लेखेर के नलेखेर के
भनेर के नभनेर के
गुलाफको फूल
अर्थको भरमा किनेको कोसेली
ल्याउँला तिमीलाई भनी
दिउँला तिमीलाई अनि
मुसुक्क मुस्काएर
शुभकामना भनौँला पनि
मनले व्यक्त गरिने भावमा
नभनी बुझिने आँखाको गहिराइमा
तिमीलाई लाग्ने बाडुलीमा मेरो हिया
मलाई लाग्ने बाडुलीमा तिम्रो हिया
झस्किन्छ कि झस्किन्न भन्न
नानीमा म छु कि छैन खोज्न
के यी प्रेमका मानक
गुलाफ, कोसेली, चकलेट, टेडीको दरकार पर्ला !
हातमा थमाइएर
शो केसमा सजाइने मानक चिन्हले
हाम्रो अढाई शब्दको प्रेमको
महत्व दर्शाउला कि
प्रेमको परिभाषा जताउला कि !
अर्थहीन कोसेली
शब्दहीन भावमय अभिव्यक्ति
लजालु नयनका बोल
एकार्काको समीप हुँदा
अनायास बोल्न खोज्ने मन
मौनतामै मुखाकृति बुझ्ने चक्षु
के यी काफी छैनन् र
तिम्रो र मेरो
हाम्रो प्रेम बुझ्न !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला