भतिज सचिनराज मिश्र बुहारी र छोरीका साथ फिनल्यान्डबाट बिदामा नेपाल आएको बेला थियो । यसै मेसोमा तीन दाजुभाइका परिवार मिलेर पारिवारिक पिकनिक जाने सल्लाह भयो ।

जाने त जाने तर कहाँ ?

कसैले गोदावरी सुझाए त कसैले घ्याम्पे डाँडा ।

“नजिकैको तर सकभर नगएको ठाउँमा जाऊँ न !” मैले प्रस्ताव गरेँ ।

“उसो भए नुवाकोटमा पर्ने कपिलेश्वर महादेव जाने त ?” दाजु नारायणराज मिश्रबाट सुझाव आयो ।

एक त पुर्ख्यौली थलो, उसैमाथि यसअघि पटकपटक जान चाहेर पनि अनुकूलता नमिलेको ठाउँ थियो, नुवाकोटको कवि लास र कपिलेश्वर मन्दिर । फेरि, काठमाडौँबाट करिब ४७ कि.मि. को दुरीमा भएकाले धेरै टाढा पनि थिएन । त्यसैले दाजुको सुझावलाई नकार्ने कुरै थिएन, सर्वसम्मत भयो ।

जाने दिन २०८० फागुन २६ गते शनिवारलाई तोकियो । बच्चाहरू सहित हामी १६ जना भयौँ जाने ।  पूर्वपरिचित चालक प्रकाश अधिकारी भाइलाई फोन गरेर माइक्रो बस रिजर्भ गर्ने काम भयो ।

एक दिने भ्रमणमा जाँदा हामी सामान्यतया घरबाटै खाना-पानीको व्यवस्था गरेर जान्थ्यौँ । तर यस पटक उहीँ गएर पकाएर खाने सल्लाह भयो । खाने, पकाउने सम्पूर्ण सामानको तयारी गरियो ।

फागुन २६ गते बिहान साँढे सात बजे प्रकाश भाइ आइपुगे । मौसम सफा थियो । सूर्यनारायण बिस्तारै रापिँदै थिए । हलुका हावाले वातावरणमा शीतलता प्रदान गरिरहेको थियो । लैजान तयार पारेका सामानहरू गाडीमा व्यवस्थापन गरेर हामी १२ जनाको टोली ८ बजे कुमारीगालबाट प्रस्थान गर्‍यौँ ।

गाैरीघाट पुगेर डेरीबाट अर्डर गरेको दूध, पनिर र दही लियौँ । हाम्रो गाडी उमाकुन्ड हुँदै मित्रपार्क र चाबहिलको हलुका जामलाई छिचोल्दै चक्रपथतिर बढ्यो । सुकेधारा चाेकबाट भतिजी सञ्चिता आचार्यको परिवारलाई लिनु थियो । हामी पुग्दा उनीहरू चार जना बाटोमा आएर हामीलाई कुरिरहेका रहेछन् ।

त्यहाँबाट चार जना चढेपछि हाम्रो टोली १६ जनाको भयो । ज्वाइँ डा. रमेश पराजुलीलाई काम विशेषले गर्दा आज आउन नमिलेको रहेछ । विदेशमा रहेका कारण छोरी सम्पदा मिश्र र छोरा कौशलराज मिश्र पनि छुटेका थिए । नत्र हाम्रो पूर्ण पारिवारिक टोली उन्नाइस सदस्य हुने थियो ।

हामी गन्तव्यतर्फ बढ्दै गयौँ । शनिवार भएकाले होला चक्रपथमा सवारीसाधनको चाप थिएन ।  ग्राण्डी मोडबाट सांस्कृतिक बस्ती टोखा, सपनतीर्थ हुँदै उकालो बाटोबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज एरियातिर लाग्यौँ हामी । भाडाको नम्बरप्लेट युक्त सवारीसाधन भएकाले निकुञ्जको चेकपोस्टमा माइक्रो रोकियो । प्रकाश भाइले सवारी दर्ता गराएर दस्तुर तिरे ।

बाटोका हरियाली र रमणीय प्राकृतिक दृश्य लाेभ लाग्दा थिए । शाैचादीका लागि बाटोमा केही समय रोकिनु बाहेक हामीले समय खेर फालेनौँ । त्यहाँबाट ढलानघर हुँदै छहरे पुगी, लिखु खोलाको पुल तरेर हाम्रो गाडी गन्तव्यतर्फ सोझियो ।

