© गणेश खड्का

गणेश खड्का

दसैँ ऊबेला
दस गाउँ थर्काएर आउँथ्यो
बाटाघाटा र घरगाउँ सिंगारेर आउँथ्यो
बेहुली बन्थे बस्तीहरू
दसैँमा घर आउन पाउने-नपाउने
परदेशीको निधो
बर्खा नलाग्दै थाहा हुन्थ्यो
दसैँ त्योबेला खुलेर आउँथ्यो
दसैँ योबेला लुकेर आउँछ ।

दसैँ वर्षदिनपछि एकफेर छेउमै आउँछ
र, भोका पेटहरूलाई हाउगुजी देखाएर
नाङ्गा आङहरूलाई काउकुती लाएर
संस्कृतिको उधारो तमसुक गरिदिन्छ
अनि, सुइकुच्चा ठोक्छ एक वर्षको बाटोमा ।

दसैँका पूर्वसन्ध्याहरू
कहिले भुइँचालोले खर्लप्पै खाइदिन्छ
कहिले बाढीपहिरोले सर्लक्कै निलिदिन्छ
तब, धड्किन्छन् निर्धा मुटुहरू
अधिकतम रेक्टरस्केलभन्दा अधिक
घर लिपपोत गर्ने र बाटाघाटा सिंगार्ने उमङ्गहरू
दसैँ आउनुपूर्व नै शोकाकुल बन्छन्
भवितव्यमा दिवंगत आफन्त मनहरूको क्षतिमा ।

दसैँ, पहिले सार्वजनिक थियो
दसैँ, अहिले एकान्तबासमा छ
पहिलोचोटि पर सरेकी
छाउपडी युवतीजस्तो
कोही नजानू दसैँको छेउमा
दसैँलाई कोरोना लागेकोछ
दसैँ क्वारेन्टिनमा छ ।

यसपालि दसैँ किन्न
हाटबजार नधाउनू
मिठो खाना र नयाँ नाना लिन
सुपरमार्केट नजानू
परदेशीको सन्देश पनि परैबाट पढ्नू
पाहुनालाई दुर्गा भवानीको कथा होइन
डब्लुएचओको हेल्थ नोटिस सुनाउनू ।

समय यतिबेला
आफ्नो हत्या आफैँ गरेर
आफ्नो क्रियापुत्री पनि
आफैँ बसेकोछ
मान्छे आफ्नो युद्ध शिकारको
बरखी आफैँ बार्दैछ
क्रुर समयको कैदी बनेर दशैं पनि

कठोर क्वारेन्टिनमा बसेको बेला
मान्न त मान्नु
परम्पराको पहाड दसैँ
तर खसीले होइन, खुसीले
रहर होइन, यो कहर दसैँ ।

***
इटहरी ४ सुनसरी, नेपाल
हाल : फ्रिगेट आइल्याण्ड, सेसेल्स