इसा (श्रीमती) नेपाल गएदेखि इसान एक्लै थियो । इसान सानो कुर्सी लिएर बरण्डामा निस्कियो । फल सिजन (शरद ऋतु) शुरु भएपछि न्यूयोर्कमा खासै घाम लागेको थिएन । धेरै दिनपछि आकाश खुल्ला भएसँगै पारिलो घाम लाग्यो । न जाडो, न गर्मी थियो । पारिलो घामले उसलाई आनन्द दियो ।

राजेन्द्र कार्की

वाशिङ्टन स्क्वायर पार्कमा रंगीन रूखहरू देखिएका थिए । फल सिजनमा यी रूखहरू एकएक राता, पहेला र हरिया हुन्छन् । उसलाई मनमनै लाग्यो – होइन, यी रूखहरूले रङ कहाँ लुकाएर राख्छन् । कसैले रङ्ग्याउँदैनन्, कस्तो अजिब ! अनि फरक सिजनमा फरक फरक रङले आफै रङ्गिन्छन् ।

पच्चिसौं तलको बरण्डाबाट नजिककैको हडसन रिभर देखियो । ससाना पानी जहाजहरू र फेरि आउजाउ गरिरहेका थिए । आकाश चारैतिर खुल्ला थियो । चराहरू माथि आकाशमा कावा खेल्दै थिए । उसका आँखा एकाएक पर एटलान्टिक किनारको न्यूयोर्क हार्बरमा अवस्थित स्ट्याचु अफ लिबर्टीमा पुग्यो । एकनासले हलचल नगरी ठिङ्ग उभिएको त्यो मूर्ति मात्र होइन । त्यो स्वतन्त्रताको प्रतीक हो, जसले कहिल्यै नथाकी निरन्तर स्वतन्त्रताको खबरदारी गर्छ । त्यही भएर त डोनल्ड ट्रप जस्तो मान्छेले पनि अमेरिकाको स्वतन्त्रतालाई कुल्चन सकेन ।

थ्याङ्क्स गिभिङ डे भएकोले तीन दिनको लामो छुट्टी थियो । घरमा एक्लै भएकाले दिन बिताउन मुस्किल भइरहेको थियो । धोको पुगुन्जेल बरण्डामा ऊ बस्यो । बस्दाबस्दै मन कहाँ मात्र पुगेन ! एकाएक उसलाई बाल्यकालको याद आयो ।

बाल्यकालमा दशैँ आउँदा रमाइलो लाग्थ्यो ! तर कताकता नरमाइलो पनि लाग्थ्यो ।

शरद ऋतुको मौसमी रौनक चाहिँ सुन्दर हुन्थ्यो । टारबारीमा चङ्गा उडाउँदा साँच्चै रमाइलो र मजा लाग्थ्यो उसलाई । खेतमा धान लहलह झुलेको हुन्थ्यो । बारीमा अम्बक, सुन्तला लटरम्म फलेका हुन्थे । प्रायः सधैँ उजाड देखिने खरबारी पाखोसमेत हरियो हुन्थ्यो । अझ पण्डित बा आउँदा चक्लेट देलान् भनेर फुर्की फर्की राम्रा राम्रा अम्बक टिपेर ल्याउनका क्षण साह्रै रोमान्चक लाग्थ्यो ।

टीकाको दिनले भने इसानलाई रमाइलो भन्दा रमाइलो नै लाग्थ्यो । ठुलो परिवार । हजुर बा, हजुर आमा, ठूला बा, ठुली आमा, काका काकी र अरु दाइहरू (ठुलो बाका छोरा) समेत गर्दा टीका लगाइदिने मान्छे बीस बाइस जना हुन्थे । त्यतिका जनाले टीका लगाउँदा उनको सानो निधारमा हात राख्ने ठाउँ पनि हुँदैन थियो ।

टीका लगाएपछि दिदीबहिनीहरू दक्षिणा बापत कसको पैसा कति भयो भनेर गन्थे तर उसको हातमा गन्न शून्य हुन्थ्यो । दिदीबहिनीको हातभरि पैसा देख्दा डाह लाग्थ्यो।

“दिदी बहिनीले जस्तै दक्षिणा पाएको भए खेलौना बन्दुक र पटका किन्थेँ । पटका पटकाउँथे, लङ्गुर बुर्जा खेल्ने थिएँ । मन परेका लुगा लगाउने थिएँ । मन लागेको किनेर खाने थिएँ,” यस्तै यस्तै लाग्थ्यो त्यो बाल्यकालमा । आखिर बाल्यकालमा साथीसङ्गीले जे गर्छन्, त्यो गर्न कुन बच्चालाई रहर नहुँदो हो? उनलाई पनि हुन्थ्यो तर हातमा पैसा नभएपछि कल्पनाबाहेक के नै गर्न सक्थ्यो ऊ !

