हरेक नयाँ वर्षले कुनै न कुनै उत्साह बोकेर आएको हुन्छ । अहिले मात्र होइन, प्राचीनकालमा पनि नयाँ वर्षलाई नयाँ आगमनका रूपमा व्याख्या गरिएको पाइन्छ ।

यसै उत्साहलाई लिएर वाल्मीकि रामायणको किष्किन्धा काण्डमा एउटा श्लोक छ……

उत्साहो बलवान् आर्य ! नास्त्युत्साहात्परं बलम् ।

            सोत्साहस्य हि लोकेषु न किञ्चिदपि दुर्लभम् ॥

यो उत्साह मध्ये साहित्य सङ्गीत र कलाक्षेत्रसित पनि जोडिएको छ । कसैले आफ्नै रचना, सङ्गीत र कलाद्वारा आफूलाई त्यसमा समाहित गरेका हुन्छन् भने कसैले अर्काको सुनेर गुनेर हेरेर रसास्वादन गरिरहेका हुन्छन् । मनुष्य जीवनमा परेको यसै प्रभावलाई आधार मानेर होला नीतिश्लोकमा पनि साहित्य, सङ्गीत र कला नभएको व्यक्ति पुच्छर र सीङ नभएका साक्षात् पशु भएको कुरा उल्लेख गरिएको छ ।

यही प्रसङ्गमा वर्ष २०८१ ज्योतिष शास्त्रअनुसार साहित्य सङ्गीत र कला क्षेत्रमा लाग्नु भएका व्यक्तिहरूका लागि कस्तो छ, त्यसको चर्चा गरिनेछ ।

====

मेष:   मेष राशिका जातकहरूका लागि यो वर्ष शुभ रहनेछ । विविध कुराले गत वर्ष रोकिएका अधूरा कामहरूले पूर्णता पाउनेछन् । विभिन्न साहित्यिक क्रियाकलापमा भाग लिने, आफ्नो कलाकौशलको प्रदर्शन गर्ने, वाचनशैली र लय र ध्वन्यात्मकताको सुन्दर संयोजन, कला/नाटक क्षेत्रका गरेको सुन्दर निर्देशन, सम्पादन, भाषा शैली प्रस्तुति आदि कुरामा सफलता मिल्नेछ ।

यस वर्ष कुनै न कुनै पुरस्कार/मान/सम्मान/पदवी पाइने देखिन्छ । नयाँ लेखकहरूले यो वर्षको सुरुका महिनामै पुस्तक प्रकाशन गर्ने सम्भावना छ । साहित्यलाई नै पेशाका रूपमा लिने व्यक्तिहरूले यो वर्ष राम्रै प्रतिष्ठा कमाउनेछन् । डायस्पोराका साहित्य, संगीत, कलाका पारखीहरूका निमित्त पनि यो राशिका व्यक्तिका लागि राम्रो रहनेछ ।

यति हुँदा हुँदै पनि खुट्टा तान्ने व्यक्तिले तपाईँको गल्ती ढुकेर बसेका हुनेछन् । त्यसैले गोपनीयतामा अडिग रहँदै प्रकाशनको काम सुटुक्क गर्नुपर्नेछ । दाम्पत्य जीवनमा/प्रेम सम्बन्धमा पनि बेलाबेलामा वैचारिक मतभेद भैरहेपनि तपाईंको दत्तचित्त देखेर सहमति दिनै पर्ने हुन्छ । राशिको स्वामी मङ्गल यो वर्ष राजा भएकोले यस राशिका जातकलाई जता जाँदा पनि राजसी ठाँटसरह सुविधा मिल्नुका साथै जुनै काममा पनि कतै न कतैबाट विभिन्न माध्यमले सहयोग प्राप्त भै रहनेछ ।

====

वृष:   वृष राशिका जातकका लागि पनि यो वर्ष राम्रै रहनेछ । बृहस्पतिको दृष्टि शुभ भावमा परेकाले शनि कर्मस्थानमा उच्च भएर बसेको हुँदा साहित्य, संगीत, कला क्षेत्रलाई आफ्नो कर्म, पेशा र व्यवसायको रूपमा अर्थोपार्जन गर्नेहरूको लागि यो वर्ष शुभ देखिन्छ ।

