ramesh

हिजो मेरो बाको जन्मदिन थियो
न अरू कसैले जन्मदिनको शुभकामना दियो
हेलिकोप्टर चढाएर ल्याएको नेपालको नक्सा भएको केक कहाँबाट काट्नु
बाले दिनभरी खेतमा पसिना बगाए
बेलुका घर आए गुन्द्रुक र ढिँढो खाएर निदाए ।

आई लभ यू बा भन्ने कोही छैनन् मेरा बाका
न त हरेक बोलीमा हाँस्ने र ताली बजाउनेहरू नै छन् बाका
जिउ ज्यान दिन तयार हुने बफादार कार्यकर्ताहरूको लाइन झन् कहाँ हुनु?
मेरी आमाले त आई लभ यू भन्न समेत जान्दिनन्
मैले भनेँ भने पनि बा अङ्ग्रेजी बुझ्दै बुझ्दैनन्

जीवनभर खटेर बाले न काठमाडौँमा घर ठड्याउन सके
न त बाले  बालुवाटारमा घडेरी नै जोड्न सके
लाउडा,वाइड बोडी, अनि लडाकु शिविरको भ्रष्टाचार त कसरी गर्नु?
बाले जोडेको खोलाको खेत र पाखो बारी न हो
परिवारको नाउँमा एक श्रीमती र तीन छोराछोरी न हो

भूकम्पको बेला जस्ता पाता पनि बेचेनन् मेरा बाले
कमिसन र सेटिङ्गमा राज्यको करोडौँ लुटेनन् मेरा बाले
महामारीमा समेत दलाल र बिचौलियाहरूसँग मिलेर भ्रष्टाचार गर्न कहाँ सक्नु?
सित्तैमा कसैले दिएको पानीसम्म पनि खाएनन्
भौके बसे तर इमानदारीता र स्वाभिमान गुमाएनन्

मेरा बा खुरापाती र भाषण गर्न जाँदैनन्
मेरा बा गुन्डा र कार्यकर्ता पाल्न सक्दैनन्
सत्ताका लागि सडकमा भिड जम्मा गरेर शक्ति देखाउने सामर्थ्य कहाँ हुनु?
खेतबारीमा काम गरेर पसिना पुछ्ने  समय छैन बालाई
रासायनिक मलका लागि लाइन बस्दा “हामी यहाँ छौँ “भन्ने फुर्सद छैन बालाई

सभासद् होइनन् मेरा बा करोडमा बिक्दैनन्
इमानदार गरीब किसान हुन् कसैले चिन्दैनन्
गरीब दुःखी मेरो बाको राजनीतिक दल छैन, पार्टी,समूह,  या गुट छैन
त्यसैले त चुनावका बेला हात जोडेर सन्चै बा भन्छन्
अरू बेला नदेखेजस्तो गरी आँखा तरेर हिँड्छन्

बहुदललाई सहयोग गरेको आरोपमा जेल पनि पसे मेरा बा
गुन्डागर्दी, हत्याहिंसा अनि भ्रष्टाचारबाट टाढै बसे मेरा बा
देश समृद्ध र सन्तानहरू स्वदेशमै सुखी खुसी भएको हेर्ने मन नभएको कहाँ हो र?
राणा ढले पञ्चायत ढले प्रजातन्त्र लोकतन्त्र गणतन्त्र आए
तिम्रा बाहरू मोटाए, फेरिए तर मेरा बा उस्तै रहे
मेरा बा उस्तै रहे ।

हाल दमौली तनहुँ