पैसाको सट्टा गिलित्त परेको केरा हातमा हालिदिन्थे । प्रसाद भनेर त्यो केरा घाँटी किक्लिक्क पार्दै निल्नु पर्दथ्यो । लुकाएर फाल्न पनि कान्छौले देख्लान् र गालामा पाँच औलाका छाप बसाउलान् भन्ने डर लाग्थ्यो ।

दशैंको नमिठो सम्झनासँगै इसानलाई कान्छौं एकाएक अनुहारमा नाचे । हुन त उसले कान्छौंकोमा टीका लगाउन जान छाडेको पनि धेरै वर्ष भएको थियो । ऊ बच्चैदेखि अलि चक्चके र विद्रोही स्वभावको मान्छे थियो । सही कुरालाई सही र गलत कुरालाई गलत भन्थ्यो । कुरीति र कुसंस्कारको विरोध गर्दथ्यो ।

हजुर आमा स्वर्गे भएपछि गुरुड पुराण सुन्न सबै बसेका थिए । महिलालाई होच्याएर लेखिएका कथा पण्डितले सुनाउन थाले । उसलाई चित्त बुझेन । उसले अनुरोध ग-यो – “पण्डित बा, गरुडको यो खण्ड अलि मलाई चित्त बुझेन, यसलाई जस्ताको तस्तै नसुनाएर अलि मिलाएर सुनाउन मिल्दैन ।” उसको कुराबाट कान्छौं सबैभन्दा बढी रिसाए । बरु पण्डित रिसाएनन् र सहमति जनाए ।

हजुर आमाको बरखी सकिएको पछिल्लो साल मूलघरमा भेला भएर सबै जनाले टीका लगाए । इसानको टीका लगाउने पालो आयो । सबैले टीका लगाई दिए र कान्छौले पनि टीका लगाइदिए । आर्शिवाद दिंदै कान्छौले भने – “भस्मासुरजस्तो असुर नहुनू ।” इसानलाई कान्छौको हात भाँचिदिऊँजस्तो लागेको थियो तर इसा र छोराछोरीका अगाडि उग्र हुन मनले दिएन । मन किटेर बस्यो ।

“तँ सेतुलीसँग छोई बात लागेर काशी लखेटिएको मान्छेसँग कहिल्यै टीका लगाउन आउँदिनँ” भनेर मनमनै कसम खायो र त्यसपछि उसले कान्छौंको हातबाट कहिल्यै  टीका लगाएन ।

इसानलाई हजुरआमाले सम्झाउँदा सेतुली र कान्छौको कथा सुनाउनु भएको थियो । हजुर आमा सामन्य लेखपढ गर्न सक्ने मात्र भए पनि के कुरा ठीक, के कुरा बेठीक छुट्याउन सक्नु हुन्थ्यो । पुरानो जमानाकी मान्छे भए पनि मान्छे भनेका सबै उस्तै हुन् । कोही सानो ठुलो र छुत अछुत भन्ने हुँदैन । यस्तो प्रथा तोड्नु पर्छ भन्ने मान्यता हजुरआमाको थियो । त्यसैले इसान र हजुर आमाको कुरा मिल्थ्यो तर कान्छौं साँच्चै ढोंगी थिए ।

सेतुली पुरानो जमानाकी दर्जीकी छोरी भए पनि साह्रै राम्री थिई । त्यस्ती राम्री तरुनी देखेपछि कान्छौको जवानीको मैन नपग्लिने कुरै भएन । त्यो मैन पगाल्ने मौकाको ताक मात्र कुरेका रहेछन् । गहिरी बारीमा एक्लै घाँस काट्न लागेको बेला सेतुलीको यौवनको रापमा मैन पगाल्न गएछन् । सेतुलीले कचियाले कान्छौंको पाखुरामा हानीछ र बेस्सरी चिच्याइछ ।  कान्छौ रक्ताम्मे हुँदै भागेछन् । हजुर बाले चोख्याउन रातारात काशी लखेट्नु भएछ । त्यति गर्दा पनि हजुर बुबालाई मुद्दा मिलाउन हम्मे हम्मे परेको थियो रे !

