स्थान :
(एउटा विशाल भवनको भव्य कोठा तर जीर्ण र चर्किएका भित्ता ।)

समय :
( मध्यरातको आसपास )

दृश्य / वातावरण :

(नेपथ्यमा रात्रि किटपतङ कराएको आवाजसँगै मञ्चको पर्दा उघ्रिन्छ । अँध्यारो मञ्चको पछिल्लो भागमा नीलो प्रकाशको गोलाकार किरण बिस्तारै प्रसारित हुन्छ, जहाँ एउटा अग्लो बैठक निर्माण गरिएको छ । त्यसको बीचमा एउटा भव्य घुम्ने कुर्सी छ र त्यो कुर्सीमा एक जना मोटो, खाइलाग्दो, भुँडे मान्छे- खम्बसिंह गजधम्म परेर कुनै गम्भीर सोचमा डुबेजस्तो गरेर अगाडिको टेबलमा खुट्टा तेर्साएर बसेको छ ।

पृष्ठभूमिमा नेपालको विशाल नक्शा अनि छेउमा नेपालको राष्ट्रिय झण्डा पनि देखिन्छ । त्यो अग्लो खण्डदेखि ठीक तल दायाँबायाँ अरु ५-६ जना उस्तै मोटाघाटा पुरुष तथा महिलाहरुको आकृति हातमा इँटा, ढुङ्गा, लट्ठी, भाला, चुप्पी, टायर…आदि बोकेर आक्रोशित मुद्रामा उभिएका छन् । त्यहाँ छरिएको मधुरो प्रकाशका कारण उनीहरुलाई धुमिल आकृतिमा मात्र देख्न सकिन्छ । उनीहरुको पहिरन नेपालका विभिन्न भूभागमा रहने सम्प्रदायको आ-आफ्नै भेषभूषामा फरक-फरक छ । यत्तिकैमा खम्बसिंह आसित बैठक काम्न थाल्दछ । ऊ बसेको कुर्सी हल्लिन्छ । बाहिर अस्पष्ट रुपमा मानव चित्कारको आवाज सुनिन्छ । खम्बसिंह कुर्सीबाट हठात् उफ्रिन्छ, एकछिन ठिङ्ग उभिएर बाहिर आवाज आएको इलाकातर्फ ध्यान आकृष्ट पार्छ । फेरि भयभीत हाउभाउले चारैतिर हेर्छ र एक्लै फतफताउन थाल्छ ।)

मोटे : (मञ्चको अग्रभाग तथा कुर्सीको वरिपरि हेरेर हतोत्साही भाव प्रस्तुत गर्दछ) होइन, के हुँदैछ यहाँ…? यो पृथ्वी किन हल्लिंदैछ यसरी ? यो कुर्सी, यो बैठक, यो जमिन, यो भित्तो, यो महल….सबै-सबै….! किन थरथरी कामेका हुन् यिनीहरु…? झन् यो मुटु…..! लौ न के हुन लाग्यो यहाँ…? (दर्शकदीर्घातिर हेर्दै ) के भुइँचालो गएको हो अहिले भरखरै ? उफ्….कोहि बोल्दैनन् । कसैले थाहा पाएनन्, सबै-सबै निदाएछन् । सायद पराकम्पन हुनुपर्दछ यो । (फेरि चारैतर्फ नियालेर हेर्छ, छाती छाम्छ, पसिना पुछ्दै) साह्रै डरमर्दो ठाउँमा बसिएछ बस्न पनि । कुन दिन यो महल नै गर्ल्यामगुर्लुम ढल्ने हो अनि उठ्ला मेरो पनि चोला । भुइँचालो भन्दा अधिकतम रेक्टर स्केलमा हल्लिन्छ मुटु । र पनि, यो ठाउँ छोड्नै मन लाग्दैन । के भा’को भा’को ….! कस्तो मोह होला यो….?

(पुन: कुर्सीमा गएर थचक्क बस्छ र झोक्राएझैँ गर्दछ । एकछिन सन्नाटा…। )

यसैबीच मिनीस्कर्ट र पारदर्शी पहिरनमा ठाँटिएका दुई जना नौजवान युवतीहरु– रुपवती र कामवती हातमा चौरासी व्यन्जन परिकार सहितको ट्रे र मदिराका बोतल अनि गिलास लिएर प्रवेश गर्दछन् । उनीहरु सिधै त्यो कुर्सीमा विराजमान मोटे व्यक्ति खम्बसिंहको आसनअगाडि जान्छन् र सम्पूर्ण खाद्य / पेय पदार्थ टेबलमा राखिदिँदै केही भन्छन् पालैपालो । प्रकाश नीलोबाट चम्किलो/उज्यालोमा परिणत हुन्छ । युवतीहरुको आगमनले खम्बसिंह झस्किन्छ) – भुइँचालो…थाहा पायौ …???

रुपवती : (खाद्य पदार्थको ट्रे टेबलमा राख्दै केही व्यंग्यात्मक शैलीमा) यी हजुर …! यो बँदेलको सेकुवा, कालिजको पक्कु, लोकल कुखुराको सुप, खसीको भुटुवा, तित्राको मुटु-कलेजो, मलेखुको माछा, धराने कालो बंगुरको ह्याकुलो, पोखराको ट्राउट, ताप्लेजुङको सुकुटी, मुस्ताङको स्याउ, धनकुटाको सुन्तला, नुवाकोटको अंगुर, भक्तपुरको जुजु धौ, चितवनको घिउ, पहाडको कालो दाल, तिलको अचार, झापाली बासमती चामलको भूजा र हिमालबाट आएको यार्सागुम्बाको थोरै चट्नी…..!

