सानेपा खरीबोटमा अवस्थित नेपाल विकास अनुसन्धान प्रतिष्ठानको कार्यालयमा मलाई साढे दश बजे पुग्नु थियो । मैले सधैंझैं मोबाइल एपबाट बोलाउन मिल्ने ट्याक्सी खोज्न थालें ।
हाल नेपालमा ‘इन-ड्राईभ’ र ‘पठाओ’ नामक सेवाहरू प्रचलनमा छन् । एक चालकले मोबाइलको स्क्रीनमा देखिएको न्यूनतम मूल्य नै स्वीकारे । उनी सहज तरीकाले म उभिएको स्थानमा आइपुगे ।
म एक्लै हुँदा पछाडिको सीटमा बस्न रुचाउँछु । मैले उनलाई अगाडिको सीट अलि सार्न भनें, “मलाई र तपाईं दुवैलाई भगवानले लामखुट्टे ज्यान दिएछन् ।”
उनले गाडीको गति बढाए । मेरो अभिव्यक्तिले मुस्कुराएको संकेत पनि गरे । उनको कद पनि मेरो जस्तै अग्लो थियो ।
“तपाईंको घर कता हो त ?”
मैले वार्तालाप शुरू गरें । उनको जवाफले मलाई सुखद आश्चर्य दियो ।
‘मनहरी !’
म विगत दुई वर्षमा मनहरी चार पटक गएँ होला । पूर्व-पश्चिम राजमार्गमा पर्ने यो बजार बडो रमाइलो लाग्छ मलाई । महाभारत पर्वत श्रृंखलाबाट उत्पत्ति भएको मनहरी नदीको किनारामा छ यो बजार । मनहरीमा घर भएको व्यक्तिले माछाको दृष्टान्तलाई नरुचाउने कुरा भएन ।
मैले “धार्नी पुर्याउने” कि “असला समात्ने” भन्ने प्रसङ्ग निकालें ।
“तपाईंको त धार्नी पुर्याउने रणनीति रहेछ ।”
“त्यो कसरी होला सर ?”
“अरूले इन-ड्राईभको एपले देखाएको न्यूनतम दर रेट भन्दा बढाएर माग गर्छन् । यसको मतलब ठूलो असला खोज्ने हो । तपाईं भने जति देखायो त्यही स्वीकार गर्नुहुँदो रहेछ ।”
“त्यो त हो सर ! म त जति देखायो त्यही टिपिहाल्छु ।”
“सही हो नि । आखिर धार्नी पुर्याउने सवाल न हो । झिँगे, कत्ले, जे भए नि अझ भ्यागुता, वा गँड्यौलै टिपे पनि के भो र ! आखिर बेलुका सम्ममा धार्नी पुर्याउने न हो !”
मैले जानीजानी संवादलाई भुइँमा ओरालेर उत्कृष्ट बनाउने उद्देश्यले भ्यागुता र गँड्यौलाको उदाहरण गरें ।
“झिँगा मारेर बस्नु भन्दा हातमा आएको अवसर छोड्नुहुन्न भन्ने सोच राखेको छु सर मैले । २१ वर्ष भयो काठमाडौंको सडकमा ट्याक्सी दौडाएको । ३ जना छोराछोरीलाई यसैले पढायो । मेरो घरखर्च धान्ने यही साधन हो सर !”
तीन सन्तान मध्ये उमेरले सबैभन्दा जेठी छोरी जापानमा रहिछन् । अरू दुई यहीं पढ्दै रहेछन् ।
अब मलाई संवादको दोस्रो कित्तामा प्रवेश गर्न मन लागिसकेको थियो ।
“मलाई लाग्छ, तपाईंले यो सब गर्न सक्नुको पछि तपाईं इमानदार भएर निरन्तर सत्कर्म गर्नु नै हो ।”
उनी मेरो कुरा ध्यान दिएर सुनिरहेका थिए । सम्भवतः मेरो दुई दशकको ट्याक्सी यात्रामा भेटिएका चालकहरू मध्ये उनी विशेष थिए ।
मैले यात्रालाई अझ रोचक बनाउन ‘इमान’ कित्ताको महत्वमा थप प्रकाश पार्ने उद्देश्यले भनें, “मैले तपाईं जस्ता अरू चालक साथीहरूलाई पनि यो भन्ने गरेको छु । तपाईंका छोराछोरीले भविष्यमा कुन बाटो लिन्छन् भन्ने कुरा तपाईंको कर्मले निर्धारण गर्छ ।”
मानौं, तपाईँ दिउँसो भरि पसिना बगाएर साँझमा घर पुग्नु भो । तपाईंका छोराछोरीले तपाईँलाई यसरी सोधे-
“बुवा ! आज तपाईंको दिन कस्तो रह्यो ? कस्ता कस्ता मान्छे भेट्नुभयो ? के कुराकानी भयो ? आज तपाईंको आम्दानी कति भयो ?”