हजुरआमा कान्छौंका यस्ता चर्तिकला सुनाउँदै इसानलाई भन्नु हुन्थ्यो – हेर नाति, तेरो काकाका बारेमा के कुरा गर्नु ? आफ्नै कोखबाट जन्मे छोरा हो, खै के भन्नु !

सन् २०१० मा न्यूयोर्क आएपछि इसानले पहिलो पटक विदेशमा दशैं मनाए । श्रीमती इसा, छोरी निसा र छोरी निसानलाई दसैँको टीका लागाइदिए । इसानलाई विदेशको दशैं त्यति रमाइलो लागेन । मनोविज्ञानकी विद्यार्थी इसाले अनुहारको भाकाबाटै थाहा पाइन् कि इसानलाई दशैं रमाइलो भएन । श्रीमानको निधार खाली निधार देखेर उनलाई पनि मजा लागेन, कताकता खल्लो जस्तो लाग्यो ।

इसाले सोधिन्, ‘कि टीका म लगाइदिऊँ त ? भगवानको पूजाको अक्षता मैले लगाइदिने गरेकै छु।’

इसान गम खाए । दसैंको टीका र आशीर्वाद मान्यजनबाट थाप्ने प्रचलन र परम्परा हो। अब यहाँ को मान्यजन छ र टीका थाप्न जानु !

इसान सोच्न थाल्यो – पूर्वीय समाजका मान्छेको जीवनको विवाहबाटै शुरु हुँदोरहेछ । जन्मको आधार त्यसैले खडा गर्दो रहेछ। परिवार, नरनाता र समाज त्यही सम्बन्धबाट हुँदोरहेछ। हुर्किएपछि मान्छे बाबुआमासँग मात्र जीवन बिताउन नसक्ने रहेछ। जीवन जिउन र जीवन बिताउन जीवनसाथी नै चाहिने रहेछ। पश्चिमा समाजको जन्मको आधार विवाह होइन । व्वई फ्रेन्ड र गर्ल फ्रेन्डबाट जन्मको आधार शुरु हुन्छ । विवाह त स्वैच्छिक हो ।

आखिर जीवनसाथी के हो त ? श्रीमान् -श्रीमती। पति – पत्नी। श्रीमान्-श्रीमती एक रथका दुई पांग्रा। दुवै बराबर।  दुवै बराबर हो भने लोग्ने मात्र कसरी मान्यजन हुन सक्छ ? सक्दैन। श्रीमान -श्रीमती दुवैले एक-अर्कालाई दसैंको टीका लगाइदिन किन हुँदैन ?

फेरि इसानलाई लाग्यो – श्रीमती घरकी देवी हुन् । दसैंको नौ दिनसम्म नवदुर्गाको पूजा गरिन्छ। देवीकै आराधना गरिन्छ। उनकै महिमा र प्रशंसा गरिन्छ । तर नबोल्ने देवीको मात्र किन पूजा गरिन्छ ? किन बोल्न देवीको पूजा गरिँदैन ? बोल्ने देवीको झन पूजा हुनु पर्ने हो । त्यही अनुसारको चरित्र र व्यावहार हुनु पर्ने हो ।

आखिर नौ दिनसम्म पूजाको सामग्री मनाउने तिनै श्रीमती हुन् । फेरि दशैंको टीका श्रीमतीबाट श्रीमानले लाउन किन नहुने ? उसको मनमा यस्तै तर्कनाहरू खेले  ।

“के सोचेर बसेको ?” श्रीमतीको बोलीले ऊ झस्कियो । श्रीमतीले भनिन् – “अनि हाम्रो जीवनमा तिमीले भन्दा मैले पहिलो पटक टीका लगाई दिएको होइन त !”

“कहिले ?” इसानले प्रश्न ग-यो

“स्वयंबरमा,” इसाले उत्तर दिई ।

इसानले सम्झयो – हो त । पाखुरा समातेर स्वयंबरको लागि सजाइएको मञ्चमा लगियो। मञ्चको कुर्सीमा राखियो। ऊ पनि बेहुलो, गमक्क परेर बस्यो । बेहुली आएर तीन पटक परिक्रमा गरिन्। रातो टीका लगाइन् र माला पहिर्‍याइन्। यसरी बेहुलीले पहिलोपटक टीका लगाइदिइन्। त्यसपछि मात्र उसले बेहुलीलाई टीका लगाइदियो ।

