एक समयमा म साहित्यकी विद्यार्थी मात्रै थिएँ । मात्रै शिशु लेखक थिएँ । यद्यपि अरूले लेखेकोमा मनासिब त्रुटि फेला पार्थें । आफू भने त्रुटिरहित लेख्न सक्तिनथेँ । सायद यस्तो रोग अरूलाई पनि लागेको हुनुपर्छ ।
त्यस समयमा म कविता लेख्थेँ; रहरमै सीमित थियो । कथा लेख्थेँ; पत्रकारिताको प्रभाव आएर तथ्यपरक मात्रै हुन्थ्यो । साहित्यिक पार्न कमजोरी देखिन्थ्यो । लेख्न त कविता, निबन्ध र कथाहरू थुप्रै लेखियो । स्मरणीय रचना भने कमै भए ।
यसै सिलसिलामा २०७८ सालतिर धेरै नसोचीकनै लघुकथाको महासागरमा हाम फालिछ । अहिले यसैमा रमाउने प्रयास जारी छ । सुरुआतमा सामाजिक सञ्जालमा लघुकथाको बाढी आयो । त्यसलाई रोक्ने बाँध भने कफल्लो थियो । लघुकथा लेखन अराजकतातिर ढल्कने खतरा भयो ।
जे लेखे पनि र जसरी लेखे पनि लघु हुँदा लघुकथा भयो भन्ने अराजक शैलीको विकास हुने खतरा बढ्न गयो । अनेक सिद्धान्तकारहरूले खबरदारीको सुसेली हाले । अहिले पनि हालिरहेकै छन् । चनाखो हुनेले सही मार्ग पक्रे । बेवास्ताको विष पिउनेहरू अझै अराजक बाटामै मख्ख पर्दै हिँडिरहेकै छन् ।
त्यसबेला अस्तित्वमा रहेका लघुकथा कुनो, आधुनिक नेपाली लघुकथा, नमस्ते आधुनिक लघुकथा मञ्च, हाम्रो लघुकथा केन्द्र, नेपाल, लघुकथा सौन्दर्यजस्ता समूहले आआफ्नै सामर्थ्यले भ्याएसम्म कार्य सम्पादन गर्दै आएका थिए ।
बढ्दो बाढीलाई अराजक हुनबाट शिष्ट पाराले रोक्न र सर्जक चाहनालाई सम्बोधन गर्न अरू समूहहरू खुल्नु जरुरी देखियो । सबैले आफ्नै ढङ्गले प्रयास गरेकै थिए । त्यही प्रयासमा अर्को इँटा थप्ने सोद्देश्यले अर्को समूह थप्ने रहर मेरो मनमा उब्जियो ।
लघुकथा लेखन, वाचन, टिप्पणी तथा विमर्श जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अन्य मातृभाषाका लघुकथालाई प्रोत्साहन दिने पवित्र मनोभावनाले २०७८ कार्तिक ३ गते मैले लघुकथा प्रतिष्ठान खोलेँ । कुनै छलफल नै नगरीकन नन्दलाल आचार्य र मनोहर पोखरेललाई जोडेँ ।
खुलेकै दिन झिनो आशाले नन्दलालले मनोहर जीसँग कुरा राख्नुभयो । आशा गरेभन्दा बढता उत्साहित बनेर मनोहरजी उठ्नुभयो । मानवअधिकार र पत्रकारिताको रोजीरोटीको काममा थोरै कटौती गर्नुभयो । मानसिक रूपले जागरुक बनेर नन्दलालजीले कम्मर कस्नुभयो । दुवै जना लघुकथा प्रतिष्ठान मार्फत लघुकथाको उन्नयन दत्तचित्त हुनुभयो । यसरी मैले इमानदार एक हल गोरु (लघुकथाकर्मी) पाएँ । अर्थात् मनोहर र नन्दलालको बिचमा म लक्ष्मी प्रवेश गरी मनोहर+लक्ष्मी+नन्दलाल समूह बन्यो । जो मलन समूहका नामले अद्यापि ८०० औँ श्रृङ्खला कटाइसकेको छ । र, नामजस्तै लघुकथाका फोहर कसिङ्गरलाई बढार कुँडार गरेर लघुकथाको आँगन सफा गर्दो छ ।
