हाम्रो देशमा एउटा सरकार छ
सरकारलाई अप्ठ्यारो पर्दा सडकभरि
भिडभाड हुन्छ
भिडभाडलाई अप्ठारो पर्दा
सरकार बोल्दै बोल्दैन
हाम्रो देशमा एउटा सरकार छ
विदेश नजा भन्छ
नीति चाहिँ विदेशै जा भन्ने बनाउँछ
विमानस्थलको भीड देख्दा
सरकार बोल्दै बोल्दैन
हाम्रो देशमा एउटा सरकार छ
हुण्डी नगर विदेशबाट भनेर कराउँछ
विदेशबाट आउने रेमिटेन्स सबै खान्छ
विदेशीलाई केही समस्या पर्दा
सरकार बोल्दै बोल्दैन
हाम्रो देशमा एउटा सरकार छ
चुनावमा घर आऊ परदेशी भन्छ
भोट मलाई देऊ भनेर रुन्छ कराउँछ
चुनाव जितेपछि समस्या पर्दा
सरकार बोल्दै बोल्दैन
हाम्रो देशमा एउटा सरकार छ
सरकार ! सरकार बदल्न पर्यो भन्दा
बेस्सरी कराउँछ
छिमेकीले सिमाना किन मिच्यो भन्दा
सरकार बोल्दै बोल्दैन
हाम्रो देशमा एउटा सरकार छ
भएका कलकारखाना बेच्छ, बन्द गराउँछ
किन बेचिस् भन्दा उल्टै थर्काउँछ
छिमेकीले आएर कलकारखाना खोल्यो भने
सरकार बोल्दै बोल्दैन
हाम्रो देशमा एउटा सरकार छ
शङ्का गर्यो भने
देशमा आतङ्क मचाउँछ
छिमेकीले जे गरेपनि सहन्छ
सरकार बोल्दै बोल्दैन
हाम्रो देशमा एउटा सरकार छ
देश भित्रजति चिच्याई रहे पनि
ढल्दै ढल्दैन
अचानक ढल्छ ! कसरी ढल्यो अचम्म लाग्छ
प्रश्न गर्यो भने
सरकार बोल्दै बोल्दैन ।
तानसेन,पाल्पा
हाल:कुवेत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।