तर्कनाहरूलाई मनभित्र खेलाउँदै, बाटोका सवारी जाम र गर्मी झेल्दै, दिनको साँढे दुई बजे घर आइपुगेर, छोटो भएता पनि उपलब्धिमूलक एक दिने धार्मिक भ्रमणको बिट मारियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।