भक्तपुर / सिर्जना अभियान समाजले शनिबार भक्तपुरमा हरिगोविन्द भोमीद्वारा लिखित ‘समय’ लघुकथासङ्ग्रह विमोचन गर्यो ।

उक्त पुस्तकको विमोचन साहित्यकार मोहनबहादुर कायस्थ, धनमान श्रेष्ठ, खेमराज पाखरेल, विश्वराज अधिकारी, लता केसी, ध्रुव मधिकर्मी, हरिगोविन्द भोमी र डा. शेखरकुमार श्रेष्ठले संयुक्त रूपमा गर्नुभयो ।

विमोचन कार्यक्रममा लघुकथाकार ध्रुव मधिकर्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हाम्रो लघुकथा पाठशालाका संस्थापक तथा लघुकथाकार लता केसीले हाम्रो पाठशालाको गतिविधि प्रस्तुत गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो ।

हरिगोविन्दबाट लिखित प्रस्तुत लघुकथासङ्ग्रहले वर्तमान नेपाली समाजमा देखिएका विकृति विसङ्गति प्रस्तुत गरी समाज सुधारका लागि लाग्न सन्देश दिएको धारणा पुस्तक समीक्षाका क्रममा डा. शेखरकुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले लघुकथा लेखन सीपका बारेमा आफ्ना बुझाइ व्यक्त गर्नु भएको थियो ।

यसैगरी साहित्यकार विश्वराज अधिकारीले लघुकथा लेखन र प्रकाशनले बजारको माग बोके पनि प्रकाशक, वितरक र पुस्तक विक्रेताले यसको उत्तरादायित्व वहन गरी साहित्यकारको प्रवर्द्धन गर्न नसकेको बताउनुभयो ।

यस कार्यक्रममा प्रमुख अतिथि मोहनबहादुर कायस्थले दुई सय पचास वर्षपूर्व आफ्ना पुर्खा पनि भक्तपुरका बासिन्दा भएको भन्दै यहाँ मौलाइरहेको साहित्यिक कार्यक्रमको प्रशंसा गर्नुभयो ।

यस सिलसिलामा उहाँले सिर्जना अभियान समाज, भक्तपुरलाई पच्चिस हजार रुपैयाँ हस्तान्तरण गर्दै उपस्थित भएका लघुकथाकारहरूको एक सय एक लघुकथा सङ्कलन गरी प्रकाशन गरेमा आफूले लगानीको अभिभारा उठाउने घोषणा गर्नुभयो ।

समाजद्वारा आयोजित यस कार्यक्रममा साहित्यकार विनोद नेपाल, शेखर अर्याल, ममता मृदुल, वन्दना घिमिेरे, मदन पोखरेल, शान्ता शाक्य, मनीषकुमार शर्मा समित, कुमुदप्रसाद प्याकुरेल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा लघुकथाकार हरिगोविन्द भोमीले उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो । सो विमोचन सिर्जना अभियान समाजका अध्यक्ष एवं साहित्यकार धनमान श्रेष्ठको सभाध्यक्षमा भएको थियो भने कार्यक्रमको सञ्चालन समाजका सचिव विपिनचन्द्र बनेपालीले गर्नुभएको थियो ।