रातको अन्धकार चिर्दै
निर्धक्क आकाशमा
एक्लै रमाउने ए ! जून
तँ किन पोखिएको यहाँ पनि ?
यो त अछुतको गाउँ हो
यो त अछुतको ठाउँ हो
बर्षाैदेखि दलाइएर बनाइएका
दलितहरूको बस्ती हो ।
तँ त छुतकै गाउँमा मात्र पोखिनु पर्ने
छुतकै निदारमा मात्र ठोकिनु पर्ने
टालिदिएका छौं लाजहरू
जुराइदिएका छौ गाँस, बास
आफैँ रित्तिएर छोपिदिएका छौं
तिनका सबै कुरूपताहरू
कतै सियोले सिएर
कतै हलोले जोतेर
कतै अर्चापेर हतियाहरू
कतै धूरी टालेर
कतै इनार खनेर
कतै मूर्ती खोपेर
बनाइदिएका छौँ मन्दिरहरू
आफू अन्धकारमा बसेर
त्यसैले सधैं तिनीहरूकै छन् चम्किला आँखा
हाम्रो बस्तीमा आउनु अघि
तँ त उतै रोकिनु पर्ने ए ! जून
सिकाएनन् कि तँलाई विभेदको पाठ
घोकाएनन् कि विभेदी नियम
अथवा देखाएनन् कि विभेदी बाटो ?
तेरो निर्वाध आगमनलाई
कोही भएनन् छेकबार हाल्ने ?
उन्मुक्त चमक लिएर
एकनासले चम्किरहँदा ?
हतारमा सधैँ पूर्वबाट पश्चिम लम्किरहँदा
तँसङ्गै चम्कने रहर थिए
सँङ्गै लम्किरहने रहर थिए
गिज्याए झँै हाम्रो कुरूपता हेर्दै तँ चम्किरहँदा
बुझेनस् कि हाम्रो बाध्यता
तर पनि सधैँ मौन किन ?
तेरो उज्यालोले
तिरमिराएनन् हाम्रा आँखाहरू
बरू जगाए आशाका दीपहरू
हाम्रो बस्तीमा समाजले निचोरेर
मारेका मान्छेभित्र पलाएर मान्छे
बलजवस्ती हाँस्न खोज्छ
बलजवस्ती बास्न खोज्छ
तर निमोठ्न खोज्छन् आँकुराहरू
बाहिर सुन्दर देखिने
मान्छे मरेका मान्छेहरू ।
ए ! जून तँ हाम्रै बस्तीमा
जति चम्किए पनि
आकाशमा एक्लै जति गम्किए पनि
छाएन कहिल्यै हाम्रो बस्तीमा शीतलता
छाएन कहिल्यै हाम्रो बस्तीमा शान्ति
दलहनमा पेलिएर निस्किएकाहरू
नजन्मदै अछुतका कित्तामा
मोलिएर निस्किएकाहरूका
आँखा फोरिएकाछन् यहाँ
ठेडीहरू कोचिएकाछन् नाक, कानमा
बाध्यताका अघोषित नियम
अदृष्य कानुन थुपरिएका छन् टाउकाभरि
जूनको चमकमा रमाउन
गरिएको छ अघोषित निषेध
निगाहामा सधैं तौलिएर
अनि निगरानीमा नापेर
साइनु गास्नु पर्छ यहाँ ए ! जून
माया प्रीति लगाउन तँसङ्ग पनि
थाहा पाए भने विस्ट, काजी र साहेबहरूले
बनाउने छन् तँलाई पनि अछुत
खेदो खन्नेछन् हाम्रो जस्तै तेरो पनि ।
सधै मौन बस्ने ए ! जून
हाम्रो बस्तीमा आउँदा तँ यसरी नै
बल्छन् सन्तोषका दीपहरू
जुरमुराउँछन् चेतनाका लहरहरू
तर आँट गर्नैपर्छ तैंले पनि
क्रमभङ्ग गर्ने
निरन्तरको यो मौनता ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