यस्तो परिस्थिति आयो भने तपाईंले खुशी भएर सबैलाई वरिपरि राखेर आफूले अनुभव गरेका घटना प्रसङ्गलाई जस्ताको तस्तै आफ्ना परिवारजनलाई सुनाउनु हुन्छ । तपाईंको वृत्तान्त सुनेर परिवारजनलाई लाग्न सक्छ, “मेरा अभिभावकले मेरा लागि कति मिहिनेत र परिश्रम गरेका छन् । मैले यो गुन तिर्नुपर्छ । म पनि सत्कर्मको यो बाटो हिंड्नुपर्छ।”
सिक्काको अर्को पाटो उजागर गर्दै मैले भनें, “अब अर्कोतिर एउटा घुसखोर या बेइमान चरित्र भएको मान्छे घर पुग्यो र उसलाई पनि आफ्ना परिवारजनले यस्तै विषयलाई मूलधारमा राखेर प्रश्न सोधे भने के होला ? तपाईंले दिनुभएको उत्तर जस्तै त्यो व्यक्तिले आफ्नो दिनचर्याको बारेमा आफ्ना छोराछोरीलाई भन्ला कि नभन्ला ?”
ट्याक्सी रोकिएको मौका पारेर उनले मलाई पुलुक्क हेरे । त्यो हेराइमा इमानको उचाइ र बेइमानीको खाडललाई मापन गर्ने नापो थियो । उनी मौन बसे ।
मैले भनाइलाई निरन्तरता दिएँ ।
त्यो बेइमान चरित्र भएको व्यक्तिले भन्न सक्छ, “तिमीहरूलाई मेरो कामको के चासो ? चूप लागेर आफ्नो काम गर । अब आइन्दा यस्तो विषयमा कुरा गर्यौ भने तिमीहरूको बङ्गारा झार्छु ।”
आफूलाई जन्म दिने व्यक्तिको यस्तो चर्तिकला देखेर त्यो भ्रष्ट व्यक्तिका सन्तानले सोच्न सक्छन्, “आफ्नो सन्तानलाई आफ्नो कुरा भन्न नसक्ने मेरो अभिभावक पक्कै बेइमानीको बाटो हिंडेको हुनुपर्छ । धिक्कार छ मेरो भाग्यलाई ! यस्ता मति भ्रष्ट व्यक्तिको सन्तान हुनुभन्दा बरु जन्मिनु नपरेको भए हुन्थ्यो ।”
एकनासले मेरो अभिव्यक्ति सुनिरहेका चालकले फेरि मतिर हेर्दै भने, “एकदम सही भन्नुभयो सर !”