शनिको पूणर्दृष्टि चतुर्थ स्थानमा परेकोले व्यावहारिक कार्य गर्दा समस्या हुने, दाम्पत्य जीवनमा खट्पट्, आमासित वैचारिक मतभेद हुन‍े, कुनै काम गर्न खोज्दा विभिन्न कुराको सामना गर्नुपर्नेजस्ता कुराको सामना पनि गर्नुपर्ने हुन्छ । बृहस्पतिको शुभस्थानको दृष्टिले सबै कुरामा समन्वय हुनेछ ।

यति हुँदा हुँदै पनि निर्णयात्मक काम गर्दा लहैलहैमा नगरी आफ्नो मर्यादा र आत्मसम्मानको ख्याल गरी गर्नु उत्तम रहनेछ । शनिको नकारात्मक प्रभावलाई अलग्याएर हेर्दा शनिको सकारात्मक प्रभाव पनि उत्तिकै छ ।

लेखन, गायन र कलामार्फत प्रसिद्धि कमाउने मौका मिल्नेछ । विभिन्न साहित्यिक कार्यक्रममा अग्रसरता, वाचन, गायन एवं कलाकारिता आदिका माध्यमबाट आफ्नो श्रीवृद्धि गर्ने मौका मिल्नेछ । आफ्नो कार्यक्षेत्रमा राम्रो उन्नति प्रगति हुनेछ । पुस्तक प्रकाशन गर्न खोज्नेहरूका लागि पनि समय राम्रो हुनेछ । पुस्तक निकाल्नुअघि विभिन्न संघ संस्थामा आबद्ध रही काम गर्दा सहयोग पुग्ने देखिन्छ ।

शनि यो वर्ष मन्त्रीका रूपमा रहने हुँदा शनिको प्रभावले राम्रै साथ दिनेछ । नकारात्मक प्रवृत्ति भएका व्यक्ति र प्रतिस्पर्धीसित भने  तर्किनु नै लाभदायक रहनेछ ।

====

मिथुन:     वर्षका शुरुवाती दिनहरू मिथुन राशिका जातकहरूका लागि विशेष रहनेछ । यो राशिका व्यक्तिका लागि किताब प्रकाशन गर्न, साङ्गीतिक भिडियो निकाल्ने, कलामा विभिन्न कुराको संयोजन गर्दै प्रदर्शनी गर्ने योग छ । त्यसैगर यो वर्ष तपाईंलाई मानसम्मान मिल्ने, आफ्नो क्षेत्रबाट पुरस्कार मिल्नेजस्ता अवसरहरू प्राप्त हुनेछन् ।

तपाईंलाई मन लागेको क्षेत्रमा  प्रतिस्पर्धात्मक गर्नुहोला । यसमा छनोट हुने मात्र होइन, पुरस्कृत हुने सम्भावना देखिन्छ । अन्तर्राष्ट्रिय मञ्चमा देशको कला क्षेत्रको प्रतिनिधित्व गर्ने मौका मिल्न सक्छ । वाक्पटुता र कार्यशैलीले कार्यक्रमहरूमा धेरै जनाको ध्यानाकर्षण हुँदा देशका लब्धप्रतिष्ठित पुरस्कार, पदक पाउने अवसर जुट्न सक्छ ।

तपाईंको सफलताले आरिस गर्ने व्यक्तिहरू यो वर्ष ह्वात्तै बढ्न सक्छ ।  खुट्टा तान्ने केही व्यक्तिले गर्ने नकारात्मक प्रचारले तत्काल समस्या हुने भएकाले त्यस्ता प्रवृत्तिसित तर्किनुपर्ने बेला छ । आर्थिक लगानी गर्दा वा पुस्तक प्रकाशन तपाईँको भलाद्मीपनको फाइदा उठाउने  हुनेछन् ।

कुनै सार्वजनिक खालको काम गर्दा चिरपरिचत व्यक्तित्वको साथ र सुझावले काम गर्नु भए लगानी खेर जाँदैन । लोकप्रियताले तपाईंको मनमा अहं पैदा हुनसक्छ । यस्तो बेलामा सुझबुझका साथ नहतारिई काम गर्दा राम्रो हुन्छ । आर्थिक लगानी एवं लेनदेनको काम गर्दा विशेष सतर्कता अपनाउनुपर्नेछ ।