(केही लजाएझैँ मुन्टो बटार्छे)

खम्बसिंह : (मुन्टो उठाएर जिब्रो मिठ्याउँदै)– अघि क्या त, यो पूरै पृथ्वी हल्लिएको थियो नि ! चाल पाएनौ…?

कामवती : (पेय पदार्थको ट्रे टेबलमा राख्दै व्यंग्यात्मक शैलीमै) यो चाहिँ पूर्व-पश्चिम,उत्तर-दक्षिण चारैतिरबाट आएको विदेशी कोसेली हो हजूर। साथमा स्वदेशी उत्पादन पनि छन् । मार्फाको ब्रान्डी, भोजपुरको
तीनपाने र उपत्यकाको अइला…। ( फिस्स हाँसेर खम्बसिंहतिर हेर्छे )

खम्बसिंह : (लोभिएर आङ तन्काउँदै) – त्यत्रो ठूलो भुइँचालो गयो, पत्तै पाएनछन् यिनीहरुले त !

रुपवती : खोइ, हामीले त केही थाहा पाएनौँ । सायद हजुरलाई भ्रम भयो कि ?

कामवती : भुइँचालो गएको सपना देख्नुभएजस्तो छ हजुरले ।

(युवतीहरु खितीती.. हाँस्छन् ।)

रुपवती : (टेबुलतिर सङ्केत गर्दै) भूजा हाजिर छ हजुर !

खम्बसिंह : (जिब्रो फड्कार्दै हास्य पारामा) हिमालको जल… पहाडको फल… र मधेशको चामल…। समावेशी भोजन । (थोरै तनाव मुद्रामा) समयमा खान पनि पाइँदैन । बिहानदेखि बेलुका अझ राति अबेरसम्म पनि काम…काम । बैठक, छलफल, सभा, सम्मेलन, समारोह, उद्घाटन, भित्री-बाहिरी भेटघाट ……। जिम्मेवार ठाउँमा बसेपछि भ्याउनै साह्रो, निर्वाह गर्नै गाह्रो…।

रुपवती : (मस्किंदै) त्यही त हजुर, अब ज्यूनार गरिबक्सियोस् ।

कामवती : (लस्किंदै) हो नि हजुर, अब आरामले लिइबक्सियोस् ।

खम्बसिंह : लयमा बोल्छौ तिमीहरु, मज्जा लाग्छ मलाई ।

युवतीहरु : (एकै स्वरमा) हजुरको तालले लयात्मक बनायो हाम्लाई ।

खम्बसिंह : तिमीहरु त कलाकार बन्नुपर्ने ।

रुपवती : हजुरको निगाहा भए अझै पनि…..! (लजाउँछे)

कामवती : हजुरको छेउमा भएसी यसै कलाकार नि…..! ( सर्माउँछे )

खम्बसिंह : फुर्काउन सिपालु छौ तिमीहरु । के जागिर खोज्या हौ ? (गलल हाँस्छ)

रुपवती : यो भन्दा राम्रो जागिर के होला हजुर…?

कामवती : हामीलाई यही जागिर टिकिरहे धन्य प्रभु…!

खम्बसिंह : म टिके तिमीहरु टिकिहाल्छौ नि, के पीर मान्छौ ?

रुपवती : मेरो दिनरातको प्रार्थना छ हजुर !

कामवती : मेरो आराधना नै यही छ प्रभु !

खम्बसिंह : तिमीहरु रमाइला मात्र छैनौ, मायालु पनि छौ । मेरो सहयोगी मात्र होइनौ, मेरो शुभचिन्तक पनि हौ । मेरो भलो चिताउँछौ तिमीहरु, र त तिमीहरुको पनि भलो हुन्छ ।

रुपवती : ( झस्केर जिब्रो टोक्दै ) आबुई…..हजुरको खाना सेलाइसक्यो ।

खम्बसिंह : ( रोमाञ्चक हुँदै ) म खाइहाल्छु । खाई सघाउँछ्यौ तिमी पनि…?

रुपवती : ( लजाउँदै ) होइन, हजुर खाइबक्सियोस् । मैले खाइसकेँ अघि नै, आफ्नो औकात अनुसारको ।

खम्बसिंह : ( कामवतीतिर हेर्दै ) तिमी…! पिई सघाउँछ्यौ त मलाई…?

कामवती : (चञ्चले हुँदै) अहिले अलिक मुड छैन हजुर ! पछि पिउँला नि हैसियत मिलेमा ।

खम्बसिंह : (केही रिसाएझैं गरी) के गर्छौ त त्यसो भए…? मेरो छेउछेउमा बस्छौ त दायाँबायाँ…? आओ…!

