
अहिले जस्तो लाग्छ मलाई १४ वर्षअघि कुरोको सम्झिँदा पनि, म सानो हुँदा पहाडमा कहिलेकाहीँ साँझमा स्याल कराउँथे । त्यस बेला घरका ठुला मान्छेहरूले भन्ने गर्थे, “ल स्याल रुन थाल्यो । अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो, अलच्छिन जगाएको हो ।”
हुन पनि डाँडामा साँझमा एउटा स्याल रुन अर्थात् कराउन थाल्यो भने अर्को डाँडाबाट अर्को स्याल रुन थाल्दथे र हुँदा हुँदै स्यालको झुण्ड नै रुन थाल्दथ्यो तर हत्तपत्त स्यालहरूलाई देख्न भने पाइँदैनथ्यो । मान्छेको छाया पर्नासाथ जङ्गल, झाडीतिर लुकिहाल्थे, देख्नलाई भने दुर्लभ नै हुन्थ्यो ।
हामी बोल्डर घरबाट हाम्रो रेस्टुरेन्ट तर्फ बिहानको ठीक १० : ३० मा गइरहेका थियौं । रेस्टुराँ पुग्ने छेउछाउमा बाक्लै बिल्डिङ, सपिङ सेन्टरहरू, बैङ्कहरू थिए । भनौँ झाडी, जङ्गल त्यहाँ छैन । हामी रेस्टुराँ के पुग्नै लागेका थियौं ठीक जेब्रा क्रसमा गाडी रोकेका थियौं । रातो बत्ती बलेर, ठिक्क हरियो बत्ती बल्यो । सबै गाडीहरू रोकिएर बाटो क्रस गर्ने क्रममा थिए ।
त्यहाँ एउटा राम्रो, बलियो स्यालले यताउति पल्याकपुलुक हेरेर सट्ट बाटो काटेर गयो । म त अचम्मित भएँ । मैले ठानें, कस्तो तालिम प्राप्त कुकुर रहेछ ? ठीक जेब्राक्रसबाट नै बाटो काट्न जान्ने फेरि गाडी आउँदैछ कि भनेर यता र उति पल्याकपुलुक हेर्ने, अनि हाम्रो गाडी आएको देखेर टक्क अडिने । अगिसम्म कुकुर भन्ठानेको लुखुर लुखुर हिँडिरहेको जनावर त स्याल पो रहेछ । भीड नभएको कारणले पनि अनुमान लगाउन सकियो । कुकुरभन्दा भिन्नै र खाईलाग्दो थियो । हाम्रा गाडीहरू क्रस भइरहेका थिए । उक्त स्याल भने अलिक सुनसानतिर दौडेर पस्यो । त्यो दृश्य देखेर म अचम्मित भएँ ।
मैले त्यति नै बेला उक्त स्यालको चलाखी र संवेदनशीलता देखेर प्वाक्क भनिहालें, “हेर कति चलाख कुकुर ? बाटो कहाँबाट काट्नुपर्ने ? कत्ति बेला रोकिनु पर्ने ? सबै थाहा भएको ।”
म यति भन्दै बडो घत मानेर हासें ।
यहाँ अमेरिकामा कुनै पनि पशुहरू लावारिस हुँदैनन् । कुकुरहरूलाई यहाँ बच्चालाई झैँ स्याहार सुसार गरेर सुरक्षाकासाथ पालेका हुन्छन् । कुनै पनि घर पालुवा पशुहरू कुकुर /बिरालो त्यसरी छाडा भएर आफ्नो मालिक बिना हिँड्दैनन् । कतै हराए भने पनि पुरै विज्ञापन गरेर खोज्छन् ।
जनावरहरूको पनि मौलिक अधिकार हुन्छ यदि उनीहरूलाई पालेर बेवास्ता गरेको पोल झोस् पर्यो भने त उक्त पाल्ने व्यक्तिलाई जेल, जरिबाना, सजाय हुन्छ ।
प्रायजसो थपक्क कारको अगाडि सिटमा मान्छे भन्दा भलाद्मी भएर आफ्नो मालिकसँगै यात्रा गरिरहेको पाइन्छ । कुकुरहरूले कसो कार चलाउन मात्र बाँकी छ ! त्यो पनि अब असम्भव नहोला कि ?
“हेर यो देशको भाग्य ? पशुहरू कति अनुशासित ? कस्तो दूरदर्शी ? पालेर सिकाएकाहरूले त सिक्लान् रे, गर्लान् रे, तर त्यो त जङ्गली जनावर हो नि !”
मलाई त दिनभरि त्यही सोचले रिँगाइरह्यो अनि मैले आफ्नो देशलाई सम्झन पुगें । हामी मान्छेको जन्म लिएर पनि खै त हाम्रो अनुशासन ? खै त हामीभित्र संवेदनशीलता ?