उनीहरू दुई जोइपाइमा कसले बढी टीका लगाइदिँदो रहेछ त ? त्यो पनि श्रीमतीले । श्रीमतीले हरेक पटक मन्दिर जाँदा टीका लगाइदिन्छिन्। तीजको ब्रत बस्दा लगाइदिन्छिन्। उनको सुस्वास्थ्य र उन्नति प्रगतिको लागि व्रत बस्छिन्। दीर्घायू र सुख शान्ति एवम् प्रगतिको सधैं कामना गर्छिन्, पुकार गर्छिन्।

इसानलाई लाग्यो – मैले त खाली वर्ष दिनमा आउने बडादसैंको टीकाको अवसरमा मात्र लगाइदिँदो रहेछु। वर्षमा एक पटक लगाइदिँदो रहेछु। उनले वर्षमा कतिपटक टीका लगाइदिन्छिन् भन्ने लेखाजोखै छैन ।

मृत्यको नजिक पुगेर बाबुको दर्जा प्रदान गरिन्। जो मान्छे मेरो लागि ब्रत बस्छ, मन्दिरमा गएर पूजा गर्छ। दीर्घायूको कामना गर्छ र पुकार गर्छ। जो मान्छेसँग सहअस्तित्वको जीवन बितिरहेको छ। त्यो मान्छेसँग दसैंको टीका लगाउने नहुने ? कुनै धार्मिक ग्रन्थमा पतिले पत्नीलाई दसैंको टीका लगाइदिन हुन्छ, तर पत्नीले पतिलाई हुँदैन भनेर लेखिएको छ? यदि छ भने सुधार गर्नुपर्छ। समय सापेक्ष बनाउन पर्छ भन्ने भाव उसलाई आयो।

परिवर्तका नाममा संस्कार, संस्कृति र परम्परालाई मेटाउन वा ध्वस्त पार्ने काम गर्न हुँदैन तर त्यसलाई समयअनुरुप परिस्कृत गर्दै लानु पर्दछ। व्यक्ति, परिवार र समाजको हित अनुकूल बनाउन पर्दछ। आखिर आजको व्यवहार नै भोलिको संस्कार र परम्परा हो । यी संस्कार र परम्परा भन्ने पनि मान्छेले नै बनाएका हुन् ।

मान्यजनका गएर टीका लगाउन सक्ने अवस्था पनि भएन । आखिर खाली निधार बस्नु भन्दा आफ्नी जीवन सहयात्री श्रीमतीबाट लगाउनु उपयुक्त लाग्यो । आखिर भगवान्को प्रसाद हो । प्रसाद कसले लगाई दिन हुने र कसले नहुन भन्ने पनि हुन्छ ? जसले लगाई दिए पनि भो नि ! इसानले सोच्यो र श्रीमतीको हातबाट टीका लगाउने टुंगोमा पुग्यो ।

इसाले खुसी हुँदै देवीको प्रसादको स्वरुप दशैंको टीका लगाई दिइन् । छोरो निसानले गितार बजाउदै दशैं गीत गायो र सबैजना नाचे । कति रमाइलो भएको थियो, न्युयोर्कको त्यो पहिलो दशैं ।

इसानलाई सपनाबाट झल्याँस्स बिउँझेजस्तो भयो । अलि अलि चिसो पनि हुन थालेछ । सिडनीबाट छोरीको फोन आयो । छोरीसँग कुरा सकिएपछि मन नलागी नलागी बरण्डाबाट भित्र कोठामा पस्यो । विश्वविद्यालयको फाइनल परीक्षा चलेकोले छोरो पनि दशैंमा घर नआउने भएको छ ।

एक्लै कोठामा झोक्रिएर बस्यो । मनमनै सोच्यो – कम्तीमा श्रीमतीको हातबाट टीका लगाएरै भए पनि खाली निधार बस्नु परेको थिएन । यो साल त श्रीमतीबाट पनि दशैं टीका लगाउन नपाइने भयो ।

इसानलाई नरमाइलो लाग्यो र इसाको सम्झना आयो । इसालाई फोन ग-यो । फोन उठेन । धेरै वर्षपछि माइत पुगेकी मान्छे आफ्नै रमाइलोमा होली भन्ने ठानेर फोन काट्यो ।

अखिर यो धर्तीमा आउँदा पनि एक्लै आउनु पर्ने रहेछ । जाँदा पनि एक्लै जानु पर्ने रहेछ । जन्म मरणको यो सत्यलाई बिर्सेर मान्छेहरू किन एकअर्काप्रति रिस राग र द्वेष भाव राख्छन् भन्ने सोच्दै सिसाको ठूलो झ्यालबाट पर खुल्ला आकाश हेर्दै इसान टोलायो ।