विष्णुप्रसाद आचार्य “अतृप्त”
शरदको सेतो हुस्सुले सायद
दुर्गा भवानीको स्वप्न बगैंचाबाट ल्याएर
मेरै मझेरीमा छाडेर जान्थ्यो दसैँलाई ।
दसैँ मेरो घरमा
खुशी भएर पस्थ्यो
कमेरो भएर चारैतिर भित्तामा बस्थ्यो
रातोमाटोले सिनित्त पोतिएको पिँढीमा बसेर
खसीको कानसँग चिउरा टोक्थ्यो
बाले बोकेर ल्याउनु भएको एक पोका लुगा
मेरो भागमा पर्ने आकाशे नीलो रङको बुसर्ट
दमाइ दाइले आँगनमा बसेर घुमाउने कलको स्टेरिङ
नयाँ कपडामा पुतलीजस्तै फुर्फुर गर्ने चन्चल मन
आहा!
बाल्यकालीन दसैँ आँखामा चलचित्रझैँ नाचिरहेछ।
हरिया टारका फाँटिला बारीहरू
बारीभन्दा अझै फाँटिला मान्यजनका आशीर्वचन
पहेँलपुर फुलेको आलस
भर्खरै कृषि क्रान्ति सम्पन्न गरी
इन्क्लाब मनाइरहेझैँ कोदाका बालाहरू
तादीको बगर ढाक्ने गरी फुलेका
बाको कपालजस्तै सेता काँस
कोर्न नभ्याएर असरल्ल छरिएका
बहिनीको केशजस्तै बदामका लहरा
अकलादेवीको नित्य दर्शन गरेर
मेरै लट्टाइमा फिरिरहने चरातुल्य चङ्गाहरू
जोगेको घाँस खादै
मृत्यु उघ्राइरहने लमकन्ना खसी
बादल निचोरेर बर्सात खसाउँलाझैँ गरी
क्षितिजतिर बेगिइरहने लिङ्गे पिङ
आहा !
बाल्यकालीन दसैँ नसामा सम्झना भएर बगिरहेको छ ।
पीपलको छहारीमुनि खेलिने जुदपत्ती
लङगुर बुर्जाको कर्ल्याङकर्ल्याङ आवाज
आयु द्रोणं सुतेको मन्त्रोचारण
राता अक्षता र पहेँलो जमराको षोडशी शृङगार
लर्कन लागेर मामाघर जाने हतारो
न घाँस दाउरा गर्नुपर्ने
न त बाख्रा हेर्नुपर्ने
कर्मचारीहरूको शनिबारजस्तो मनमोजी
कति निस्फिक्री थियो दसैँ
आहा !
बाल्यकालीन दसैँ मुटुमा धड्कन भएर उफ्रिरहेको छ ।
नुवाकोट
हालः तारकेश्वर न.पा.२, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।