साँच्चै भन्ने हो भने हामी बाटो काट्नसम्म अझै अभ्यस्त छैनौ । भइहाले पनि नियम भङ्ग गरेर हिँडिदिन्छौ । बाटो मेरै पेवा हो भनेर यात्रुहरूले पनि, चालकहरूले पनि बाटो मेरै पेवा हो भनेर नियम उल्लङ्घन गर्छौं । हो यस्तै यस्तै परिबन्दमा हाम्रो देश जकडिएको छ । अब हेर्नुहोस् न यहाँ जङ्गल, झाडीमा लुकेर बाँच्ने पशुहरू त आजाद भएर स्वतन्त्रसँग दिन दहाडै शहरभित्र हिँड्छन् ।
यहाँ नै अलिक पर नर्थ बोल्डरमा दिनमा नै हरिण, मृग, जरायोहरू घरका आँगनमा चर्न आउँछन् । कति स्वतन्त्रता ? उनीहरूलाई कसैले छुन चलाउन पाउँदैनन् । यदि कसैको गिद्धे नजर परिहाल्यो भने र कसैले ती जनावरलाई केही दुष्कर्म गर्यो भने उक्त व्यक्तिको गयो सर्वस्व । तर हाम्रो देशमा भने आरक्षण दिएर राखेका सरकारी जनावरहरूमा नै चोरी छिपी आक्रमण हुन्छ । सुसारको अभावमा अल्पायुमा नै मृत्यु हुन्छ । हाम्रो देशमा मान्छेको नै मानव अधिकार नभएर पशु सरह बाँच्नु परेको छ भने अब पशुको त के नै कुरा रह्यो र ?
हो… त्यो एउटा स्यालको शहर भ्रमणले गर्दा म फेरि आफ्नै देशको स्थिति सोच्न बाध्य बनें । हुन त सबै कुरालाई मध्य नजर गरेर हेर्ने हो भने हाम्रो देशमा आफ्नै आँगनमा पाइला राखेर बाँच्न नै डर मर्दो छ । छाती फुकाएर हिँड्न नै असम्भव बनिसकेको छ । मान्छेको खोल ओढेर शहरी स्यालहरू छ्यापछ्याप्ती शहर बजार डुल्छन् त्यसैले त शहरबासी, गाउँबासीहरूले मानवरूपी स्यालहरूको अतिक्रमणबाट आजित भएर आफ्नो आँगन, गाउँ, शहर छाड्न नै बाध्य हुनुपरेको सत्यता छ । आफ्नो न्यानो ओछ्यान, तातो चुल्हो छाडेर विदेशको माटोमा भौँतारिनु परेको छ । त्यही नकाबधारी चण्डाल स्यालहरूको रजाइँले गर्दा । हाम्रा देशका मानवरूपी स्यालहरूमा कहाँ त्यस्तो अनुशासन र संवेदनशीलता ? बरु यहाँका जङ्गली जनावरहरू नै हामी भन्दा उच्च र आदरणीय लाग्यो मलाई ।
जब कि यो देशमा पशु पनि तालिम प्राप्त झैँ छ । हाम्रो देशमा त तालिम पाउन सामर्थ्यवान् पशु पनि “खिच्चा”को उपनामले चर्चित छ र हामी मान्छे पनि आफ्नो ओहदा, काम, कर्तव्यलाई बिर्सेर त्यही खिच्चा कुकुरको पर्याय बनेर एकार्कामा लुछाचुँडी गरिरहेछौँ ।
अब जङ्गलमा बस्ने स्यालको त कुरै छाडौं । मान्छेले नै आफ्नो ठाउँ छाडेर परदेशिन थाले भने जङ्गलको पशुले त कहाँ शहर पस्ने कुरा आवोस ? मान्छेले नै आफ्नो आँगन टेक्ने अधिकारबाट बहिष्कृत बन्नु परेको छ ।
समग्रमा मेरो गन्थन यही हो कि हामी आफ्नो नैसर्गिक अधिकारबाट किन वञ्चित छौं ?
हुन त, यहाँहरूलाई लाग्न सक्छ मैले अर्काको देशलाई मात्र सही आँखाले हेरेर अरूको क्रियाकलापलाई मात्र उँचाइमा पुर्याएको । वास्तवमा त्यसो होइन । जब कुनै पनि राम्रो कुरा हुन्छ, त्यो जहाँको होस्, जसको होस् सह्राना गर्नै पर्छ । नराम्रो कुरा छ भने आफ्नै देशको होस् वा कहीँको त्यसलाई प्रतिकार गर्नैपर्छ । राम्रो कुरा छ भने अरूको देशको पनि प्रशंसा गर्नै पर्छ । प्रशंसा गर्न लायक छ भने यो, त्यो, हाम्रो, उसको भन्ने हुँदैन । यदि प्रशंसनीय छैन भने आफ्नो वा पराई झुटो प्रशंसा गर्नु ठिक होइन ।
हो, हाम्रो देशको कला, संस्कृति सामाजिक मूल्य मान्यता राम्रो छ । हाम्रो देश प्राकृतिक सौन्दर्यताले परीपूर्ण छ । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हाम्रै देशमा अवस्थित छ ।
म पनि गर्वको साथ भन्ने गर्छु यहाँका अमेरिकनहरूलाई, “विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा भएको देश हाम्रो नेपाल हो ।”
उनीहरू प्रफुल्लित भएर भन्छन्, “वाउ ! यु आर लक्की ।”
त्यति बेला मेरो छाती गर्वले फुल्छ । हो यस्तो राम्रो कुराको वरदान त हाम्रो देशले पाएकै छ नि ! तर मान्छेले बनाएका नियम, कानुन, व्यवहारमा पो हामी पिछडिएका छौं त !
त्यसैले पनि लेख्न, भन्न मन लाग्छ कि, हामी अनुशासित बन्न सकेका छैनौँ । हामीले अझै समयलाई पर्खनै पर्छ वा अझै हाम्रोलागि साइत जुर्न बाँकी नै छ। त्यो त समयले नै बताउला । यसरी त्यो जङ्गली जनावर स्यालबाट पनि मलाई आफैमा केही सोच्ने प्रभाव पर्यो । धन्य छ पशु तिमीलाई जसले यो लेख लेख्न अभिप्रेरित गर्यौ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