रुपवती : हामी खानपिनभन्दा बढी काम सघाउन जन्मेका हौँ मालिक ! अहिले हजुर खाइबक्सियोस्, व्यन्जन सेलाइसक्यो । हजुर अघाउनु पर्यो नि सर्वप्रथम त…! ( गम्भीर हुन्छे )

कामवती : थप्नको लागि आइरहन्छौँ हामी बेलाबेलामा । सँगै बस्न त के, सुत्नै पनि आइएला बोलावट भए । पहिले हजुर मुडमा आउनु परेन …? ( खितीती हाँस्छे ।)

खम्बसिंह : ( केही भावुक हुँदै ) तिमीहरु जान्छौ, यता म नितान्त एक्लो महसुस गर्छु । खोइ के भो के, अचेल मलाई असाध्यै न्यास्रो लाग्न थालेको छ । किन-किन डर पनि लाग्छ । कता-कता आफ्नै छायासँग पनि तर्सिने गर्दछु । यो आसनबाट पत्तै नपाई ढल्छु कि जस्तो भय उत्पन्न हुन्छ घरीघरी । मैले सबैलाई खुसी पार्ने प्रयत्न गरेकै छु । सबै खुसी नै होलान् जस्तो पनि लाग्छ । तर यत्तिका धेरै सहयोगीहरु हुँदाहुँदै पनि यो आसन किन डगमगाउन थालेको भान हुन्छ मलाई…? मेरा समर्थकहरु नै पो मेरा बैरी बनेर प्रकट होलान् कि भन्ने अज्ञात भय र आफैँ भित्रको अमूक त्रासले हर घडी गाँज्ने गरेको छ मलाई यतिबेला । पहिला यही आसनमा एक्लो विराजमान प्रीतिकर लाग्दथ्यो । अहिले त चारैतिर भरथेग गरिदिने आफन्तहरु वरिपरि बसिदिए पनि हुन्थ्यो जस्तो लाग्दछ । तिमीहरु यहाँ आउँदा निक्कै सादर थियो, जाँदा फेरि रित्तो…! (लामो सास तानेर युवतीहरुतर्फ हेर्छ ।)

रुपवती : (सम्झाउने कोसिस गर्दै) कहिलेकाहीँ त्यस्तै हुन्छ सर ! मनै त हो, कहिले मौलाउँछ, कहिले बौलाउँछ । बलियो पार्नु पर्दछ मन । यी हामीले जस्तो…छैन धन, बलियो मन…! (आफूतिर इङ्गित गर्छे ।)

कामवती : ( ठट्यौलो पारामा ) सपना बिग्रेजस्तो छ हजुरको । सपना बिग्रेको एक हप्तासम्म त्यस्तै हुन्छ मलाई पनि… (गलल हाँस्छे) । विपनामा जुन चिजको बढी मोह गरिन्छ, सपनामा त्यसैलाई अँगालो हालेर सुतिन्छ । जब सपनाको कुनै एपिसोड र दृश्यमा त्यो प्रिय चिज गुम्न पुग्दछ । अनि त्यसैको धङ्धङ्गे र स्मृतिमा आफूलाई वियोगान्त बनाइन्छ । त्यसैका उपज हुन्, भय, त्रास, डर, आशंका…इत्यादि । कुनै चिज प्रतिको मोह भङ्ग नभई सन्तुष्टि प्राप्त गर्नै नसक्दोरहेछ मान्छे । (दार्शनिक पारामा)

खम्बसिंह : (अनुहारमा मुस्कान ल्याउँदै) तिमीहरु मेरो सल्लाहकार हुनुपर्ने ।

रुपवती : खोइ, नियुक्त गर्नु भएन त…!

कामवती : हाम्रो योग्यता टहलुवा भन्दा बढी के हुन्थ्यो र….?

खम्बसिंह : (हाँस्दै) साह्रै घोचेर पो भन्यौ ए तिमेरुले त ! पख न, मेरो यो आसन जम्यो भने तिमेरुलाई मेरो सल्लाहकार बनाइछाड्छु म । यो मेरो बाचा भो…!

रुपवती : पक्का…?

खम्बसिंह : पक्का !

कामवती: सत्ते ?

खम्बसिंह : तिमी मारी हत्ते !

(सबैजना एकसाथ हाँस्छन्– गललल्ल…)

रुपवती : आज त हामी पनि यति ठूलो मान्छेसँग कस्तो खुलेर कुरा गर्न पाइयो साथीजस्तै । ( टेबलतिर हेर्दै ) – मेरी आम्मै…! हामीले अल्मलायौं हजुरलाई । अब भूजा ज्यूनार होस् । हामीलाई जाने अनुमति बक्सियोस् अहिलेलाई । (नमस्कार गरेर बाहिरिन्छे ।)

कामवती : त्यही त… सरको सपना बिग्रेकाले हामीले पनि समय पाइयो । हजुरको खाना सेलाएर बिरालोको नाक भइसक्यो होला । अब भकाभक ग्रहण गरिबक्सेला । अब चाहिं हामी जान्छौं ल….? (नमस्कार गरेर रुपवतीको पछि लाग्छे ।)

खम्बसिंह : (युवतीहरु गएको दिशातर्फ उन्मुख हुँदै) हुन्छ… हुन्छ ! बेलाबेलामा यसो देखा पर्दै गर है, यहाँ मलाई के चाहिन्छ थप्नु पर्छ । आधा भोक त तिमीहरुले नै मारेर गैहाल्यौ । (खाने-पिउने कुराहरु राखिएको टेबलतर्फ ध्यान आकृष्ट पार्दै ) अब रुच्न त के रुच्ला र ? तैपनि अलिकति कोच्नु पर्ला बल गरेरै भए पनि । मीठा मान्छेले टक्य्राएको मिठो खान्की नखाई त के निद्रा लाग्ला र…खै ! झापाको खेती, इलामकी केटी, ताप्लेजुङको तोङ्बा र सुकुटी भन्छन् …। ( घडी हेर्छ ) ओहो….! रात पनि धरै पो बितिसकेछ ।

(खम्बसिंह भकाभक खान-पिउन थाल्छ । घरीघरी ढ्याउ-ढ्याउ डकार्छ र पाद्छ पनि । यत्तिकैमा मञ्चको अग्रभागबाट देहायका नामधारी आकृतिहरु सलबलाउन थाल्दछन् । तिनीहरु आ-आफ्नो स्थानबाटै खम्बसिंहलाई आक्रोश पोख्दै विभिन्न गालीगलौजसहित विरोध गर्न शुरु गर्छन् पालैपालो ।)

जगतसिंह : (आक्रोशित हुँदै) एई खाइदेऊ, एक्लै खान्छस् …?