====

कर्कटः   आफ्नो कर्ममा अडिग रही काम गर्नुपर्ने बेला छ । अन्यथा साहित्य क्षेत्र परीक्षण कालको रूपमा रहनेछ । साहित्यिक, साङ्गीतिक वा कला जमिसक्नु भएको छ भने चाहिँ आर्थिक रूपमा सबल हुने खालका प्रस्ताव आउन सक्छ ।

कर्कट राशिका साहित्यकारहरूलाई गीत, चलचित्रको कथा वा व्यवसायिक कामको प्रस्ताव आउन सक्छ ।

अढैया शनिको प्रभावले बेला बेलामा विविध अड्चन र मनमा नकारात्मक सोच पलाउन सक्छ । तर एघारौँ बृहस्पतिले पनि वर्षभरि साथ दिने भएकाले तपाईंको मानसिकतामा सन्तुलनमा ल्याउनेछ ।

आफूले सदस्यता लिएको संघसंस्था वा निकायको प्रतिनिधित्व गर्दै प्रतियोगितात्मक कार्यमा भाग लिने मौका मिल्न सक्छ । देश वा विदेशमा गएर तपाईंमा भएको साहित्य, संगीत वा कलामार्फत दर्शक श्रोतालाई प्रभावित बनाउन सक्नुहुनेछ ।

यो राशिका व्यक्तिहरूको मन कोमल र सरल भएकाले आर्थिक प्रलोभन देखाएर नाटकीय शैलीमा तपाईंलाई फसाउने सम्भावना हुन्छ । त्यस्ता धूर्त व्यक्तिबाट भने सतर्क रहनुपर्नेछ ।

====

सिंह:   नयाँ वर्ष शुरु हुँदा बृहस्पति भाग्यकारक नवम स्थानमा रहेकोले वर्षका शुरुवाती दिनहरू आफू अनुकूल रहनेछन् । धर्म, समाज, भाग्य, पौरख आदि कुरामा सम्बद्ध रहेर साहित्य, संगीत र कलाको प्रवर्द्धन गर्ने र तत्तत् क्षेत्रमा प्रतिष्ठा पाइनेछ ।

तपाईंको वाक्पटुता र कार्यशैलीले धेरै जना प्रभावित हुनेछन् र सजिलैसित तपाईँलाई सहयोग गर्न अग्रसर रहनेछन् । कर्मक्षेत्रबाट राम्रो आम्दानी पाइनुका साथै रोजगारीका विभिन्न अवसरहरू पनि प्राप्त हुनेछन् ।

वैशाखको उत्तरार्द्धमा बृहस्पतिको कर्मस्थानको प्रवेशसँगै कर्ममा बढी खट्नुपर्ने हुन्छ । अरूको साथ र सहयोग भन्दा पनि आफ्नै बाहुबलले गरेको कर्ममा विश्वास गर्नुपर्नेछ । कुनै साहित्यिक, साङ्गीतिक वा कलात्मक कार्यको प्रतिनिधित्व गर्दै वैदेशिक यात्रा गर्ने मौका जुट्न सक्छ ।

आकस्मिक स्वास्थ्य समस्या आइलाग्न सक्छ । तर यस्ता समस्या आइहाले पनि समयमा त्यस्ता समस्याबाट पार पाउनु हुनेछ ।

====

कन्या:       सुरुका केही महिना ठिकठिकै रहेपनि त्यसपछिको  समय तपाईंका लागि अनुकूल हुनेछ । भाग्य स्थानमा बृहस्पतिको वास हुँदा यस जातकका व्यक्तिको यो वर्ष भाग्योदय हुने योग छ । साहित्य, सङ्गीत कलाक्षेत्रमा आबद्ध व्यक्तिहरूले यो वर्ष नसोचेको फड्को मार्न सक्छन् । सिकारु व्यक्तिहरूले पनि आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्दै छन् । लहैलहै र ठट्टाकै भरमा यी क्षेत्रमा हात हालेका व्यक्तिलाई पनि चिट्ठा परेसरह हुनसक्छ । सम्बन्धित क्षेत्रमा आबद्ध रही वैदेशिक यात्रा गर्ने कार्यक्रम गर्ने मौका मिल्न सक्छ । प्रवासमा रही साहित्य-संगीत-कलाको सेवा साधनमा तल्लीन व्यक्तित्वलाई पनि अपेक्षित सफलता मिल्नेछ ।

