सन् २००८ आउनु केही समयअघिको कुरा हो । विख्यात पौडी खेलाडी माइकल फेल्प्सको हात फ्याक्चर थियो । डक्टर उनलाई पौडी नखेल्न सल्लाह दिँदै थिए । तर फेल्प्सलाई त्यो मञ्जुर थिएन । उनले स्विमिङ्ग अभ्यास जारीराखे । उनीभित्र २००८ को बेइजिङ्ग ओलम्पिकमा विश्व रेकर्ड कायम गर्ने हुटहुटी थियो । जसको तयारीमा फेल्प्स दश वर्षअघिदेखि जुटेका थिए । आखिर २००८ को बेइजिङ्ग ओलम्पिक आइपुग्यो । ओलम्पिकमा फेल्प्सले स्विमिङ्गतर्फ आठ स्वर्ण पदक जिती इतिहास रचे ।

सफलतामा दृढ इच्छाशक्तिको कति धेरै महत्त्व हुन्छ भन्ने कुराको उदाहरण हो यो । दृढ इच्छाशक्तिको प्रसङ्गमा मुहम्मद गोरी र पृथ्वीराज चौहानको युद्धगाथा अर्को सान्दर्भिक विषय बन्न सक्छ । भनिन्छ, पृथ्वीराजसँगको युद्धमा सत्र पटक पराजित हुँदा पनि मुहम्मद गोरीको मन हारेन । उनी हरेक हारपछि ‘और एक बार !’ भन्दै युद्धभूमिमा होमिइरहे र अठारौँ युद्धमा विजयी भइछोडे । तब गोरीको  ता र अदम्य साहसले उक्तिको रचना गर्यो – ‘ट्राई ट्राई अन्टिल यु सक्सिड !’

वैज्ञानिक थोमस एल्वा एडिसन् ‘ट्राई ट्राई अन्टिल यु सक्सिड’ को सबैभन्दा अब्बल उदाहरण हुन् । सुनिन्छ, एडिसन् बिजुलीको बल्व आविष्कार गर्ने क्रममा ९९९९ पटक असफल भएका थिए । परन्तु मुहम्मद गोरीलाई जस्तै एडिसन्लाई पनि असफलता मञ्जुर थिएन । उनी हजारौँ असफलताका बाबजुद नवीन परीक्षणमा जुटिरहे । अन्ततः एडिसन्को १०,००० औँ प्रयास खेर गएन । एडिसन्ले बिजुलीको चिम आबिष्कार गर्नमा सफलता प्राप्त गरे ।

भारतीय कवि सोहनलाल द्धिवेदीले सफल हुन चाहनेहरूलाई सल्लाह दिँदै कविता लेखेका छन् । उनी लेख्छन् –

‘जवतक ना सफल हो निँद चैन को त्यागो तुम् ।

संघर्ष का मैदान छोड् मत् भागो तुम्……. ।’

द्धिवेदीले लेखेजस्तै दुनियाँमा तिनै मानिस सफल हुन्छन् जो सयकडौँ प्रतिकूलताका बाबजुद लक्ष प्राप्तिको दिशामा अबिराम लम्किरहन्छन् । निरन्तर अभ्यास सफलता प्राप्तिको मूख्य सर्त हो । यस सन्दर्भमा ताइकान्दोका बादशाह ब्रुस लीको थप उदाहरण पेश गर्न सकिन्छ । बताइए अनुसार ब्रुस लीको एउटा खुट्टा अर्कोभन्दा एक इन्च छोटो थियो । उनी माइनस दश पावरको चस्मा लगाउथे । ब्रुस ली प्रत्येक दिन पाँच हजार पन्च प्राक्टिस गर्ने गर्दथे । उनी भन्थे– ‘मलाई त्यो मानिससँग डर लाग्दैन जस्लाई दश हजार किकको बारेमा थाहा छ । मलाई त त्यो मानिससँग डर लाग्छ जस्लाई मात्र एक किक आउँछ तर उक्त किकको अभ्यास दश हजार पटक गर्छ ।’

