गुच्छा,डण्डी‑बियो सँगै खेलेको हो
चोट उसलाई लाग्दा मलाई दुखेको हो
ऊ भोको हुँदा मैले भुटेको मकै दिएकै हो
मेरो कट्टु च्यातिँदा सिलाउने ऊ नै हो
घाँस काट्न रुख चढ्दा टेको दिने म नै हो
मबिना ऊ अपूरो थियो
ऊबिना म पूरा थिइनँ
उसको उमेर बढ्दै जाँदा
म पनि सानो रहिनँ
ऊ विद्रोह गरेर शहर पस्दा
म आफ्नो गोजी रित्तो बनाएर
उसको गोजी भरेकै हो
ऊ हात हल्लाउँदै शहर पस्यो
म भारी मन बनाउँदै घर फर्के
सुन्छु अचेल ऊ ठूलो महलमा बस्छ रे
हाम्रै गाउँबस्तीको लागि योजना बनाउँछ रे
म खुसी भएँ,साथी ठूलो मान्छे भएकोमा
अब गाउँबेसी पनि शहर बन्ने भयो
मेरो मनमा सुन्दर बस्तीको कल्पना आयो
गाउँभरि उसकै चर्चा गरेँ
उसकै वर्णन गरेँ
मेरो मन मस्तिष्कमा ऊ नै छायो
भोलिपल्ट बिहानै समाचार आयो
उसको चर्चा देशभरि छायो
मेरो मनमा डढेलो लाग्यो
उसको हातमा हत्कडी
न हाम्रो गाउँबेसी खुसी भयो
न म दुःखी भएँ
एउटै कुरा मनमा आयो
माफ गर साथी केही गर्न सक्दिनँ
म तिम्रो राम्रो कार्यको समर्थक हुँ
तर
म तिम्रो अपराध बाँडेर
साथी बन्दै साथ दिन सक्दिनँ।

तानसेन, पाल्पा