छहरेबाट कपिलेश्वर डाँडामा पुग्न, गाडीमा करिब २० मिनेटको उकालो चढ्नुपर्ने रहेछ । यतातिर जताततै सल्ला, कटुस र काफल रुख देखिन्थे । केही ठाउँमा लालीगुराँस फुलेका बोटहरू पनि देखिए । उकालो बाटो सामान्यतया राम्रै थियो ।

उकालो कटेपछि आउने मोडबाट कपिलेश्वरतिर जाने बाटो निर्माणको क्रममा रहेछ । डोजर चल्दै थिए । निर्माणाधीन कच्ची, ढुङ्गे बाटोमा कुहिरीमण्डल धुलोको मार खेप्दै १० मिनेट जति कछुवा गतिमा अघि बढेपछि, १०:४५ बजे मन्दिरको फेदीमा रहेको कविलास डाँडामा पुगियो । छहरेबाट उकालो लागेपछि कतै पसलहरू देखिएको थिएन । यहाँ भने एउटा सानो चियापसल रहेछ ।

हामीभन्दा अगाडि तीनवटा बसमा यात्रुहरू  पुगिसकेका देखिए । त्यहाँको ठूलो चौतारो मानिसले भरिभराउ थियो । यहाँ भीडभाड भएकाले त्यहाँका व्यवस्थापकले हामीलाई दुई मिनेट माथि रहेको सत्तलमा बस्न सुझाए । केही अघि मात्र निर्माण भएकोजस्तो लाग्ने सत्तलमा बस्ने, पकाउने, पानी, बत्ती र शौचालयको उचित व्यवस्था रहेछ । त्यसैले, सात सय दस्तुर महँगो लागेन । हामीले सत्तलमा आसन जमायौँ ।

वरिपरि जङ्गल भएकाले हावा चलिरहने रहेछ यहाँ । प्रचण्ड गर्मीमा चिसो हावाले राहत प्रदान गरिरहेको थियो । पूर्वतर्फ सूर्य कुण्डबाट बग्दै आएको तादी नदी देखिन्थ्यो । तादी पारिपट्टि मिस्रहरूको पुर्ख्यौली स्थल नर्जाकविलास डाँडा देखियो । पितृ-पुर्खाहरू स्मरणमा आए । मन भावुक बन्यो ।

सबैलाई भोक लागेकोले नास्ता तयारीमा जुटियो । कोही चिया, चना पकाउन थाले । कोही पाउरोटीमा जाम-बटर दल्न थाले । कोही नास्ता भाग लगाउन थाले । बच्चाहरू बाहिर खुल्ला ठाउँमा रमाइलो मानी दौडिरहेका थिए । साँढे एघार बजे हामीले नास्ता गर्‍यौँ । परिवारका सबै सदस्यहरू एकैसाथ बसेर गरिएको मध्याह्नको नास्ता, भोकले गर्दा कम्ती मीठो लागेन ।

नास्ता पछि मन्दिर दर्शनका लागि जानु थियो । यहाँबाट झन्डै आधा घण्टा पैदल उकालो चढ्नु पर्ने रहेछ मन्दिर पुग्न । खाना पकाउने तरखरमा लाग्नुपर्ने भएकोले पालैपालो मन्दिर जाने सल्लाह भयो । म, भतिज यमनराज मिश्र, ज्वाइँ प्रभात आचार्य तथा नातीद्वय सार्थक आचार्य र सक्षम पराजुली अपराह्न ११:५५ मा मन्दिरतर्फ लाग्यौँ ।

बाटोका सिँढीहरू राम्रो र व्यवस्थित थिए । उकालो सिँढी चढ्दै गर्दा बाटोमा भेटिएका स्थानीयसँग गफिँदै, म त्यहाँको बारेमा बुझ्न थाले । प्राय: मानिसहरू आइरहने यहाँ आज बसहरू कम आएको उहाँले बताउनु भयो । अघिल्लो हप्ताको शनिवार त १२-१३ वटा बस आएको रहेछ । बाटोमा स्थानीय उत्पादन बेसार बेच्न राखेको देखिन्थ्यो ।