स्थापनाकै दिनबाट हरेक साँझ उहाँहरूले लघुकथा वाचन र टिप्पणीको काम थाल्नुभयो । अर्काका लघुकथामा स्वर दिनु सजिलो थियो तर सबल-दुर्बल छुट्याउनु फलामको चिउरा चपाउनु सरह भयो । सैद्धान्तिक ज्ञानबिना यो र त्यो भन्नु गलत हुन्थ्यो । जीवनमा अनेकन् जोखिम मोलेका र जोखिमलाई घिउभात सरह मान्ने हलगोरुलाई लघुकथामा आफ्नो पाइन देखाउने माध्यम मात्र म बनेँ । इतिहास मात्रै मेरो हो काम भने उहाँहरूकै हो ।
हामीले लघुकथाको सिद्धान्त पढ्यौँ, साहित्यकोश उल्टायौँ, विज्ञहरूको सम्पर्कमा रह्यौँ । आफूहरू खारियौँ र निकटस्थहरूसँग हात मिलायौँ । यसरी हामी लघुकथा यात्रामा एकोहोरियौँ ।
त्यसबेला आधुनिक नेपाली लघुकथा र हाम्रो लघुकथा केन्द्रले लघुकथा वाचन गर्थे तर टिप्पणी गर्ने टाउको दुखाउँदैनथे । त्यो खतरनाक टाउको दुखाउने जोखिम मनोहर र नन्दलालले मोल्नुभयो र मोल्दामोल्दै स्थापित समेत गराउनुभयो । यसबाट लघुकथा लेखनमा शुद्धीकरण हुन थाल्यो । पछि हाम्रो लघुकथा केन्द्रले त विज्ञहरूकै समूह जुटाई विमर्श थाल्यो । लघुकथा प्रतिष्ठानको सन्दर्भ लघुकथा प्रतियोगिता र आधुनिक नेपाली लघुकथाको साप्ताहिक लघुकथा प्रतियोगिताहरूले मानक लघुकथा लेखन अभियानलाई स्थापित गर्यो ।
अहिलेसम्म लघुकथा प्रतिष्ठान, नेपालले दिनहुँ फेसबुक समूहमा लाइभ लघुकथा वाचन, विश्लेषण तथा प्रशिक्षणको कार्य गर्दै आएको छ । ती सबै कार्यक्रमको भिडियो युटुभमा भण्डारण गरी आउँदा पुस्ताका लागि समेत समुचित खुराक दिलाउने कार्य गर्दै आएको छ ।
मलन समूह अर्थात् मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्यको विशेष सक्रियतामा कार्यक्रम हुने गर्दछ । हाल दर्जनौँ व्यक्तिले लघुकथा लेखन, वाचन, विमर्श तथा टिप्पणी गर्दै आउनुभएको छ ।
प्रतिष्ठानले “सन्दर्भ“ नामक लघुकथा प्रधान अनलाइन डिजिटल पत्रिका समेत सञ्चालन गर्दै आएको छ । विभिन्न सन्दर्भमा सर्जकहरूलाई सम्मानोपहार प्रदान गर्दै आएको छ । नेपाली लघुकथाको विकासमा प्रतिष्ठान सक्रिय अवस्थामा छ । स्थापना २०७८ साल कार्तिक ३ गतेदेखि नै हालसम्म ८०० औँ श्रृङ्खला एक दिन पनि बासी नराखी पार गरिरहेको छ । निकट भविष्यमै अर्थात् कुशे औँसीसम्मको समय सीमा दिई मातापिता सम्मान दिवसको अवसरमा जुनसुकै विषयमा कालजयी लघुकथा लेखन प्रतियोगिता सञ्चालन गरेको छ । हालसम्म अढाई दर्जन लघुकथा आएको र समय सीमाभित्र १५० को हाराहारीमा कालजयी लघुकथा आउने कुरा संस्थापक तथा व्यवस्थापक पक्ष विश्वस्त छ ।
हाम्रा अनेक सन्दर्भ प्रतियोगितामा निर्णायकको रूपमा डा. पुष्करराज भट्ट, खेमराज पोखरेल, धीरकुमार श्रेष्ठ, रामविक्रम थापा, तुलसा काफ्ले, सुमित्रा योञ्जन, मन्दिरा मधुश्री, आश्मा अर्याललगायतले कार्य सम्पादन गरेर सघाउनुभएको छ ।