चलचित्र वा म्युजिक भिडियोमा काम गर्ने मौका पनि मिल्न सक्छ । केही प्रतिकूल भावका कारण अनाहकमा काम गर्दा अनपेक्षित रीस उठ्ने, रक्तचापको मात्रामा घटबढ हुने, आफ्नो कुरा बुझाउन असमर्थ हुने जस्ता समस्याको पनि सामना गर्नुपर्ने हुन्छ ।

यो बेला आफूले आफैलाई सम्झाउँदै शान्त र तटस्थ रही आफ्नै सुझबुझ र बौद्धिकताको प्रयोग गर्नुहोला । पौराणिक, ऐतिहासिक र शास्त्रीय विषयगत आधारमा रहेर कलम चलाउनेहरूको लागि पनि राम्रो समय छ । समग्रमा यी तीनै क्षेत्रले यो वर्षमा राम्रो उपलब्धि प्राप्त गर्नेछन्  ।

====

तुलाः    अनुकूल ग्रहका कारण तुला राशिका जातकका वर्षका शुरुवाती दिनहरू राम्रै रहनेछन् । पंचम स्थानमा शनि स्वगृही, छैठौँ राहु र सातौं बृहस्पतिले शुभ फल प्रदान गर्नेछन् । साहित्य-संगीत-कलानुरागी एवं यसबाट जीविकोपार्जन गर्नेहरूले रामे सफलता प्राप्त गर्नेछन् । काम गर्ने पराक्रमी मन आँट आत्मविश्वास, दम्पतीको साथले गर्दा सहजतया काम सम्पन्न गर्न सकिनेछ । मित्रवर्गबाट आआफ्नो स्थानबाट अपेक्षित सहयोग पाइनेछ । यस वर्षको मन्त्री शनि भएको र पाँचौँ स्थानमा शनि आफ्नै घरमा बसेका कारण पनि यो वर्ष साहित्य, संगीत र कलाले प्राविधिक, कूटनैतिक, शैक्षिक, सामाजिक, राजनैतिक आदि क्षेत्रमा आफ्नो राम्रो पकड जमाउनेछ । यी विषयसँग आबद्ध व्यक्तिले, साहित्यिक शैक्षिक पुस्तक लेखक बिक्रेता एवं  व्यवसायीहरूले पनि अपेक्षित लाभ प्राप्त गर्नेछन् ।

वैशाखको उत्तरार्द्धमा बृहस्पतिको आठौँ स्थानको परिवर्तनले केही प्रभाव भने पार्नेछ । कसैका कुराले मनमा आघात हुने, नकारात्मक सोच मनमा हाबी हुने, आफूलाई कमजोर ठान्ने, मानसिक विचलन हुने जस्ता समस्या आउने हुनसक्छ । यस्ता कुराहरूको संकेत मिलेमा बेलैमा आफूलाई संयमित गराउँदै आवश्यक सरसल्लाह लिँदै काम गर्नु उचित हुनेछ । हतोत्साहित नभै आफ्नो गोपनीयतामा टिकेर शत्रु वर्गसित सजग रहँदै काम गर्नुपर्नेछ । यो वर्ष शनि मन्त्री र पाँचौँ स्थानमा भएकाले तपाईंको मनमा नकारात्मक कुराले असर पार्ने छैन ।

====

वृश्चिक:     यस जातकका लागि वैशाखको उत्तरार्द्धपछिको समय राम्रो रहनेछ । बृहस्पतिको पूर्ण दृष्टि वृश्चिक राशिमा परेकोले जातकले व्यक्तिगत काममा सफलता पाउनेछ ।

साहित्य, संगीत र कलाका पारखीले आफ्नो लेखन गायन कला आदि क्षेत्रमा बौद्धिक तडका लगाउँदै सफलता प्राप्त हुनेछन् । यसै सिलसिलामा छात्रवृत्तिमा विदेशमा पढ्न जाने मौका पाउन सक्छन् । कसैकसैले देशको प्रतिनिधित्व गर्दै कुनै कार्यक्रम वा सम्मेलनमा प्रवासमा आफ्नो उपस्थिति जनाउन सक्छन् । चौथो भावको शनिले पारिवारिक जनसित वैचारिक मतभेद, कामविशेषले गर्दा जागिरको सिलसिलामा परिवारसित बिछोड, खुसी हुन खोज्दा केही न केही कुराले बाधा गर्ने, अपजस काममा किचलो हुनसक्छ ।