सिँढी सकिए पछिकाे माथिल्लो केही भाग कच्ची थियो । पश्चिमतर्फबाट मन्दिर उक्लन ठाडै सिँढीहरू चढ्नुपर्न रहेछ । तलबाट हिँडेको २५-३० मिनेटमा हामीले डाँडाको टुप्पोमा अवस्थित कपिलेश्वर महादेवको भव्य र आकर्षक मन्दिर परिसरमा पाइला टेक्याैं ।

समुन्द्री सतहबाट ४५०० फिट उचाइमा पर्ने कपिलेश्वर महादेव परिसर, लिखु र तादी नदीको बीचमा पूर्व पश्चिम भै उठेको कवि लास नामको पहाडको टुप्पामा रहेको छ । यो नुवाकोटको प्रसिद्ध तथा महत्त्वपूर्ण देवस्थल हो ।

यस देवस्थलको स्थापना मल्ल कालकाे मध्यतिर भएको कुरा महादेवको मन्दिर भित्र रहेको शिलापत्रमा उल्लेख भएको पाइन्छ । शिवलिङ्गमा कुँदिएका शिवको चतुर्मुख पनि मध्यकालतिरकै शिला मूर्तिहरूसँग मिल्दो देखिन्छ । अहिले कपिलेश्वर भनिने यस मन्दिरलाई पहिला कैलाशेश्वरकाे नामले चिनिने रहेछ । कैलाशेश्वरकै नामबाट अपभ्रंश हुँदै कवि लास नामकरण भएको स्थानीयको भनाइ छ ।

विष्णु भगवान्को २४ मध्ये ५ ओैं अवतार समेत मानिने कपिलमुनिद्वारा स्थापित, चारै ढोकाबाट दर्शन र भित्र गएर पूजा गर्न सकिने, उर्ध्वमुख सहितको चतुर्मुखी शिवलिङ्ग भएको यस मन्दिरलाई कपिलेश्वर पशुपतिनाथ पनि भनिने रहेछ ।

यस मन्दिरमा नित्य पूजा तथा आरती हुँदा दमाहा मात्र बजाइने प्रचलन छ । यहाँ रक्षा विनायक, पाताल देवी, सिद्धि विनायक, सरस्वती, नाट्येश्वर, महालक्ष्मी लगायत देवदेवीका मुर्तिहरू रहेका छन् भने, नजिकै धर्मगुफा र चमेरो गुफा समेत रहेको छ ।

सबै सिजनमा भक्तजनहरू आउने भएता पनि, हरितालिका तीज, बाला चतुर्दशी, श्री पञ्चमी, महाशिवरात्रि, फागु पूर्णिमा, चैते दशैं, विजया दशमी, नववर्ष, साउनको सोमबार र माघ महिनामा यहाँ विशेष भिडभाड हुने रहेछ ।

मन्दिरका पुजारी शिवराम थापाका अनुसार “दक्ष प्रजापति पुत्री सतीदेवीले यज्ञ मण्डपमा फाल हालेकाे स्थान हो रे यो !” सानो स्थान भएकाले उहाँले बताएको यो किम्बदन्ती भने  अविश्वसनीय झैँ लाग्छ !

मन्दिरको तल खोपामा रहेको नाट्येश्वरीलाई काठमाडौँका नेवार समुदायले कुलदेवी समेत मान्दा रहेछन् । नेवारी समुदायको सङ्गीत, धिमेबाजा, झ्याली लगायतका बाजाहरू र नृत्य सिक्ने सिकाउने क्रममा यहाँ पूजाआजा र बलि दिन अनिवार्य आउनुपर्ने परम्परागत चलन रहेछ ।

महादेवलाई नृत्यनाथ, नाट्येश्वर र भैरवनाथ समेत मानिने र सङ्गीतमा गुन्जिने स्वर शून्य आकाशमा गुन्जेर ब्रह्माण्डमा व्याप्त हुने भएकोले, यसैको प्रतीकको रूपमा तिन वटा प्वाल मात्र राखेर मूर्ति रहित नाट्येश्वरको पूजा गर्ने चलन रहेको पुजारीको भनाइ थियो । मैले यहाँको थप जानकारीका लागि  पुजारीसँग कपिलेश्वर संरक्षण समितिद्वारा प्रकाशित पुस्तिका खरिद गरेँ ।

