भाग्यमा के छ मेरो
त्यो कदापि भन्न सक्दिनँ म
बस् केवल यति भन्न चाहन्छु
म अझै बाँच्न चाहन्छु ।
रुघा खोकी ज्वरो हुँदै
कोरोना महामारीले घाइते तुल्याएपछि
मनमनै त्रस्त र भयभीत म
मानसिक छटपटी र अत्यासको आगामा जल्दै
भित्रभित्रै निसासिएको छु
श्वास लिन नसकेर
बिस्तारै शिथिल हुँदै छ मेरो शरीर
सम्झन्छु म अभावको अस्पताल, मृत्युको लस्कर
रित्तो अक्सिजनरूपी सिलिन्डर
अनि मनमनै महसुस गर्दै छु
हेर्दै मेरो मृत्यु पर्खिरहेको शववाहन
आफन्तको रुवाबासीले झन् कमजोर हुँदै छु म
उपचारको आशले अनेक अस्पतालका ढोका
चहार्दाचहार्दै थकित र गलित छु म
जीवन जिउने आशमा चिता चढ्दै छु म
धिक्कार्न मन छ, तिमी अनि तिम्रो उदासीनता र व्यवस्थापनलाई ।
तिमी राज्यको दोहन आफैँ गर
योजनाविहीन शिलान्यास र उद्घाटन आफैँ गर
बजेटको बाँडचुँड र वितरण गरिराख
रातारात संसद् विघटन गर
नयाँ-नयाँ अध्यादेश ल्याऊ
जनताको जीवन प्यारो छैन तिमीलाई
सत्ता र कुर्सी बचाऊ
निर्वाचनको नाटक रचाऊ
मतपेटिका तयार गर्दै गर
जसरी नि सत्ता बचाऊ
बेड, अक्सिजन, आइसियु र भेन्टिलेटरविहीन अस्पताल
एक मुठी प्राणको प्रतीक्षामा
जिजीविषा बोकेर छटपटिएका
रुग्ण मानवबाट त्रस्त छ ।
जीवन मरणको दोसाँधमा
अदृश्य नयाँ-नयाँ भेरियन्टका कोरोनासँग लड्दै
बाँच्ने आशमा छटपटिरहेको छु म
जसरी पानीबिना माछा छटपटिन्छ
बिन्ती छ मेरो ती सबै अभावपूर्ति गर
तर तिमी भन्छौ– “त्यो पर्दैन ।”
सम्झिन्छु तिमीले देखाएका विकासका सपना
स्मार्ट सिटी र समृद्घ नेपाल; सुखी नेपालीको सपना
अनि सम्झिन्छु तिमीले आज बनाएको
दरिद्र नेपाल; दुःखी नेपाली
किनकि तिमी जनमतको आवाज सुन्दैनौ
कारुणिक पुकार गन्दैनौ
भएको आइसियु, भेन्टिलेटरमा को छ कि छैन ?
ज्वरो आउँदा सिटामोल छ कि छैन ?
आज लगाएको मास्क भोलि फेर्न हातमा
दश रुपैँया छ कि छैन ? तिमीलाई थाहा छैन ।
यो कहालीलाग्दो प्रहरभित्र
बजारभित्रको कालोबजारी देख्दैनौ
लोकतन्त्रभित्रको लुटतन्त्र देख्दैनौ
बालुवाटार र बानेश्वरमा अनेक तमासा गर्नै ठिक्क छ तिमीलाई
त्यसैले त कत्ति पनि चासो दिँदैनौ
न राजनीति चिन्छौ न त लाजनीति नै
न कसैको दुःखको चीत्कार सुन्छौ न त सुन्ने प्रयास नै गर्छौ
न अपराधीलाई सजाय दिन्छौ न त पीडितलाई न्याय दिने सामर्थ्य नै राख्छौ
अहो ! यो कस्तो विडम्बना
न सरकार छ न न्याय
यी सबै कुरा सुधार भन्छु म
तर तिमी भन्छौ– “त्यो पर्दैन ।”
कोरोनासँगको लडाइँ त
आत्मबल, आमाबुबाको आशीर्वाद र प्रेमले लड्छु म
निकै मुस्किल घडीमा
जीवनको मायाँ मारेर मृत्युसँग खेलिरहेको छु म
मलाई बचाउन प्रयत्न नगरे पनि
बिन्ती छ, यो खेलबाट टाढा बस्न अरूलाई सम्झाउनू
अनि आफू स्वयं सम्झिनू
दिवङ्गतको सङ्ख्या र लास गनेर मात्र कर्तव्य पूरा हुँदैन
श्रद्घाञ्जलिका तस्बिरले मनोबल कमजोर नबनाऊ
जीवन र मरणको दोसाँधमा पुगेर पनि बाँच्न चाहने
मजस्ता लाखौँ छन् यहाँ
तिनका कथा सुनाऊ
एम्बुलेन्स चलाउने ड्राइभर दाइको कथा
अनि सेतो कोटमा सजिएका
जीवनको पर्वाह नगरी मृत्युसँग खेलिरहेका
अनि अपमान र तिरस्कार खप्न बानी परेका
अस्पतालका डाक्टर, नर्सको पीडा सुनिदेऊ ।
मृत्युसँग अन्तिमपटक जुधिरहँदा
जीवन औधी प्यारो लाग्दो रहेछ
परिवार, आफन्त, साथीभाइ सबको यादले सताउने रहेछ
त्यसैले त म बाँच्न चाहन्छु
तर तिमी भन्छौ– “त्यो पर्दैन ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।