ऊ शिशु थियो । प्यारो थियो । मसँग लुकामारी खेल्थ्यो । मेरो काखमा निदाउँथ्यो । म रुँदा, ‘अङ्कल नलुनु’ भन्दै आँसु पुछिदिन्थ्यो । कतै निस्कँदा पछ्याउँथ्यो । ऊ चार वर्षको त थियो त्यतिबेला ।
ऊ हुर्कँदै गयो । ठुलो भयो । उसले आफ्नो घर चिन्यो । परिवार चिन्यो । तब म अङ्कलबाट उसको घरबेटीबा भएँ । उसले मलाई ‘घरबेटीबा’ नाता लाउन सुरु गर्दा सोह्र पुगी सत्र लागेको थियो ऊ ।
समय बित्दै गयो । एक दिन उसले विवाह गर्यो । केही वर्षमा बालबच्चाहरू जन्मेँ । उसले उच्च सरकारी ओहोदाधारीको परिचय बनाइसकेको थियो । मनग्य धन–सम्पत्ति जोडिसकेको थियो । ऊसँग आफ्नै घर थियो । यस्तैमा एक दिन उसलाई भेट्न म उसको घर गएँ । ऊ त्यतिबेला एक जना भद्रभलादमीको हातबाट गहकिलो ब्रिफकेश बुझ्दै थियो । उसले मलाई देखेर पनि नदेखे जस्तो गर्यो ।
केही बेरपछि ‘भूतपूर्व घरबेटी बूढा कति कामले मेरोमा आयौ ?’ बस् यति भन्यो ।
त्यसको एक वर्षपछि म पुनः उसको घर पुगेँ । यस पटक त झन् मलाई देखेर ऊ किञ्चित खुसी भएन । ऊ देखेको नदेख्यै गरी कारभित्र पस्यो । मैले उसलाई दायाँ हात फैलाउँदै ‘बाबु’ भनी बोलाएँ । तर ऊ चुपचाप कारमा हुइँकियो ।
भनिन्छ, विष नभएको सर्प र इख नभएको मान्छेको काम छैन । तब मैले पनि आफ्नो मनलाई पहरोझैँ कठोर बनाएँ । अनि ऊ र ऊसँगका मधुर यादहरुलाई स्मृतिको सफ्टवेरबाट सदा सदाका निम्ति डिलिट गर्ने अठोटका साथ त्यहाँबाट निस्केँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ मंसिर २०८२, शनिबार 








