मित्र ‘उराठी’ गौतम

गाउँको पल्लो छेउमा सानो सुन्तलीको गोठ थियो ।
उसका उदास आँखा भित्र वेदनाको बोट थियो ।

खुल्दुली भो कुरा बुझ्ने नजिक गई सोधी हेरेँ ।
खाटा बस्न नसकेको मनमा उसको चोट थियो ।

मुखिया र गाउँले मिली सन्ते सँग दिलाइदिए ।
विवाह पूर्व पेट बोकी यही उसको खोट थियो ।

साँझ ढल्न खोज्दै थियो मेरो त्यही बाटो पर्यो ।
किला माथि झुण्डिएको मुखियाको कोट थियो ।

सधै भरि रित्तो हुने सुन्तलीको थैली भित्र
आज भने नयाँ नयाँ सयको एउटा नोट थियो ।

अमरपुर –गुल्मी, हालःतिलोत्तमा २, रुपन्देही