आफ्नै  प्रयासमा किताबको प्रकाशनमा पुस्तक, म्युजिक भिडियो, कला प्रदर्शनी हुने देखिन्छ । विभिन्न साहित्यिक साङ्गीतिक कलात्मक व्यक्तित्वसित चिनजान गर्ने अवसर मिल्नेछ । केहीले प्रसिद्ध व्यक्तित्वको सहयोगमा आफ्नो कार्यक्षेत्रमा अगाडि बढ्ने प्रयास गर्नेछन् ।

यो वर्ष शारीरिक एवं मानसिक स्वास्थ्यको पनि ख्याल गर्दै काम गर्नुपर्ने बेला छ । तनावमा भएका बेला सञ्जाल या कुनै सामाजिक स्थानमा व्यक्तिगत कुरा नलेख्नु नै उचित रहनेछ । समय र परिस्थितिको ख्याल गर्दै काम गर्न सके आआफ्नो क्षेत्रबाट अपेक्षित लाभ लिन सकिनेछ ।

====

धनु:   यो वर्ष धनु राशिका जातकका लागि मध्यम छ । साहित्य, सङ्गीत र कलाक्षेत्रमा आबद्ध व्यक्तित्वहरूका लागि वैशाख महिनाभरि शुभ देखिन्छ । यो बेला विदेशमा गएर वा डायस्पोराबाटै पनि आफ्नो सक्रियता देखाउने प्रयत्न हुनेछ । त्यसपछि भने केही अप्ठ्याराहरू आउनेछन् ।

तृतीय स्थानको शनिले काम गर्ने पराक्रम वृद्धि गरेर आफ्नो पकड जमाउँदा जमाउँदै पनि बृहस्पतिको छैठौँ बसाइ सराइले वैशाखको उत्तरार्द्धबाट नकारात्मक प्रभाव पार्नसक्छ । चतुर्थ स्थानको राहु र दशम केतु, दशम, द्वितीय र दोस्रो स्थानमा छैठौँ बृहस्पतिको दृष्टिले खासै सकारात्मक फल दिन नसक्दा धनु राशिका जातकका लागि वैशाख पछिको समय त्यति अनुकूल देखिँदैन जसका कारण साहित्य सङ्गीत र कला क्षेत्रमा आफूले प्रयत्न गर्दागर्दै पनि चाहेजस्तो प्रगति नहुन सक्छ ।

तेस्रो शनिको पराक्रमले काममा ऊर्जा दिनेछ तापनि समय परिस्थिति र सङ्गतिका कारण सोचेझैँ उपलब्धि पाउन कठिनाइ पर्नेछ ।

तेस्रो स्वगृही शनि र वर्षको मन्त्री शनि भएकाले तपाईंको आत्मविश्वासलाई डग्न नदी पराक्रमी हुँदै जसरी पनि आफ्नो ठाउँ लिन र सफल हुन प्रयत्नशील रहनुहोला । भाग्यमा भन्दा परिश्रममा विश्वास राख्नुहोला ।

====

मकर:      यो वर्ष मकर जातिको लागि राम्रो रहनेछ । वैशाखको १७ गतेसम्मको समय अनुकूल नभए पनि १८ गते बृहस्पतिको पाँचौँ गृहप्रवेशले साहित्य-सङ्गीत-कलाक्षेत्रका लागि सफल साबित रहनेछ । तेस्रो राहु पनि सहयोगी बन्नेछ ।

आफ्नै पौरख र साधनाले आफूलाई अग्रसर बनाउँदै जातकले आफूलाई उपर्युक्त तत्तत् क्षेत्रमा आफ्नो वर्चस्व जमाउन सफल हुनेछ । लगनशीलताले गर्दा विदेशमा पढ्न छात्रवृत्ति पाउनेछन्  भने कसैले विदेशमा अध्यापन गर्ने मौका पनि पाउनेछन् ।

यो वर्ष लेखन शिल्प कला सङ्गीतलाई पहिल्याउँदै कुनै साहित्यका क्षेत्रमा नयाँ आयाम ल्याउने काम गर्नेछन् । साहित्य संगीत र कलाले पनि रोजगारी प्रवर्द्धन गर्न सक्छ । थोरै भए पनि आय आर्जन होला ।

