युवराज घलेभाइ (गान्तोक)

यदि तिम्रो मुटु ठूलो छ भने
त्यसमा बगैंचा लगाउने रहर लाग्ला ।

फूलहरु रंग-बिरंगी रोपेर
एउटा पोखरी खनाउने
छेवैमा एउटा हावाघर बनाउने
इच्छा तिमीसित जाग्ला ।।

देख्दा फूल फूलेर
सुवास रुमलिरहेका भंवरा
गुनगुन गरिरहेका
पोखरीमा माछा खेलिरहेका
पंछीहरु रुखमा चरिरहेका
मनमा कति आनन्द आउँँला
पाउला परिपूर्णता आभासहरु ।।
तिम्रै बगैंचामा साँच्चै रमाइलो छ भने
तिम्रा छिमेकीहरुमा
ईष्या,पराई आँखाहरुमा डाह
तिमीले सहन गर्नुपर्छ ।
खराब मौसमको मारसित जुझ्नु
लामो छेकाबार लगाउने खर्च पनि
तिमीले वहन गर्नुपर्छ ।
तिमीले बगैंचामा कुनैै छेकाबार नलगाए
जीव-जन्तु पसेर चरिदेला
भत्तुवा कुकुर पसेर फोहोर गरिदेला
ढुङ्गा हानेर बदमास ठिटाहरुले
फलफूल रुखबाट झारिदेला
पोखरीको माछा मारिदेला
छेकाबार त तिमीले लगाउनै पर्छ ।।
यदि तिमीले लगायौ भने छेकाबार
तिम्रो बगैंचाको वरिपरि
मान्छेहरु मान्ला तिमीलाई
एकलकाँटे घमण्डी ।
भन्नेहरूले मुख खुम्चाएर भन्ला
एउटा कपटी मान्छे तिमी
तिम्रो मुटु छैन ।।
गान्तोक  (सिक्किम).