डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि उत्कृष्ट ११ काव्यकृतिहरूको सूचीमा प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’ पर्न सफल भएको छ ।

कवि प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह हो ‘अनुभूतिको इन्द्रेनी’ । अनुभूति र दर्शनको मौलिक संयोजन रहेको कविताकृति ज्ञवालीको पहिलो पुस्तक हो । कविताहरुमा शून्यवादी बौद्ध दर्शन, गीता दर्शन तथा जीवन दर्शन भरपूर मात्रामा पाइन्छ । कृतिमा आधुनिक संस्कृतिसहित धर्म, दर्शन र राष्ट्रभक्ति प्रखर रुपमा मुखरित भएका छन् ।

५९ थान कविताहरु सङ्ग्रहित कविताकृतिलाई शब्दार्थ प्रकाशन गृहले प्रकाशनमा ल्याएको हो ।

छानिएका डेब्यु काव्यकृतिहरूमा कमला महतको बाछिटासङ्ग्रह ‘अनन्त’, रेहित सैजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’, बुद्धिप्रसाद शर्मा रेग्मीको महाकाव्य ‘मेरी आमा’, मिलन समीरको शृङ्खला-कविता ‘प्रिय दुश्मन’, प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, सौरभ शर्माको कवितासङ्ग्रह ‘अनन्त प्रेम’, रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’, मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’, लक्ष्मी रेशमीको कवितासङ्ग्रह ‘ज्याकारान्डाको शहर’ र विष्णु आचार्य ‘अतृप्त’को कवितासङ्ग्रह ‘घर फर्किने तिर्खा’ रहेका छन् ।

यो सूची नयाँ लेखकहरूले २०७९ सालमा प्रकाशनमा ल्याएका ४२ काव्यसङ्ग्रहबाट छानिएको हो । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।