लेखक तथा मोटिभेसन्ल कोच शिव खेडा सफलताको रहस्य बताउँदै भन्छन्– ‘सफल मानिसहरू नौलो काम गर्दैनन् । अरुले गरीआएको कामलाई अलग ढंगले गर्दछन् मात्र ।’ ओलम्पिक बिजेताहरूको सफलताको कडी बताउँदै अर्को एक ठाउँमा उनी भन्छन् – ‘ओलम्पिक महारथीहरू १५ सेकेण्डको प्रस्तुतिको निम्ति १५ हजार घण्टा अभ्यास गर्ने गर्दछन् ।’

निरन्तर अभ्यास नेतृत्व बिकाशका निम्ति समेत नभैनहुने कुरा हो । नेतृत्व रातारात जन्मिँदैन । कुनै व्यक्ति सँगठनको सर्बोच्च नेतृत्वमा पुग्नुको पाश्र्वमा दशकौँ लामो त्याग, तपस्या, संघर्ष र वलिदानको कथा लुकेको हुन्छ ।

सफलता मानिसको सर्बाधिक कर्णप्रीय शव्द हो । सफलता मान्छेलाई चीरकालपर्यन्त अजर–अमर बनाउने गरिमामय घटना पनि हो । किसान होस् या व्यापारी । स्कुल–युनिभर्सिटीको विद्यार्थी होस् या सरकारी सेवाको अधिकारी । नीति निर्माता होउन् या अनुसन्धाता । नेतादेखि अभिनेतासम्म । भोगीदेखि रोगीसम्म । पर्वतारोहीदेखि ज्ञानारोहीसम्म । हरेकको रोजाइ एउटै हुन्छ, त्यो हो सफलता । सफलताको फल अमृतभन्दा मीठो हुन्छ । सफलताको निम्ति ज्यान अर्पिन तयार हुन्छ मान्छे । किन्तु सफलता सजिलै हातपरिहाल्ने विषय चाहिँ होइन ।

डर सफलताको नम्बर एक दुश्मन हो । डर मनोवैज्ञानिक आतंक पनि हो । अंग्रेजीमा भनाइ छ – ‘काउवार्ड डाइ मेनी टाइम्स बिफोर हिज डेथ ।’ भारतीय उद्योगपति तथा विश्वका नम्बर दश बिलेनियर मुकेस अम्बानी भन्छन्– साहस एउटा त्यस्तो तागत हो जोसँग डर पनि डराउँछ ।’ संसारका महान सृजनाहरू उत्साही दिमागका उपज हुन् । सफलताको कालजयी सृजना उत्साही मस्तिष्कको द्वार भएर जन्मिन्छ ।

सफलतासँग जोडेर आइक्यू र इक्यू को चर्चा गर्ने गरेको देखिन्छ । कतिपय मानिस सफलता उच्चस्तरको आइक्यु भएकाहरूले मात्र प्राप्त गर्छन् भन्ने सोच्छन् । तर नतिजाले त्यस्तो देखाउँदैन । विज्ञहरू सफलता प्राप्तिमा आईक्युको भन्दा इक्युको निर्णायक भूमिका हुने बताउँछन् । समस्याबाट विचलित नहुने । आवेशमा नआउने । ससाना कुरामा आक्रामक र उत्तेजित नहुने । सबैसँग घुलमिल हुन सक्ने । समूहमा मिलेर काम गर्ने । सहयोगी र उदार भावना भएको । आलोचना सहन सक्ने । कठीन परिस्थितिहरूमा पनि संयम नगुमाउने । तनावलाई व्यबस्थापन गर्न सक्ने । भावनात्मक पक्षलाई आशातित दिशामा नियन्त्रित वा परिचालित गर्न सक्नेहरूले उच्च आइ क्यु भएकाहरूले भन्दा सफलताको दौड जीत्ने संभावना अधिक रहने उनीहरूको अभिमत छ ।

सफलता हाँसिल गर्नका निमित्त तीब्र हुनु पनि उत्तिकै जरुरी छ । सेकेण्डभरको ढिलाइका कारण जीत अरुको पोल्टामा पर्न सक्छ । म्याराथन दौड तिनैले जित्छन् जो निर्धारित मुकाममा सबैभन्दा पहिले पुग्छन् । अंग्रेजीमा फ्रेज छ ‘अर्लि बर्ड क्याचेज द वर्मस् ।’