बखतसिंह : कति खान्छस् एक्लै, पुगेन अब …?

भगतसिंह : तेरो पालो सकियो, छिटो छोड्…!

चनमती : अब हामीले पालो पाउनु पर्छ ।

मनमती : पालैपालो खाने भनेर आफैंले शर्त राखेको होइन …?

धनमती : भद्र सहमति भुल्नुभो महाशय …?

खम्बसिंह : (आवाजतिर फर्केर दिक्क मान्दै ) – कुन जागित्रा कराउँछन् फेरि…!

जगतसिंह : ओई…अगस्ती ! कसलाई जागित्रा भनिस् ?

बखतसिंह : घिचुवा…! मुख सम्हालेर बोल् ।

भगतसिंह : तँलाई लाज लाग्दैन एकलकाँटे ?

चनमती : हामीलाई कमजोर नठानियोस् ।

मनमती : बाँडीचुडी खाने समझदारी खोइ…?

धनमती : आगो लगाइदिनु पर्ला नि फेरि ।

खम्बसिंह : (केही आक्रोशित हुँदै )- के मलाई धम्क्याएका हौ तिमीहरुले ? आफूले जुठो हालेको भाग नसकी कसरि छोडेर हिंड्नु ? यो ठाउँमा भरखर आएको छु । रहर पुगेपछि आफैँ छोडेर निस्कन्छु । धित
नमरी जान यो मनै मान्दैन । तिमीहरुले पनि त यसको स्वाद चाखेकै छौ । जहाँसम्म भद्र सहमतिको कुरा छ- नियम, कानुन र सहमति भनेकै भत्काउनको लागि बनेका हुन् । भत्काएर तिमीहरुले नै नजिर स्थापना गरिसकेका छौ । भद्र सहमति तोड्न सिकाउने को हो नि…? नीति-नियम, विधि-विधान त कहिले बन्छन्, कहिले भत्किन्छन्, कहिले फेरि बन्छन् । मन लागुञ्जेल पालना गर्ने, मन नलागे नगर्ने…। समय र परिस्थितिअनुसार चल्न सक्नु पर्यो नि ! निर्माण-विनिर्माण-पुननिर्माण । अब जमानै आधुनिक छ । विचार झन् उत्तरआधुनिक हुनु परेन…? भिजन चाहिएन…भिजन…??

जगतसिंह : ( झन् आक्रोशित हुँदै ) गरिस् पुननिर्माण ! विदेशीले दिएको त्यत्रो रकम खोइ…?

बखतसिंह : एक्लै झ्वाम पारिगोनी खुराफातीले ।

भगतसिंह : खोइ हाम्रो भाग…?

चनमती : यो ठाउँ कसैका बाउको बिर्ता होइन ।

मनमती : हाम्रो पाइन हेर्न खोज्या हो…?

धनमती : हाम्रो माग पूरा नगरे जे पनि हुन सक्छ यहाँ ।

खम्बसिंह : (खम्बसिंह झन् आक्रोशित बन्छ । चर्को स्वरमा कड्किन्छ ) के खुत्याउँछौ त तिमीहरुले ए जागित्रा हो ? हेरौं न त म पनि तिमीहरुको पाइन ! जे मन लाग्छ, त्यही गर तर म अहिल्यै यो स्थान छोड्नेवाला छैन । एकपटक समर्थन गरेपछि जुनीभरि गर्नु पर्दैन ? कस्तो नक्कली प्रेम हो तिमीहरुको ? दिई नसकी खोस्न आउने…? तिमीहरु चिच्याई राख, म आफ्नो सुर गरिरहन्छु । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, हात्ती लम्किंदै गर्छ ।

जगतसिंह : ( रिसले कडा स्वरमा ) फेरि जागित्रा….! होइन, कसलाई जागित्रा भनेको ए पितृ बूढा ? तँ छिटो मर, हामी जागेर आइसक्यौँ अब ।

बखतसिंह : ( उस्तै कडा स्वरमा ) : मृत्यु शैय्याबाट जागित्रा भएर यो आसन कब्जा गर्न आउने को हो नि …? तेरो समय सकियो अब, चाँडो भागिहाल् । नत्र….!