यिनै जानकारी बटुलेर, मन्दिर दर्शन पश्चात् हामी फर्कियौँ । ओर्लंदा १५ मिनेट मात्रै लाग्यो । खाना पाकिसकेकाे रहेछ । हामी आएपछि, अर्को टोली मन्दिर प्रस्थान गर्‍यो ।

माथि गएको टोली फर्कन समय लाग्ने भएकोले म यताउता अवलोकन गर्न थालें । हामीभन्दा अघि आएको टोली चौतारीमा बसेर खाना खाँदै थियो । उनीहरू नाट्येश्वरीमा पूजा गर्न काठमाडौँबाट आएका नेवारी समुदायका सङ्गीत टोली रहेछन् ।

प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल भए पनि यतातिर खासै बाक्लो बस्ती देखिएन । केही दुरीमा घरहरू देखिन्थे । होटेल, पसल लगायतको अभाव देख्दा यस क्षेत्रमा पर्यटक भित्र्याउन सम्बन्धित निकायले विशेष चासो दिए झैं लागेन । हुन त, हामीजस्ता एक दिन घुम्न आउनेका लागि रमाइलो लाग्ने स्थानमा सधैँ  बस्नेका पीडा बेग्लै होलान् । समुचित विकास नहुनुमा पनि आर्थिक, सामाजिक धेरै कारण हुन सक्छ, तर पहल र प्रयास भने हुनै पर्छ भन्ने लाग्यो ।

वरिपरि रहेका दुप्चेश्वर, कपिलेश्वर जस्ता प्रसिद्ध धार्मिक स्थलहरूलाई समेटेर, खाने-बस्ने सुविधा सहितको एक-दुई दिने प्याकेज बनाउन सके  यस ठाउँमा पर्यटन प्रवर्द्धन गर्न सकिने प्रचुर सम्भावना देखिन्छ । त्यसका लागि पर्यटक मैत्री संरचनाहरू बन्नुका साथै प्रचारप्रसार समेतको आवश्यकता पर्छ । यहाँ त्यही कुराको कमी भएको महसुस भयो ।

मन्दिर गएको टोली सवा एक घण्टापछि फर्किएपछि हामी खाना खाने तरखरमा जुट्यौँ । स्पिकरमा गीत बजिरहेको थियो । खानापछि केही बेर विश्राम गरेर, नाचगान चल्यो । यस क्रममा आउन छुटेका पारिवारिक सदस्यहरू सम्झनामा आए । सबैलाई खल्लोपन महसुस भयो ।

दिन ढल्कँदै थियो । फर्कने बेला भएकोले ग्याँस सिलिन्डर, चुलो, भाँडाकुँडा, ओच्छाउने लगायतका सरसामानहरू गाडीमा हाल्यौँ । सत्तलको दस्तुर बुझायौँ । सामूहिक तस्बिर खिच्ने काम भयो । हामीले घर फिर्ती सुरु गर्दा दिनको ४:४० बजिसकेको थियो ।

उही १० मिनेट कच्ची ढुङ्गे बाटो र २० मिनेटको ओरालो पार गरेर, आधा घण्टामा छहरे पुगियो । बाटोमा सवारी चाप नभएकोले गाडी हुइँकिँदै थियो । हामी भने आआफ्नै तालमा गफ गरिरहेका थियौँ ।

“फर्कंदा बाटोमा चिया खाने भन्नुभएको हैन दाइ ! बिहान ल्याएको दूध बाँकी नै छ क्यारे, यसो कतै बसेर आफैँ पकाएर खाँदा कसो होला ?” प्रकाश भाइले सम्झाए ।

“ठीक कुरा हो, ल कतै खुल्ला चौर वा बस्न मिल्ने ठाउँमा रोक्नुस् है भाइ” मैले समर्थन जनाउँदै भनें ।

साँझ ५:५० मा गुर्जु भञ्ज्याङ्काे गेरुवाटारस्थित चौरमा माइक्रो बस रोकियो । मौसममा चिसोपना बढ्दै थियो । चियापान सकेर ६:३० मा हाम्रो फिर्ती यात्रा पुनः जारी रह्यो । बिहान गएकै बाटोलाई पछ्याउँदै हामी फर्कियौँ । सुकेधारामा सञ्चिताहरूलाई छोडेर घर आइपुग्दा रातिको ८ बज्दै थियो ।