
भदौ ११, कुशे औँसीको दिन कवि प्रीति आत्रेय ज्ञवालीको कविता संग्रह “अनुभूतिको इन्द्रेनी” सार्वजनिक गरियो । आफ्ना कीर्तिशेष पिता प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथीलाई समर्पण गर्दै प्रीतिले आफ्नो कविताकृतिमार्फत् बुवालाई सम्झिँदै यो कृतिलाई प्रकाशमा ल्याउनु भएको हो ।
शब्दार्थ प्रकाशनबाट प्रकाशित कृति “अनुभूतिको इन्द्रेनी” को, प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानको आयोजनामा, बागबजारको पद्मकन्या क्याम्पसको डेनिस हलमा सार्वजनिक गरिएको थियो ।
उक्त कृति विमोचन कार्यक्रमको प्रमुख आतिथ्य साहित्यकार प्रा.डा.दुर्गाप्रसाद अर्यालले गर्नुभएको थियो भने उपन्यासकार प्रा.पुरुषोत्तम दाहालले कार्यक्रमको सभापतित्व वहन गर्नुभएको थियो । त्यसैगरी कवि समीक्षक गीता सापकोटाले कृतिको विस्तृत समीक्षा गर्नुभएको थियो भने छन्द कवि साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवाली र समालोचक डा. यज्ञेश्वर निरौलाले समीक्षात्मक शुभ मन्तव्य राख्नुभएको कार्यक्रममा आयोजक संस्थाका संरक्षक एवं कृतिकारकी माता आर्या आत्रेयले सबैलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।
मञ्चमा अतिथिको रूपमा पूर्व स्वास्थ्य सचिव डा. सोमनाथ अर्ज्याल, पूर्व क्याम्पस प्रमुख प्रा.डा.कमला सुवेदी, उमा शर्मा न्यौपाने, अरुणा पोखरेल, पूर्व सचिव ई. प्रवीणराज अर्याल एवं साहित्यकार पार्वती शर्माको पनि उपस्थिति रहेको थियो ।
नेपाल वेद विद्याश्रमका पाँच वटुकहरूको स्वस्ति वाचनबाट शुरू भएको कार्यक्रममा आज्ञा आत्रेय न्यौपानेले आफ्नै पिताको संस्कृत महाकाव्य “हनूमदयनम्” बाट केही संस्कृत श्लोकहरू वाचन गरी मंगलाचरण गर्नुभएको थियो । प्रमुख अतिथि अर्यालबाट दीप प्रज्वलन एवं कार्यक्रमको निमन्त्रणा पढी कार्यक्रमको उद्घाटन गरिएको थियो जसमा सबै मञ्चासीन व्यक्तित्वहरूका हातबाट कृतिको लोकार्पण गरिएको थियो । कवि एवं साइनोकार केशव ज्ञवालीले कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा साइनोकार बालकुमार क्षेत्रीबाट शुभकामना कविताका साथै सार्वजनिक कृतिबाट कविता वाचन, प्राप्ति अर्यालबाट सार्वजनिक कृतिबाट कविता वाचन, आज्ञा आत्रेयबाट पिताको सम्मानमा आफ्नै कविता वाचन, टुक्का अभियन्ता ताराप्रसाद चापागाईँबाट पितासम्बन्धी टुक्का वाचन प्रस्तुत गरिएको थियो । कार्यक्रम आयोजकका तर्फबाट साहित्यकार पार्वती शर्माले शुभकामना मन्तव्यसहित धन्यवाद ज्ञापन गर्नुभएको थियो जसमा शेखर अर्यालले कार्यक्रमको संचालन गर्नुभएको थियो र अन्त्यमा मधुर लयका साथ शुभकामना प्रकट गर्दै तीज गीतका टुक्का पनि वाचन गर्नुभएको थियो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, रिएण्डा बिज सर्भिसका अध्यक्ष भरत रिजाल, रिएण्डा बिज सर्भिसका निर्देशक पुरुषोत्तम मैनाली, किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारी, विश्व स्वास्थ्य संघका राष्ट्र्यि पेशागत अधिकारी ई. सुदन पन्थी, सार्थक कंक्रिट प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक ई. आशिष सुवेदी, नेबिल बैंककी प्रमुख जोखिम अधिकारी नमिता दीक्षित सीए. अच्युत जोशी, डा. गोविन्द राज खनिया, गजलकार एम पी पाण्डे, केशव न्यौपाने, चारु अर्याल, अनिता पाण्डे, चिन्तामणि अधिकारी,कंचन दीक्षित, गरिमा पन्थी, रेखा पाण्डे आदि विभित्र संघसंस्थासँग आबद्धित एवं विविध व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा दर्शकदीर्घाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
साहित्यकार उपमा आचार्यको संयोजकत्वमा संचालित उक्त कार्यक्रमका विविध गतिविधिमा बालकुमार क्षेत्री, जानुका रिजाल, कृष्णप्रसाद ज्ञवाली, साकार न्यौपाने, समुज्ज्वल ज्ञवाली आदिको उल्लेख्य सहभागिता रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
