युगौ अजर अमर हुने चन्द्र सूर्य रोजेँ
नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ ।

आफ्नो भन्नु आफ्नै हुन्छ पाखो होस् या भीर
साग सिस्नु जे खाए नि झुक्दैन यो शीर ।
अभिमान गर्दिनँ म स्वाभिमान रोजेँ
नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ ।

पोहोर साल सिमानाको जंगे पिलर ढाल्यो
यसपाली त घरबारीको टहरो नै फाल्यो ।
आफ्नै बाटो, आफ्नै माटो, आफ्नै पाटो रोजेँ
नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ ।

छिमेकीलाई मान गर्दा शान बढी गरेँ
आफ्नो हक छोड्दिनँ म मर्छु मर्नु परे ।
लिम्पियाधूराबाट बग्ने काली रोजेँ
नेपाली हुँ नेपालको आफ्नै माटो खोजेँ ।

युगौ अजर अमर हुने चन्द्र सूर्य रोजेँ
नेपाली हुँ नेपालको आफनै माटो खोजेँ ।