आफैसँगको युद्धमा
हारेपछि समय
निस्तब्ध छ मान्छे ।

आदिमकालदेखि
मान्छेले पहिरिँदै आएको अहंकारको ताज
एकाएक खोसिएपछि
भ्याइ नभ्याइ दर्गुने रक्त संचारमा
मिसिएको छैन
लोभ र लालच ।

भाँसिएर गएपछि
मान्छेका मनभित्र अग्लिँदै गरेको
मोहको चुचुरो
गल्र्यामर्गुलुम ढल्दोरहेछ ।
आकाश छोइएलाझैं गर्दै ठडिएको
ईश्र्याको भव्य महल

झाँगिदै गरेको
क्रोधको घना जंगल त झन
मृत्युको भयकै तापले
खरानी हुँदोरहेछ ।

टाउको माथि यसरी
आगोको मुस्लो मडारिएझैँ
मडारिएपछि ‘मृत्युको त्रास’
डराएर मनमनै भन्दैहोला मान्छे –
“च्यातिदिऊँ
बर्सौंदेखि धमिरा लागेका तमसुकका बिटाहरू
र,काटिदिऊँ
आफन्तकै खुट्टा तान्न
जुर्मुराएका हातहरू
कसलाई के थाहा
भोलिको घाम क–कसको भागमा पर्ने हो ? ”

समय सकिएपछि
पत्ता थुतेझैँ फूलबाट
थुत्नेरहेछ जिन्दगी दिनेले नै
मान्छेको एक सर्को प्राण पनि

बाँकी त केवल
अधुरा सपनाका चाङहरू
र जिन्दगीले दिन बाँकी
अनगिन्ती प्रश्नका उत्तरहरू हुँदारहेछन्

जान्दा जान्दै पनि
उत्तर दिन नभ्याएर
परिक्षाहलबाट
निस्केका विद्यार्थीहरूजस्तै
फुत्त निस्किँदो रहेछ
मान्छेको प्राण पनि

फुटेका हरेक चीजहरूले
फुटेकै बखत मात्र त रहेछ
एकदिन फुट्नुपर्छ भनेर सम्झाउने ।

आगो झोसेर खरानी बनोस्
या
माटोमा समाधी लियो
‘क्षणभंगुर जिन्दगी’ को यथार्थ बोधमा
मलामी मन लिएर फर्केको मान्छेले
घर पुगेर खल्को हालेपछि
सायद बिर्सिन्छ
घाटबाट फर्किँदाको
‘जीवन बोध’
र, मिसिन्छ
उही पुरानै नूनिलो भवसागरमा ।