प्रीति आत्रेय ज्ञवाली

सबै कुरा योजना गरेजस्तो हुँदैन
सबै कुरा सोचे बमोजिम हुँदैन
कुनै कुरा सोचिकन हुन्छ पूर्ण
कुनै कुरा नसोचिकनै हुन्छ पूर्ण
कुनै कुनै कुरा हुन्छ अकस्मात
बिना कुनै नियोजित पूर्वानुमान
समयको चक्र घुमिरहन्छ
जो सबैको अनुकूल चल्दैन ।

समयले कसैको
अनुकूल प्रतिकूल सोच्दैन
आफ्नो मात्र परिधि हेर्छ
आफ्नै सीमारेखा हुन्छ यसको
यसलाई कसैको वास्ता हुँदैन
कसैसित तौलिँदैन यसले आफूलाई
कसैसित गर्व पनि गर्दैन
कसैको कमजोरी देखाउँदैन
कसैलाई लघुताभास हुन दिँदैन
चल्छ आफ्नै घडि पला हेरी
अरूको यसले सुन्दैन ।

यो समय हो
आफ्नै धुनमा अनवरत चलिरहन्छ
प्रतिदिन सूर्योदय र सूर्यास्त भएझैँ
आफ्नो घडी अनुसार चल्छ
आफ्नो चालले संसारलाई सिकाउँछ
समय कसैको वशमा छैन ।

यो सर्वव्यापी छ
सर्वशक्तिमान छ
जसले यो संसार नचाएको छ
समयरूपी ईश्वरको
चाहना बिना
कुनै कुरा प्राप्य छैन
कुनै कुरा ग्राह्य छैन ।

प्रीति आत्रेय ज्ञवाली
कवि फलित ज्योतिषाचार्य हुनुहुन्छ ।