भगतसिंह : ( उत्तेजित हुँदै ) अनेक जालसाजी गरेर हत्या’को होइनस् यो महल तैंले ? हामीले अर्को मिलेमतो जुटाएर आएका छौँ । भोगचलन गर्ने पालो हाम्रो हो अब ।

चनमती : ( औंला उठाउँदै ) सायद अब आन्दोलन जरुरी भैसक्यो ।

मनमती : ( मुट्ठी कस्दै ) सोझो औंलाले घिउ नआएपछि बाङ्गो हुन जानेका छौं हाम्ले ।

धनमती : ( हतियार उचाल्दै ) आक्रमण …! यो समयको माग हो ।

(सबै जना एकधुर लागेर अगाडि बढ्न खोज्छन् ।)

खम्बसिंह : (खम्बसिंह अलिक हड्बड गर्दै उठेर अनुनयको शैलीमा आफ्नो कुरा राख्छ । ) तपाईंहरु आ-आफ्नो स्थानमा बसिदिनुस् न भद्र महिला तथा सज्जनबृन्द ! अझ सक्नुहुन्छ भने सुतिदिनुस् न ज्ञानी भएर । अघिको जस्तै शान्त भएर विराजमान होस् न त्यहीँ । यहाँ रात सकिन लागिसक्यो क्या….! उज्यालो हुनेबित्तिक्कै सब बर्बाद हुन्छ । तपाईंहरु त बेस्कन ढाडिएर खर्किनु भा’होइन र पहिल्यै ? फेरि किन यत्रो आरिस ? मलाई छोड्दिनुस न केहि समय । अघाएपछि त म आफैँ झरिहाल्छु नि ढाडिएको जुका जस्तो…! (फेरि कुर्सीमा थचक्क बस्छ ।)

(भिड झन् आक्रोशित र आन्दोलित हुँदै अगाडि बढ्छ । उनीहरु दौडेर खम्बसिंह को आसनमा पुग्छन् र कुर्सीबाट उसलाई लडाउन खोज्छन् ।)

जगतसिंह : छोड् यो कुर्सी …! हामीले पनि त परम्परा धान्नु पर्यो नि ।

बखतसिंह : हट् यहाँबाट …! नत्र, संस्कारको साख गुम्ने खतरा हुन्छ ।

भगतसिंह : छिटो मुन्टी भन्या…! निरन्तरतामा क्रम भङ्गता होला फेरि ।

चनमती : अब सरक्क छोड्नुस् महाशय…! तपाईंको अवधि समाप्त भयो ।

मनमती : खुरुक्क नछोडे गलहत्याउन बाध्य हुनेछौं हामी । यहाँकै शैलीमा ।

धनमती : पालैपालो क्या हजुर…..! तपाईंकै भाषामा ।

(उनीहरु सबैले खम्बसिंहको कुर्सी, हात, पाखुरा, ढाड, कुम, टाउको, खुट्टा…जताततै समातेर घच्घच्याउँछन् । खम्बसिंह कुटिल र केही मायालु स्वरमा सबैको नाम पुकार्छ । उसको अनुहारमा प्रतिशोधको भाव प्रस्ट
देखिन्छ । )

खम्बसिंह : ए….. तिमीहरु ! जगतसिंह, बखतसिंह, भगतसिंह, चनमती, मनमती, धनमती… सबै पो एक भा’का ? मलाई दिएको समर्थन साँच्चै पो फिर्ता लगेका…? ठिकै छ, अहिले मलाई धोका दियौ । खेल त
मलाई पनि आउँछ । बाहिर जानेबित्तिक्कै तिमीहरु बीचमा फुटको बिउ रोपेर, तिमीहरु मध्यबाटै साथ पाएर फेरि यो कुर्सीमा आउन सकिन भने त मेरा बाउले मुतेकै होइन मलाई । मरे पनि जागित्रा भएर आइछाड्छु अनि कस्तो कुरा हौ…!

(खम्बसिंहलाई त्यो आसनबाट हटाउने प्रयास निरन्तर चलिरहन्छ । ऊ कुर्सीमा झन् बलियोगरी टाँसिन खोज्छ । हटाउने र बसिरहन चाहने बीचको लुछातानी चलिरहेकै बखत नेपथ्यबाट अचानक आएको भयावह आवाजले सबैको ध्यान भङ्ग पारिदिन्छ । मञ्चमा बिजुली चम्केझैँ हुन्छ । रातो, नीलो र हरियो प्रकाश क्रमशः पोखिन्छ । बाहिर मेघ गर्जनसहित मुसलधारे वर्षा र आँधीबेहरीको आवाजले वातावरण झन् भयावह प्रतीत हुन्छ । एक प्रकारको डरलाग्दो आवाजले मञ्च भयभीत हुन्छ । मञ्चमा अघिदेखि नै आ-आफ्नो कार्यव्यापार गरिरहेका सबै चरित्रहरूमा पनि अनौठो सन्त्रास छाउँछ । उनीहरु एकापसमा मुखामुख मात्र गरिरहन्छन्, केही बोल्न सक्दैनन्, बोल्न खोजे पनि उनीहरु कसैको वाक्य फुट्न नसकेको सामान्य अन्दाज लाउन सकिन्छ । केहीबेरको निरन्तर अन्यौलपश्चात् मञ्चमा चकमन्नता छाउँछ । तर त्यो चकमन्नता धेरैबेर टिक्न सक्दैन । तत्क्षण उक्त चकमन्नता भङ्ग हुन्छ र उस्तै भयावह आवाज गुञ्जिन्छ । नेपथ्यबाट मानव चित्कारको करुण स्वर सुनिन्छ । टाढा कतै कुकुर भुकेको, रात्रि कीटपतङ्ग र लाटोकोसेराको विरहलाग्दो स्वरले मञ्चको वातावरण अझै कष्टकर हुँदै गएको महसुस हुन्छ । फेरि एउटा लघु सन्नाटा छाउँछ मञ्चमा । यसैबेला मञ्चको दायाँबायाँ भागबाट २-२ जना छायाँकृतिहरु प्रवेश गर्दछन् अस्पष्ट आवाजमा अनेक आलापविलाप गर्दै । मानव कंकाल जस्ता ती आकृतिहरुलाई प्रस्ट देख्न सकिंदैन । कालो वस्त्रले सर्वाङ्ग ढाकिएका छन् तिनीहरु ।)

आकृति १ : (आक्रोश र चित्कारमिश्रित करुण स्वरमा ) खोइ मेरो सपना…?