यस अघि अपाङ्ग सन्दर्भ, सहिद सन्दर्भ, जातीय छुवाछुत उन्मूलन सन्दर्भ, नारी दिवस सन्दर्भमा प्रतियोगिता सञ्चालन भइसकेको छ । प्रथम वार्षिकोत्सवमा समेत २०७९ कार्तिक ३ मा धूमधामका साथ मनाएको छ । “सन्दर्भ“ पत्रिका पनि तिनै सन्दर्भमा प्रकाशन भई तीस भन्दा अधिक मुलुकमा पुगिसकेको अवस्था छ । हाल तीन हजार सदस्य रहेको प्रतिष्ठानले आउँदो वार्षिकोत्सवसम्ममा पाँच हजार सदस्य सङ्ख्या पुर्याउने र गुणस्तरमा समेत आमूल परिवर्तन गर्ने गरी कार्य गर्दै आएको छ ।
तिलक तारामी रेशाली, रचना शर्मा, प्रेम पुन मगर, रुद्र अधिकारी, अच्युत घिमिरे, पूजन न्यौपानेलगायतका सर्जकका लघुकथा उत्कृष्ट घोषणा भइसकेका छन् ।
हाल लघुकथा प्रतिष्ठानमा डा. पुष्करराज भट्ट, पुण्य कार्की, खेमराज पोखरेल, रमेन्द्र कोइराला, डा. राजेन्द्र विमल सहितको विज्ञ समूहले नेपाली र मैथिली भाषामा लघुकथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।
खगेन्द्र बस्याल, निरज कोइराला, ममता मृदुल, ललिता झा, देवेन्द्र मिश्र लगायतका महानुभावले समेत आफ्नो बौद्धिकता पस्केर लघुकथाकारलाई बौद्धिक खुराक प्रदान गर्दै आउनुभएको छ ।
स्थापना कालमा अभाव मेट्न अमृता घिमिरे, बालकृष्ण काफ्ले, विद्यानन्द वेदर्दी, विन्देश्वर ठाकुर, प्रेम विदेह, लक्ष्मीकान्त चौधरी लगायत विशेष सक्रिय रहनुभयो ।
हाल कार्यक्रम सञ्चालनको रूपरेखा यस्तो छ-
१. आइतवार (सर्जक संवाद कार्यक्रम) प्रस्तोता- मनोहर पोखरेल ।
२. सोमवार (लघुकथा प्रशिक्षण कार्यक्रम) प्रस्तोता- श्रीप्रसाद पोखरेल र मीना साह, प्रशिक्षक- डा. पुष्करराज भट्ट ।
३. मङ्गलवार (लघुकथा प्रशिक्षक कार्यक्रम) प्रस्तोता- लक्ष्मी रिजाल, संयोजक- खगेन्द्र बस्याल, सहजकर्ता- नन्दलाल आचार्य ।
४. बुधवार (लघुकथा सुन्ने-सुनाउने कार्यक्रम) प्रस्तोता- अम्बिका बास्तोला र पूजन न्यौपाने, संयोजक- निरज कोइराला ।
५. बिहीवार (लघुकथा प्रशिक्षण कार्यक्रम) प्रस्तोता- पं.ज्यो. तोयनाथ सुवेदी, प्रशिक्षक- पुण्य कार्की ।
६. शुक्रवार (लघुकथा प्रशिक्षण कार्यक्रम) प्रस्तोता- शारदा दाहाल, प्रशिक्षक- खेमराज पोखरेल ।
७. शनिवार (लघुकथा प्रशिक्षण कार्यक्रम) प्रस्तोता- कृष्ण तिमिल्सिना सानोबाबु, प्रशिक्षक- रमेन्द्र कोइराला ।
त्यसैगरी श्यामसुन्दर यादव पथिक, श्यामपृत मण्डल, सुधा देव, माधव पोखरेल गोज्याङ्ग्रे, सुनिता निरौलालगायतको बौद्धिक लगानीले समेत लघुकथा प्रतिष्ठानले ८०० औँ दिन सफलतापूर्वक पार गरेको छ ।
प्रतिष्ठानको आगामी योजना “लघुकथाकार कोश“ निर्माण गर्नु रहेको छ । उक्त कार्यमा तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।
पुरानै कार्यक्रमलाई संस्थागत विकास गर्न सकियो भने पनि लघुकथा उन्नयनको दिशामा बलियो काम हुने विश्वासका साथ मलन समूह अगाडि बढिरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।