खित्का छोड्नेगरी हँसा नयाँ वर्ष
प्रेम सङ्गीतको धुनमा
नँचा ए नयाँ साल
अब उन्मुक्त हाँसो हाँस्नु छ ।

जो बित्यो सो बित्यो
अघि बढ्नेले संसार जित्यो ।
लेफ्ट राइट लेफ्ट राइट
कवाज खेला ए नयाँ वर्ष
अब अघि बढ्नु छ ।

अघि बढ्नेहरू लक्षमा पुगे
रोकिने जति दूर छुटे
विवाद हैन
सहमतिको पाठ पढा नव बर्ष
अब हातेमालो गर्नु छ ।

आशै आशमा जुग बित्यो
युद्ध अनि बलिदानले खै के जित्यो ?
चाह थियो जितोस् रोग अनि भोक
देव भनिने दानव निस्केपछि
निको भएन गरिबीको रोग !

अब त फूल फुल्ला भन्यो
उल्टै कोपिला मुर्झाउँछ
अब त बहार आउला भन्यो
झन् पतझड्ले तर्साउँछ ।
म नै राज्य हुँको ज्वालामुखी फुटेपछि
हातलाग्ने सायद यही हो कि ?
सद्बुद्धी दे नयाँ बर्ष
अब लोकतन्त्रको फल चाख्नैपर्छ ।

निषेधले निषेध निम्त्याउँछ
प्रेमले मुर्छित देह बौराउँछ
कुकुरबिरालाको झगडा
अन्त्य गरा ए नयाँ वर्ष
अब शिखर चुम्नु छ ।

बढून् पाइला आशै आशाको क्षितिजमा
फर्किनु छैन अब निराशापूर्ण अतितमा
अगाडि शिखरचुली छ पछाडि किन मोडिनु ?
पूर्णिमालाई घृणा गरी औशीसँग किन जोडिनु ।

बधाइ छ, बधाइ छ ! नयाँ वर्ष
तैँले सुनाउनैपर्छ यो साल मधुर निष्कर्ष
रैति ‘राजा’ बनून् वेग हानुन् आकाशमा
आँसु मोती बनून् चम्किजाऊन् प्रकाशमा ।

सारेगम गा ए नयाँ साल ।
नरसिंहा बजा ए नयाँ वर्ष ।
व्यथाको भारीमुनि सधैँ कति थिचिनु
म होष्टे भन्छु तँ हैँसे भन्
सबै मिली देशलाई उठाउनु छ ।

प्रकाश तिवारी