आकृति २ : कहाँ छ मेरो भविष्य…?

आकृति ३ : कसले लुट्यो मेरो उज्यालो…?

आकृति ४ : को हो मेरो खुशी खोस्ने…?

(एकै स्वरमा) : जवाफ छ कोहीसँग ….?

(मञ्चका पूर्व पात्रहरु सतर्कतासहित हल्का सल्बलाउन थाल्छन् । उनीहरुमा व्याप्त सन्त्रास र भय यथावत् नै देखिन्छ ।)

खम्बसिंह : फेरि कुन जागित्रा हौ तिमीहरु ? यहाँ एक गुट जागित्राले तुरुक्क मुताइरहेका छन् । फेरि अर्को हुल जागित्रा आएछन् सातोपुत्लो लिन । यी जागित्राले पनि हैरानै पार्ने भए गाँठे…! को हौ तिमीहरु…? के चाहन्छौ तिमीहरु ?

जगतसिंह : जसलाई पनि जागित्रा नै देख्छ यो पित्ले बूढो…!

बखतसिंह : तर, यी चाहिं साँच्चिकै जागित्राजस्ता छन् ।

भगतसिंह : तैंले कसरी थाहा पाइस् ?

आकृति १ : म भड्किएको आत्मा हुँ ।

आकृति २ : म प्रेतात्मा हुँ ।

आकृति ३ : म तड्पिएको आत्मा हुँ ।

आकृति ४ : म मृतात्मा हुँ ।

एकै स्वरमा : हो…हो….हामी जागित्रा नै हौँ ।

(सबै डराएझैँ गर्छन् ।)

बखतसिंह : (भगतसिंहतिर हेर्दै ) थाहा पाइस् अब…?

चनमती : ( डराउँदै ) आबुई….!

मनमती : ( त्रसित हुँदै ) अब के गर्ने होला…?

धनमती : ( आँट दिंदै ) अब ‘स्वघा’ गर्नुपर्छ ।

जगतसिंह : ( धनमतीतर्फ हेरेर जिज्ञासा राख्दै ) के हो यो ‘स्वघा’ भनेको ?

धनमती : जागित्रा मार्ने कर्म । भड्केको आत्मालाई मार्ने काम ।

बखतसिंह : कसरी हुन्छ त यो ?
धनमती : लिम्बु संस्कारअनुसार बिजुवाले ‘स्वघा’ गरेर जागित्रा मारेपछि भड्केको आत्मा पनि मर्ने र दु:ख नदिने जनविश्वास छ ।

भगतसिंह : बोलाइहालौं न त बिजुवालाई !

मनमती : छिटो गरौँ न बरु ! मारिहालौँ यी जागित्रालाई ।

चनमती : आबुई…! कस्तो डर लागिसक्यो आफूलाई ।

बखतसिंह : १४ जना पुरेत बोलाएर स्वस्तिशान्ति पनि गर्नुपर्छ होला यो ठाउँमा । अब हामी आसनग्रहण गर्ने बेला हुँदैछ, पवित्र पार्नु पर्यो नि !

भगतसिंह : त्यही त, खतरामुक्त पार्नु पर्छ है !

खम्बसिंह : ( सबैलाई ढाडस दिंदै ) लु पीर नमान तिमीहरु । हा….! केको बिजुवा केको पुरेत…?? म ठीक पारिदिन्छु सबै । जीवित जागित्राले त केही नाप्न सकेनन्, यी त मृत जागित्रा । बरु, तिमीहरुले चाहिं मैलाई टिकाउनु पर्छ है यो आसनमा । हामी मिलेपछि यस्ता नाथे जागित्रा कहाँ हराउँछन् कहाँ…! (फिस्स हाँस्छ)

(आकृतिहरु एकै लयमा लामो र अनपत्यारिलो अट्टहास छोड्छन् – हाहाहाहाहाहाहाहा……! यसैबेला नेपथ्यबाट पुन: उही भयानक मनाव चित्कारको आवाज आउँछ । विरहलाग्दो र भयावह वातावरणका बीच मञ्चमा मेघ गर्जन र बिजुली चम्केको जस्तो देखिन्छ । फेरि भय उत्पन्न हुन्छ त्यहाँ । आकृतिहरु आ-आफ्नो गुनासो पोख्दैछन् । )

खम्बसिंह : (आकृतिहरुतर्फ सङ्केत गर्दै) को हौ तिमीहरु ? कहाँबाट किन आएका ? के पुगेन तिमीहरुलाई ?