सफलता र असफलतामा सोचले समेत त्यति नै महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । वैज्ञानिकहरूले रोगीको सफल उपचारमा सोचले के कस्तो असर पार्छ भन्ने विषयमा ‘प्लेसिवो इफेक्ट’ भनिने अनुसन्धान गरेका छन् । प्लेसिवो इफेक्ट एक किसिमको डमी उपचार पद्धति ‐फेक ट्रीटमेन्ट) हो । यो विधि दोश्रो विश्वयुद्धका घाइते सैनिकको उपचारमा सहायक सिद्ध भएको थियो । त्यतिबेला डक्टरहरूले युद्धका घाइते सैनिकहरूलाई ‘पीडा निवारक मर्फिन’ भन्दै साधारण स्लाइन पानी दिएका थिए । तथापि त्यसले घाइतेहरूको उपचारमा गुणात्मक असर छोडेको थियो ।

सोच मनोविज्ञानसँग सम्बन्धित विषय हो । भनिन्छ, रोगी–अशक्त सोच राख्नेहरू अशक्त–रोगी नै हुन्छन् । त्यस बिपरित स्वस्थ र योग्यतम् बिचार राख्नेहरू योग्य र स्वस्थ नै हुन्छन् । सोच जुन आकृतिको हुन्छ, सफलता पनि त्यही आकृतिकै हुन्छ । सानो सोच राख्नेले ठुलो सफलता प्राप्त गर्ने आशा गर्न सकिँदैन ।

‘जिन्दगीको लेखक व्यक्ति स्वयं हो । जीवन बदल्छु भन्नेहरूले सोचाइ बदल्न जरुरी छ । मष्तिस्कमा चुम्वककै जस्तो गुण हुन्छ । मानिस जस्तो सोच्छ त्यस्तै बन्छ । महान सपना महान प्राप्तिका पूर्बाधार हुन् । जोखिम उठाउन हिच्किचाउने व्यक्ति कहिल्यै सफल हुँदैन ।’ ‘द सेक्रेट’की लेखिका रोण्डा ब्रायन त्यसै भन्छिन् ।

उता ‘म्याजिक अफ थिङ्किङ्ग बिग’ का लेखक ‘डेभिड श्वार्ट्ज’ भन्छन्– ‘पोशाक व्यक्तित्वको ऐना हो । अतः आफूलाई कुशलतापूर्वक प्याकेजिङ्ग गर । मानिसहरू त्यही सामानमा पहिले आँखा गाड्छन् जसको प्याकेजिङ्ग आकर्षक छ ।

यो सोच्नुको कुनै तुक् छैन कि तपाइ आज के हुनुहुन्छ  ! बरु त्यो सोच्नु लाभग्राही हुन सक्छ, तपाइ भविश्यमा के हुने योग्यता राख्नुहुन्छ । सोचलाई प्रत्येक क्षण मलजल गर्दै जाऊ । आफूलाई परिमार्जित गरिराख । स्वयंलाई कम आँक्ने बिचारबाट मुक्त होऊ । संसार क्षमता–योग्यता खरिदबिक्रि हुने हाटबजार हो । जुन व्यक्ति क्षमता, योग्यतालाई उच्चतम् मूल्यमा बेच्ने सामथ्र्य राख्छ सफल सौदागर उही हो ।’ श्वार्ट्जले यस्तै अभिमत दिएका छन् ।

सारमा यही भन्न सकिन्छ, जुन मानिस प्रतिकूल परिस्थितिका बाबजुद निरन्तर अघि बढ्छ ऊ आज नभए भोलि सफलताको शिखरमा अवश्य पुग्छ । अर्थतन्त्रमा जस्तै जीवनतन्त्रमा पनि ‘बुम र रिसेसन्’ आइरहन्छ । महान् मन्दीले महान् समृद्धिको आधारभूमि खडा गर्न सक्छ । आज ‘बुलिस् ट्रेन्ड’मा रहेकाहरू भोलि ‘बियरिस् मार्केट’का सन्सनीपूर्ण समाचार बन्न सक्छन् । बर्तमानले कुडाकर्कट ठान्दै कवाडीखानामा मिल्काएकाहरू कुनै दिन ‘कोहिनूर हिरा’ बनी चम्किन सक्छन् । फिल्मको सुरुवात वियोगान्त भयो भनेर निराश हुनुको कुनै अर्थ छैन । सिनेमाको अन्तिम खण्ड सुखानुभूतिले भरिपूर्ण पनि हुन सक्छ ।