डेब्यु आख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’का लागि उत्कृष्ट १२ आख्यान विधाका कृतिहरूको सूचीमा मनिषा आचार्यको उपन्यास ‘छोरी’ पर्न सफल भएकाे छ ।
युवा राजनीतिमा सक्रिय, अखिल क्रान्तिकार कोसी प्रदेशकी उपाध्यक्षसमेत रहेकी मनिषा आचार्यको पहिलो कृति हो उपन्यास ‘छोरी’ । उपन्यासले छोरी जन्माएकै कारण परिवार, समाज तथा आफ्नै श्रीमानबाट भोग्नु परेको तिरस्कार र यातनको कथा कहेको छ । उपन्यासको केन्द्रमा महिलामाथि भएका सामाजिक तथा पारिवारिक उत्पीडन, विभेद तथा महिलाको सङ्घर्षसँग जोडिएका संवेदना, सहानुभूति र कहालीलाग्दा अनुभूतिहरु रहेको छ ।
२ सय ८५ पृष्ठमा फैलिएको उपन्यासलाई लाइफ रिसर्च एण्ड पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
छानिएका अन्य डेब्यु आख्यान कृतिहरूमा नितिन मिश्रको उपन्यास ‘म र ‘म’’, विक्रमभक्त जोशी निकथा सङ्ग्रहको ‘चोभार ब्लुज’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’, विष्णु ढकालको उपन्यास ‘जौवा’, स्मारिका सुवेदीको कथासङ्ग्रह ‘देवांशी’, दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’, सुबोध पौडेलको उपन्यास ‘चुड्की’, अमृता पाठक चौलागाईंको ‘चैतु काका’, दोस्ती रेग्मीको ‘पारमित’ र कर्ण शाहीको ‘त्यागी जीवन’ रहेका छन् ।
यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ४४ आख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ प्रदान गरिने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।