
रमेश भण्डारी
मानिस, सास फेर्छ सजीव
ढुङ्गा, सास फेर्दैन निर्जिव!
पढ्दा-पढ्दै
ऊ रोकियो!
सोध्यो प्रश्न एउटा अजीव,
“दादा, दादा
पूजा कोठाको भगवान्
सजीव कि निर्जिव??”
ऊ सोधिरह्यो
म सोचिरहेँ,
ऊ खोजिरह्यो
म सम्झिरहे
उसको उत्तर थियो मसँग
धैर्य गर्ने समय थिएन ऊसँग !
सत्र वर्ष पहिले
मैले त्यही पढें
रटिरहेछ मेरो भाइ
त्यही अहिले!
सत्तरी वर्षपछि यही पढ्ने छ्न्
मेरा सन्ततीले !
बुबा मलाई सधैं भन्नुहुन्थ्यो,
“हामी गोर्खालीका सन्तान हौं रे!
खुकुरीकै भरमा कुदृष्टि लगाउनेलाई
सातौं कोश पर ढक्लयौं रे!”
मैले नेपालमा पढें,
भाइ विवादित मानिएको जमीनमा!
कतै सन्तति पुग्ने हुन् कि अर्कैको दलिनमा??
गोर्खाली हाम्रा हुन् पुर्खा
लगाई हामीलाई कालो बुर्का!
छिमेकी सार्छ दशगजाका स्तम्भ
सिमानाका हामी हुन्छौं स्तब्ध!
हाम्रै करले रमेको काठमाडौंको
सरकार हुन्छ नि:शब्द !!
मैले सामाजिकको परीक्षामा
बनाएँ सधैं नक्सा
तर
भेटिन आफैंलाई!
अहिले नक्सा परिवर्तन भएको छ
भाइले पक्कै भेट्ने छ
हाम्रो कालापानीलाई!!
नयाँ नेपालको परिकल्पना
गरेका आँखाले बाँकी छ नयाँ स्वरुप हेर्न!
अब भने जरुरी छ,
“नेपालको नक्सा बनाई
लिपुलेक कहाँ पर्छ देखाउनुहोस्?”
भनी सामाजिकको प्रश्न फेर्न!!
कसले भन्छ भगवानलाई निर्जिव?
कसले भन्छ दिनरात सुरक्षार्थ
खटिएका सिमानाका स्तम्भलाई निर्जिव?
कसले भन्छ देशप्रेमलाई निर्जिव?
कसले भन्छ हाम्रो स्वाभिमानलाई निर्जिव?
देशको निम्ति रगत बगाउन
कसले मान्ला खै अजीव!!
बुद्ध नेपालका थिए कान्ति
अनुशरण गर्छौं हामी बुद्धको शान्ति!
देशको रक्षाको निम्ति
गर्न सक्छौं छिमेकीसँग क्रान्ति!
हामी कमजोर छौँ भन्ने
नराखे हुन्छ भ्रान्ति!!
हिजो पनि हाम्रै थियो
आज पनि हाम्रै हो!
रहिरहनेछ सधैँ हाम्रै
कालापानी, लिपुलेक, लिम्पियाधुरा!
हाम्रो जमीनमा आँखा गाड्नेमाथि
पछि हटिदैन रोप्नलाई छुरा!!
समय फेरियो
परिवेश फेरियो
समाज फेरियो
नक्सा फेरियो
अब केही पैसाको लालचमा
राष्ट्रियता नफेरियोस्!
सत्ता र शक्तिको दुरुपयोग गरी
स्वाभिमान नबेचियोस्!
गौरीगंगा नगरपालिका, कैलाली



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

