करुण कौशिक

म स्थुल उ सुक्ष्म ।
म दृश्य उ अदृश्य ।
म निर्दोष उ रोष।
म प्रतिरक्षा उ आक्रमण।
म एक उ अनेक।

यद्यपि
अनुभूति विहिन जीवन,
आवाज विहिन शब्द,
निर्जन शान्ति,
र भोको गुप्तवाससँग विदा माग्दै
युद्धमा जाँदैछु ।
थाहा छ, मर्दिन आजै,
बरु भोलि ?
आफ्नालाई समेत
सार्न सक्छु र मार्न सक्छु ।

आँसु झर्दैन अब
मुहान सुकिसकेको छ,
सहयोद्धाहरुका
संक्रमित शवहरुले घेरिएर बस्दा,
डर छैन अब
एक दिन
मृत्युु सबैको हुन्छ,
तर लाग्छ
अकाल विकराल हुन्छ ।

लड्न कुरुक्षेत्र नै पुग्नु पर्दैन।
आँखिझ्यालबाट युद्ध शुरु हुन्छ
चौखटका पाइलाबाट।
न महाभारत, न अक्षोहिणी,
फगत म र ऊ,
अनि रोजिन्छ,
कि जीवन कि मृत्यु ।

प्रधानाध्यापक : श्री राष्ट्रिय मा.वि. भरतपुर ५ चितवन ।