आकृति १ : (भावुक हुँदै) तिमीहरुले भने जस्तै म एउटा जागित्रा हुँ, याने कि प्रेतात्मा । म मेरा लाखौँ सपनाको मलामी गएर आएको । २००७ साल, २०४६ साल र ६२/६३ सालमा मैले छोडेर गएको उज्यालो यो धरालाई जगमग बनाउनका लागि थियो । जगतभरिका अकिन्चन आत्माहरुलाई ज्योति प्रदान गर्नका निम्ति मैले आफ्नो प्राण न्यौछावर गरेको थिएँ । मैले मात्र के हामीले गरेका थियौँ । मजस्ता अरु पनि छन् ती सबैको प्रतिनिधि हुँ म । एउटा टुकीको आशमा झुपडी कुरेर बसेकी आमालाई अन्धकारमा जाकेर तिमीहरु आगोसँग मितेरी गाँस्दै छौ । हुन त मैले तिमीहरुकै आदेशमा आफ्नो बलिदान दिएको थिएँ । मेरो उद्देश्य आफ्नो रगतमा साटेको प्रकाशले जगत पोत्नु थियो । तर तिमीहरुले आफ्नो निहित स्वार्थको फोहोरी बजारमा मेरो अस्तित्वको लिलामी गरिदियौ । मैले मेरो इतिवृतान्त कहँदै गर्दा तिमीहरुलाई पक्का भैसक्यो कि म तिमीहरुले बडो श्रद्धापूर्वक पुकार्ने गरेको सहिद नामको अभागी प्राणी पनि हुँ। तर मेरो आत्मा भड्किएकोले बेलाबेला घुमिरहन्छु यतातिर । थाहा छैन, कहिलेसम्म तिमीहरुको जागित्रा भएर आइरहनु पर्ने हो मैले …! मन धरधरी रोएको छ, मुटु भतभती पोलेको छ । मैले जुन सपना देखेर आफ्नो कल्कलाउँदो जीवन मासेको थिएँ, सही अर्थमा त्यो सपना पूरा नभएपछि मेरो चित्त यतै रहिरह्यो । तिमीहरु नसुध्रेसम्म सायद यो आत्माले शान्ति पाउनै सक्दैन होला । ( फ्रिज हुन्छ )

आकृति २ : ( आक्रोशित हुँदै ) म मेरो हराएको भविष्य खोज्दा-खोज्दा थाकेर लखतरान छु । सुन्दर, सफा र स्निग्ध भविष्यको आश्वासनमा १० वर्ष झोस, झाडी, जङ्गल, पाखा-पखेरा, धारा-पँधेरा, भीर-पहरा र गुफामा अलपत्र परेर यता आएको अगति आत्मा हुँ म । यो जगतमा मलाई जत्ति अन्याय-अत्याचार कसैलाई भएको छैन । सत्र हजार लासको श्राप परेको यो भूमिलाई पवित्र पार्ने ठेक्का लिएका ठेकेदारहरुले आफ्नो वाचा-कसम भुलेको हुनाले तिनीहरुको कान समात्न मेरो आत्मा घुम्ने गर्दछ यता । म तिनै सत्र हजार निहत्था मध्येको एउटा प्रतिनिधि आत्मा हुँ । सबै आत्माले चीरशान्ति प्राप्त गर्न नसकेकोले माग्न आएको हुँ । (झन् कड्केर) तिमीहरु मध्येकै हौ त्यो जिम्मेवार कारिन्दा । यो रगतमा आहाल बसेको घरलाई सफा बनाएर शान्तिको बत्ती बाल्यौ भने उता हाम्रो पनि आत्माले शान्ति पाउला र तिमीहरुकै भाषाको महान् सहिद कहलिउँला हामी पनि । नत्र त यस्तै जागित्रा नै भैकन डुली-घुमी हिँडूला । तिमीहरुलाई यसरी नै दु:ख दिई रहूँला…। ( फ्रिज हुन्छ )

आकृति ३ : (रुँदै) लुटिएको मेरो उज्यालो कुन धर्तीमा छ कहाँ…? म त्यही खोज्न आएको हूँ । धर्तीमा घाम लाग्दै थियो, दिन घमाइलो थियो । छोरी स्कुल गएकी थिई । श्रीमतीलाई धरहराबाट राजधानी सहर हेर्ने रहर मेटाउन सँगै चढेका थियौँ हामी । भवितव्य आइलाग्यो । भुइँचालोले धरहरासँगै निलेको दिवङ्गत आत्माको साक्षात् प्रतिनिधि हुँ म । स्कुलको बसमा यात्रारत् हुनाले छोरी जोगिई । काठे झुप्राको भर्याङ्गमुनि परेर वृद्ध बा-आमा बाँचे । मेरा बा-आमाका स्कुल गएकी नातिनी फर्की तर धरहरा गएका छोरा-बुहारी फर्केनन् । मैले देखेको दिन रातै नपरी ढल्यो । कहाँ छ त्यो उज्यालो …? ढुङ्गा-माटोको सुरुङ मुनिबाट म सुन्दैछु,- भुइँचालोले मारेका हजारौं आत्माहरुको चीर शान्ति र बाँचेका लाखौँ ज्यानहरुको उज्यालो किन्नका निम्ति खर्बौं रकम दाताले दिएका छन् । त्यो उज्यालो कसले ताप्दैछ…? त्यो रकम कसले हसुर्दैछ ? निर्क्यौल गर्नको लागि आएको हुँ म । पीडितहरुले सम्पूर्ण राहत न्यायिक ढङ्गबाट नपाएसम्म मेरो आत्मा यतै भड्किरहन्छ । ( कोठाको भित्तो हेर्दै ) यो घर पनि पूरै चर्केको रहेछ । यस्तै घरमा पनि राजनीति गर्छौ है…? थुक्क लबस्तरा हो…! तिमीहरुलाई कसको पो आत्माले सराप्दैन होला…? ( फ्रिज हुन्छ )