हाम्रो छलफलले गहिराइ पायो जब उनले मैले शुरू गरेको विषयमा आफ्ना अनुभवहरू थपेर यसलाई अझ रोचक बनाए ।
उनले भने, “एक पटक मेरो ट्याक्सीमा एक जना यात्रुले साढे चार लाख रकम भएको झोला बिर्सेर गएछ । मैले थाहा पाएलगत्तै ‘उनी जुन ठाउँमा मेरो ट्याक्सी चढेका थिए’ म त्यहीं गएँ । विडम्बना उनी त्यहाँ आएर मेरो सोधीखोजी गरेर गैसकेका रहेछन् । म त्यस ठाउँमा पुग्दा त अर्कै आश्चर्यले छोप्यो । ७-८ जना मैले चिनेका युवा ट्याक्सी चालकहरू मलाई ढुकेर बसेका रहेछन् ।”
उनका आँखा धपक्कै बलेका थिए । एउटा इमानदार र अर्को बेइमान व्यक्तिका बीचमा के भिन्नता हुन्छ भन्ने दृष्टान्तको चर्चा मैले धेरै चालकहरूसँग गरेको छु । तर, यी चालकको मुखारविन्दबाट यति गहन र ओजस्वी अनुभव सुन्न पाइएला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।
उनले अगाडि भने, “उनीहरूले अब भाग लगाउनु पर्छ भन्ने मनशाय व्यक्त गरे । मेरो मन मानेन सर ! मैले ट्याक्सीको झ्याल बन्द गरें । गाडी स्टार्ट अवस्थामा नै थियो । सास रोकेर एक्सलेटर दबाएँ । मलाई घेरा हालेका चालकहरूबाट उम्किएँ । त्यसपछि मैले ती यात्रुलाई जुन ठाउँमा छोडेको थिएँ, त्यही गएँ । उनी भेटिए । टाउकोमा हात लगाएर रोइरहेका रहेछन् । मैले केरकार गरें । उनले विवरण बताए । मैले उनलाई रकम दिएँ । उनले मलाई ५ हजार इनाम दिए ।”
“मलाई भेटेको साढे चार लाख भन्दा इनाम पाएको ५ हजार ठूलो पाएँ सर !”
मेरो मन द्रवीभूत भयो । श्रद्धाले शिर निहुरियो । अहिले सम्झिदा पनि मेरा आँखामा आँसु भरिएका छन् । मेरो हृदय भारी भएको छ । यो किन भैरहेको छ, म सहज कारण पत्ता लगाउन सक्दिनँ । मलाई मुट्ठी कसेर सोध्न मन लाग्यो, “कसले भन्छ- हाम्रा धर्तीपुत्रहरूको मन इमान र सत्यको घेरा भन्दा बाहिर छ ? कसले भन्छ- हाम्रो माटो अपवित्र भएको छ ।”
मलाई सारा संसारलाई सुनाउने गरी १०० किलोवाट क्षमताको माइकमा अझै उच्च स्वरमा भन्न मन लाग्यो, “कसले भन्छ-हाम्रो समाजका मूल्य र मान्यता डगमगाएका छन् ?”
मलाई उनको दृष्टान्तले आध्यात्मिक दर्शन र सिद्धान्तको कित्तामा पुर्यायो ।
“तपाईंले भेटेको साढे चार लाखमा राक्षसको बास थियो तर इनामको पाँच हजारमा ईश्वरको । तपाईंका लागि म एक अपरिचित मान्छे हुँ । ईश्वरीय शक्तिको बलमा नै तपाईंले मलाई यो कहानी भन्ने आँट गर्नुभयो । कथमकदाचित तपाईं साढे चार लाखको स्वामी भएको भए आज मलाई यति गर्वका साथ यो कहानी सुनाउन सक्नुहुने थिएन ।”
गजबको प्रतिक सिर्जना भएको थियो- ईश्वर र राक्षसको ।
लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्, “ऊ (अमर आत्मा) सत्यमा शान्ति पाउँछ, असत्यमा परमेश्वर र शान्तिबाट टाढा पुग्दछ । पापले उसलाई अन्तर्ज्वलन दिन्छ । उसका निमित्त पाप भनेको अन्त:करणमा सुनिने भित्री ईश्वरका आवाजको विरोध र सत्यको अवहेलना हो ।”
समकालीन नेपालका अध्येताहरू मध्ये भरत शर्मा एक हुन् । उनी राजा वीरेन्द्रलाई समेत आफूलाई मनमा लागेको कुरा सहज तरीकाले भन्न सक्थे । निजामती सेवामा संलग्न भए पनि चाकडी वा चाप्लुसी उनको कर्म-कित्ता बाहिरको विषय थियो ।