प्रतिस्पर्धीले तपाईँले गरेको काममा आँखा लगाउन सक्छन्, गल्ती औँल्याउने बाटो कुरेका हुनेछन् । कहिलेकाहीँ आकस्मिक स्वास्थ्य समस्याले काममा बाधा गर्न सक्छ । अनावश्यक खर्चका बाटाहरू पनि निस्कनेछन् ।

====

कुम्भ:       कुम्भ राशिका जातकका लागि यो वर्ष त्यति अनुकूल छैन । पहिलो स्थानको शनि त्यति अनुकूल हुँदैन र आफ्नै घरमा बसे पनि शुभ फल नदिने र वैशाख १८ देखि बृहस्पति चौथो हुने, जुन त्यति राम्रो मानिँदैन । कुम्भ राशिका लागि यो वर्ष साहित्य सङ्गीत कलाका क्षेत्रका खासै उपयुक्त समय नहुन सक्छ ।

मनमा विभन्न तर्क कुतर्क खेल्ने, परिवारजनसित वियोग गराउने, स्वास्थ्य आदि कुरामा विविध खर्च, काम गर्दा अपजस पाइने अनाहकमा दोषी बन्नुपर्ने जस्ता कुराले काम गर्ने मानसिकतामा खलल पुग्नसक्छ  । जसका कारण मनले चाहेर पनि यी क्षेत्रमा चाहेजस्तो समय दिने र काम गर्न सकिने अवस्था छैन । धेरैजसोलाई यात्रा गरिराख्नुपर्ने, केहीलाई वैदेशिक यात्रामा रहनुपर्ने हुँदा उपर्युक्त क्षेत्रमा समय र लगानी दिन सकिने अवस्था नहुन सक्छ । डायस्पोराबाट लेख्नेहरूले भने यस क्षेत्रमा समय दिन सक्छन् ।

सहयोगी भावना भएका व्यक्तिको साथ पाउन साहित्य संगीत कला क्षेत्रमा थोरै अगाडि बढ्न सहयोग पुग्नेछ ।

====

मीन:   मीन राशिका जातकहरूका लागि पनि यो वर्ष वैशाखको उत्तरार्द्धपछिको समय अनुकूल रहनेछ । बाह्रौँ शनिले काममा बाधा अनावश्यक खर्चको सामना गर्नुपरे पनि तेस्रो बृहस्पतिले समन्वय ल्याउन मद्दत गर्नेछ । आफ्नै पराक्रमले आफ्नो अनुकूलता हेरेर काम गर्ने प्रयास हुनेछ । बृहस्पतिको सप्तम, नवम र एघारौँ स्थानको दृष्टि रहने हुँदा साहित्य-सङ्गीत-कलाक्षेत्रमा आबद्ध व्यक्तिहरूले समयानुकूल रही समसामयिक कुरामा केन्द्रित रही आफूलाई प्रस्तुत गर्न खोजिनेछ । ऐतिहासिक, पौराणिक, शास्त्रीय, सामाजिक आदि क्षेत्रमा भएका विविध कुरालाई परिमार्जन गर्ने प्रावधानका साथ प्रविधिको मार्फत् नयाँ प्रस्तुति दिन खोजिनेछ । बौद्धिक क्रियाकलापलाई पस्किँदै नयाँ विधा वा कुराको खोज अनुसन्धान गरे बापत कुनै मान सम्मान पाइन सक्छ । अन्तर्राष्ट्रियता स्तरमा प्रतिस्पर्धामा भाग लिन कुनै कारण खोज्दै त्यसै अनुरूप काम गर्न खोजिनेछ । कसैकसैले यी र यस्तै खालका विविध पक्ष समेट्ने क्रियाकलाप र अध्ययनका लागि छात्रवृत्ति पाउने वैदेशिक अध्ययन र रोजगारी पाउने सम्भावना पनि छ ।

कसैकसैले यो महिनामा डेब्युका रूपमा नयाँ पुस्तक निकाल्नेछन् । कसैको विविध कुरा समेटिएको साङ्गीतिक भिडियो सार्वजनिक गर्ने, एकल कला प्रदर्शनी गर्ने जस्ता अवसरहरू पाइने सम्भावना छ । समग्र रूपमा हेर्दा संयमित र धैर्य हुँदै लगनशीलताका साथ काम गर्ने सके साहित्य-सङ्गीत-कलाको क्षेत्र फलदायी नै देखिन्छ ।