शोभा पोखरेल

चाहाना का छालहरू सॅग हेलिएर ,
सागरसम्म पुग्ने आशाको नदिमा
बगिरहेछु म!सग्लो शरिर बोकेर टुक्रा टुक्रा बाँचेकी
तिम्रो सामु मात्र आफुलाई
सिङ्गो भेट्टाउँछु म!!

आवरण उभिन्छु त्यही मात्र देख्छौ
मेरो अघिल्तिर छौ या
तिम्रो अगाढी छु म!!!

आशा बोकेर तिमीलाई हेर्छु तर चुपचाप निहार्छौ
जस्तो देखाउँछु ऊस्तै बन्छौ
हाँस्दा हास्ने म रुँदा रुने
म भित्रको मलाई पनी यसै गरी देख्छौ ?

म दुखेको छु,
म टुटेको छु,
मर्माहित मुटू
चिरा परेको चित्त
ईर्ष्याले जलेको कलेजो
पराजयमा पोखिएको मन
बिषादले भरिएको फोक्सो
भोक पचाऊन नसकेर खुम्चिएका आन्द्रा
पीडा घुटुक्क निल्ने मेरो घाँटी
के यी सब यसै गरी देख्छौ ?

तिमी सॅग नजिक हुन्छु
अलिकती बुझ्छौ
अलिपर जान्छु
समपूर्ण देखे झै गर्छौ ,
देखाएर देख्छौ कि साँच्चै मलाई हेर्छौ ?

दबाएर दु:ख,
लुकाएका ऑशु
बटुलेर खुशी
तिम्रो सामु पोख्छु

थुङ्गा थुङ्गा ऊन्दै
जिन्दगीको माला
हाँस्दै अनि रुँदै
तिम्रो साथ बाँच्छु।

भुलेर यी सारा जीवनका ब्यथालाई
तिमी सामु आउँछु अनि मुस्कुराउछु
किनकी ऐनामा हसिलो मुहार नै सुन्दर देखिन्छ रे!
मलाई यो सारा संसार सुन्दर देख्नु छ।

गठ्ठाघर, भक्तपुर ।