आफ्नो परिचय दिंदा गर्वका साथ भन्थे-म भरत शर्मा हुँ । पेशाले आर्किटेक्ट र शहरी योजनाकार तर शुद्ध आचरण राख्छु ।
राजा वीरेन्द्रको शाशनकालमा शर्माले धेरै रणनीतिक र ऐतिहासिक निर्णयहरू लिएका प्रसङ्गहरू छन् । एक पटक पशुपतिको पश्चिम ढोकामा ‘वीरेन्द्र सहारा’ शीर्षकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रस्ताव कुनै चाकडीबाजले निकालेछन् । विष्णुमणी आचार्य नाम गरेका अञ्चलधिशले राजा महेन्द्रलाई खुशी पार्न ‘महेन्द्र सहारा’ स्थापना गरेका रहेछन् ।
प्रस्तावकहरूले पशुपतिनाथ मन्दिरका पुजारीलाई पनि हाता लिएछन् । आखिर राजाकहाँ नै कुरो पुगेछ ।
शर्माले राजालाई भनेछन्- सरकार ! यस्तो संसार प्रसिद्ध ऐतिहासिक स्थानको सानो ठाउँमा अर्को मूर्ति राख्नु जायज हुँदैन । ‘महेन्द्र सहारा’ त्यहाँ राख्नु उपर्युक्त थिएन ।
राजा वीरेन्द्र शर्माको तर्कसँग सहमत भएछन् । अन्त्यमा त्यो प्रस्ताव तुहिएर गएछ ।
महाकवि देवकोटाले भनेको जस्तो शर्मा एक अथक साधक थिए र सत्यको वकालत गर्थे । अमेरिकाको हार्वाड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनीमा पेशागत आदर्श र आर्किटेक्ट विधाको मूल्य र मान्यताको मार्गमा हिंड्नुलाई आफ्नो धर्म मान्थे । यस्तो भागवत वृत्तिको मार्गमा हिंडेको मान्छेले लोक भाषामा भनिने ‘इन्द्रको बाउ चन्द्र’ आए पनि आफ्नो निष्ठा र धर्मलाई अलिकति पनि विचलन हुन दिंदैन ।
मेरो कोटेश्वर-सानेपाको लगभग ५ किलोमिटरको यात्रा निमेषभरमा नै सकिएको जस्तो भएको थियो । मेरो र ट्याक्सी चालकको बीचको वार्तालाप उत्कर्षमा पुगेको थियो । उनी भित्र विद्यमान भागवत वृत्ति आफ्ना सन्तानमा प्रसार भएको एक ज्वलन्त उदाहरण दिए ।
“सर, हजुरले अघि आफ्नो कर्मले सन्तानहरूको जीवन मार्ग निर्धारण हुने कुरा भन्नुभएको थियो । मैले ट्याक्सीमा भेटिएको साढे चार लाख फिर्ता गरेको कुरा मेरो घरमा भनेको थिएँ । एक दिन मेरो कान्छो छोराले पनि बाटामा हिंड्दा १५०० रुपैयाँ भेटेछ ।
मलाई मेरो छिमेको पसलेले यो कुरा सुनायो – तिम्रो कान्छो छोरोले भेटेको रकम मलाई ल्याएर दियो र भन्यो ‘यो कोही मान्छेले झारेको होला । यही बाटो हिंडेकोले तपाईंकहाँ खोज्दै आउन सक्छ’ । पसलेको कुराले म म खुशी भएँ ।”
म फेरि द्रविभूत भएको थिएँ । सम्भवतः यी चालक जस्ता इमान व्यक्तिका कथा हाम्रो समाजमा यत्रतत्र लुकेर रहेका होलान् । ती नमूना व्यक्तिहरू हाम्रो समाजका धरोहर हुन् । यिनलाई सतहमा ल्याउन जरूरी छ । आगामी पुस्ताले यस्ता दृष्टान्तबाट ठूलो शिक्षा लिन सक्छन् ।
मलाई थप कल्पनाशील हुने परिस्थिति थिएन । प्रतिष्ठानको प्राङ्गणसँग जोडिएको सडकमा ट्याक्सी रोकियो । उनले दिएको सेवाबापत मैले ४०० सय रुपियाँ दिएँ । तर मलाई लाग्यो- आजको यात्रामा भएको वार्ताको मूल्य भने अगणित थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