आकृति ४ : ( डाँको छोडेर रुँदै ) मेरो खुशी….मेरो रहर…मेरो जीवन…मेरो सर्वश्व…….! कुन पापीले खोस्यो …? मलाई प्रेतात्मा भन, मृतात्मा भन, भड्किएको भन, तड्पिएको भन, जागित्रा भन, पिशाच भन…। जे भन मलाई केही मतलब छैन तर मलाई मेरो गुमेको खुसी चाहियो । कसले खोस्यो मेरो खुसी…? म त्यही खोसिएको आफ्नो खुसी माग्न आएको निर्धो आत्मा हुँ । बुद्धको देशबाट छिनो-मार्तौल, घन र बेल्चा बोकेर खुसी किन्न, शान्ति खोज्न निस्केको मजदुर हुँ म । रेटिएँ इराकमा…! मारिएँ काबुलमा…! झुन्ड्याइएँ अरबमा….! सुतेको सुत्यै भएँ मलेसियामा…! तर, खाइनखाई बालुवा चालेर मैले पठाएको रुपियाँ कुन बैंकमा छ ? मरुभूमिमा उँट गोठालो गरेर पठाएको रेमिट्यान्स कसको भुँडीमा गयो…? मलायाका गुण्डा र लुटेराहरुबाट जोगाएर पठाएको मेरो पसिना कहाँ पोखियो…? (झन् भक्कानिन्छ ) छोराको कमाइमा सास अल्झाइरहेकी हरियो धर्तीजस्ती मेरो आमाको आशा कुन राष्ट्रियताको नाममा बन्धक राखियो…? सुहागरात पनि राम्ररी नमनाइकन बिहे गरेको भोलिपल्टै बिछोडमा छोडिएकी अर्धाङ्गिनीको रहर अनि पेटमा हुर्किंदै गरेको भ्रूणको जीवन रक्षा कसले गर्न सक्यो…? नत्र, मेरो मृत्युको खबर सुनिनसक्दै किन उसले पनि प्राण त्यागिसक्थी…? म र मजस्ता लाखौँ युवाहरुलाई विदेश खेदेर उनीहरुले पठाएको रेमिट्यान्समा मोज गर्ने अपराधीहरुसँग यी र यस्ताखाले यावत् सङ्गीन प्रश्नहरुको जवाफ छ…? छ भने जवाफ देओ, छैन भने यसरी झगडा गरीगरी पाप कर्म गर्न बन्द गर । नत्र, जगित्राहरुले चिथोरी-चिथोरी मार्नेछन् तिमीहरुलाई । ( फ्रिज हुन्छ )

(मञ्चका सबै चरित्रहरू आ-आफ्नो स्थानमा मूर्तिवत् हुन्छन् । मञ्चमा प्रसारित प्रकाश क्रमशः क्रमशः निभ्दै जान्छ तर एउटा गोलाकार प्रकाश आकृति १ मा गएर आलोकित हुन्छ । आकृति १ दार्शनिक पारामा केही भन्छ ।)

आकृति १ : (खम्बसिंह र अन्यहरु बसेको आशनतर्फ सङ्केत गर्दै दर्शकदीर्घापट्टि फर्केर) यिनीहरु हामीलाई जागित्रा भन्छन् । धामीझाँक्री र बिजुवा लगाएर ‘स्वघा’ गर्ने अनि हामीलाई मार्ने सल्लाह पनि गर्छन् । तर, आत्मा कसै गरे पनि कहिल्यै मर्दैन, मार्न सकिंदैन भन्ने तत्त्वज्ञान नै रहेनछ यी अल्पज्ञानीहरुलाई । मानवीय उद्बोधन बिनाका यी लाटोकोसेराहरु आफ्नो भुँडी भर्ने भन्दा अर्को सपनै देख्दैनन् । हाम्रो त भौतिक शरीर मरेर गए पनि आत्मा जागृत छ, विचार कहिल्यै मरेको छैन । सर्वजनहितायको सिद्धान्तमा निष्ठावान् रहेर जगत भलो र लोककल्याणका खातिर देखेको आफ्नो सपना पूरा नहुँदा र गरेको त्याग मिथ्या खेर जाँदा चित्त दुखाएर भौंतारिरहेका मात्र हुन्छौँ हामी । खासमा हानिकारक जागित्रा चाहिं यिनीहरु नै हुन् (कुर्सीमा आसिनहरुलाई देखाउँदै) । यी दिवान्ध दीर्घसूत्री कुछेदहरुको विचार नै मरेकोछ जताततै । विचार र आत्मा मरेकाहरुले नै अरुहरुलाई दु:ख दिनका लागि जागित्राको रुप धारण गर्ने हुन् । लोभका भाँडा यी मक्खिचुसहरु नै सबैका लागि जीवित जागित्रा हुन् ।

‘जागित्राहरु ति होइनन्, जो अरुलाई उज्यालो दिनका लागि मरेर गए । जागित्राहरु ति हुन्, जो अरुको उज्यालो खोस्नका लागि बाँचिरहेछन् ।’

(आकृति १ ले यति भनिसकेपछि मञ्चमा झ्याप्पै प्रकाश निभ्छ । रात ढलेर उज्यालो भएको सङ्केतस्वरूप कुखुराको भाले बास्छ । र, एक झुल्को घाम सँगै बाँसुरीको धुन गुञ्जिन थाल्दछ । पर्दा खस्छ ।

।। पटाक्षेप ।।

***

इटहरी-४, सुनसरी, नेपाल ।
हाल : फ्रिगेट आइल्याण्ड, सेसेल्स ।