आकाश कालो झरी छ बाक्लो असार मासमा
अनेकौं कष्ट दीनले सहे बाढको त्रासमा
बनेर काल असार आयो नाचेर निर्झरी
खोला र नाला धमिलो मैलो बगेर रिससरी।।
अन्न र बाली सखाप पारी झुपडी बगायो
उज्यालो हटी अँध्यारो छायो गरिब रुवायो
निष्ठुरी भई जमिन सबै बगर बनायो
झुप्रोको नक्सा आँखामा लिई गरिब डुलायो।।
विलाप गर्छन् दीन र दुःखी विरह सहेर
छोडेर घर सडकमा आए रमिता हेरेर
सङ्कट छायो नयन भिज्यो भविष्य सम्झेर
त्रसित भई पैह्रोमा भागे गुहार गरेर।।
हर्षित हुँदै समुन्द्री सरी बढेकी निर्झरी
पहाड पाखा गुञ्जन भरी बगेकी सुन्दरी
चन्द्रमा हट्यो नभमा हेर नक्षत्र विलायो
गाँस र बास दीनको हेर सबै नै बगायो।।
विलाप सुन्दा भरिन्छ मन पीडा र व्यथाले
नमीठो घाउ दिएर गयो असार मासले
कसरी हाँस्नु कसरी बाँच्नु भनेर हिँडेका
असार मासमा झरीले गर्दा कहर बढेका ।।
पत्थरझोडा, डुवर्स।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला