आउनु अनि जानु
भेटिनु अनि बिछोडिनु
यही त जीवनको रीत रहेछ
कुनै दिन तिमी रहने छैनौँ
म रहने छैन
यो घर
जहाँ हामीले जिन्दगी बितायौँ
ती मानिस
जसले हामीलाई आजीवन साथ दिए
सबै सबैबाट बिदावादी भई
कुनै दिन हामी निस्कनेछौँ
एक अज्ञात यात्रामा

आज हामीलाई साथ दिएकाहरू
भोलि अरु कसैका पछि लाग्नेछन्
आज हामीलाई ‘तुम्हेव माता
तुम्हेव पिता’ भन्नेहरू
भोलि कुनै नयाँ मालिकको
खोजीमा निस्कनेछन्

द्यौरालीमा बहने बतासले
शितलता दिन
पहाडबाट खसेको झरनाले
झर्झर् ध्वनि सुसेल्न
तिमी चाहिने छैनौ
म चाहिने छैन
प्रकृति निरन्तर
आफ्नै लय र सुरमा
गाइरहेको हुनेछ
नाचिरहेको हुनेछ
परन्तु हामी त्यति बेला
जीवितहरूको यादको सन्दुकमा
बन्द रहनेछौँ

तिम्रो र मेरो मिलन पनि त
एक संयोग थियो
म जीवनको पट्यारिलो यात्राबाट थकित भै
द्यौरालीमा बसेथेँ कतै
तिमी चौतारीको एक्ली पिपल सरी
उभिएकी थियौ कतै
त्यहीबीच
द्यौरालीले चौतारीतिर हेर्दै
प्रणय गीत गायो
चौतारीले द्यौरालीलाई आँखा सन्काउँदै
प्रेम कविता सुनायो
अर्थात
चौतारीले द्यौरालीको हात समायो
द्यौरालीले चौतारीको सिउँदो भ-यो

म चाहुँ या नचाहुँ
तिमी चाह या नचाह
जीवनको कुनै मोडमा
जिन्दगीको गतिमान घडी
टक्क रोकिनेछ
तिम्रो परममित्र म
मेरी प्राणप्यारी तिमी
हामी दुवै हावा सरी
शून्यमा कतै हराउनेछौँ
किन्तु सृष्टिकै अर्को गोलार्धमा
नित्य निरन्तर
नवीन बिजहरू
टुसाइरहेका हुनेछन्
प्रकृतिका पौरखी मालीहरू
अँध्यारा–उज्याला गल्छीहरूमा
भीर अनि कन्दराहरूमा
आशा अनि उमंगका
बुलन्द फूल
फुलाइरहेका हुनेछन्
यसर्थ आऊ
एक शाश्वत गीत
म गाउँछु, तिमी पनि गाऊ–
जीवन एक टीकटीक घडी
मृत्यु जिन्दगीको अन्तिम छडी ।