“खत्तमै भयो नि । यस्तो तालले कहिले उँभो लाग्ने हो ?” दिनभरको गर्मीबाट राहत पाउन साँझ चौतारोमा भेला भई रेडियोमा समाचार सुन्दै गरेका ज्येष्ठ नागरिकहरूको बिचबाट एक जनाले निराश भाव सहित आक्रोश व्यक्त गरे ।

“देश त हरिकङ्गाल नै बनाए । यिनैका कारण युवा जति बिदेसिए । गाउँका खेतबारी सबै बाँझिए । देशमा उत्पादन केही छैन । जम्मै चिज विदेशबाट खरिदनु पर्ने । यता वनमा काठ कुहेका छन् उता विदेशबाट आयात हुन्छ । पहिले हामी सानो छँदा कोरियामा समेत नेपालले चामल बेच्ने गर्थ्यो भन्थे । अहिले त छ छ महिनामा सरकार फेरिन्छ । स्थिरता नै छैन अनि कहाँबाट हुन्छ विकास ?” उनको कुरामा सही थाप्दै अर्कोले कुरा थपे ।

समकालीन समाज र देशको स्थिति बारे व्यापक मन्थन गरिरहेका थिए बुढाहरू ।

यत्तिकैमा साइकल चलाउँदै एउटा ठिटो आइपुग्यो । ऊ पनि पिपलको छहारीमा सुस्ताउँदै बुढाहरूको कुरा खुब ध्यान लगाएर सुन्दै थियो ।

उनीहरूको कुरा सुनेपछि नबोली बस्न उसको चित्तले दिएन ।

“लामो समय एउटै सरकार रह्यो भने पनि देशको ढुकुटी धमिराले जस्तै भुर्कुट पार्ने रहेछ । स्थिरताको नाममा मनोमानी, झनै ब्रम्हलुट । बरु छिटोछिटो फेरिँदा कुम्ल्याउने मौका कमै मिल्छ । सेटिङ मिलाउँदा मिलाउँदै सरकार भत्कन्छ, खेला खत्तम । बहुमतको सरकार हुँदा पनि के नै लछारपाटो लगाएका हुन् र ? आफै अस्थिरता निम्ताउँछन् । बुढेसकालमा धेरै चिन्ता नलिनोस् । बेकारमा रक्तचाप बढ्छ ।” ठिटाका कुराले बुढाहरूको ध्यान तान्यो ।

“हामीले लगाउने कट्टु छिटोछिटो फेरिएन भने दाद, लुतो आएर हैरान पारे झैँ यो देशमा त स्थिर सरकार भए पनि काण्डै काण्ड मच्चाउने र देश खोक्रो पार्नमै उद्यत भएको देखियो । त्यसैले कट्टु र सरकार फेरिरहनु पर्ने रहेछ ।” भन्दै ठिटो साइकलमा सुइँकुच्चा ठोक्यो ।